+
+

बेनी-दरबाङ सडक १० दिनपछि खुल्यो

रासस रासस
२०८१ साउन ७ गते ६:३५
Photo Credit : RSS

७ साउन, गलेश्वर (म्याग्दी) । अवरुद्ध बेनी-दरवाङ सडक दश दिनपछि खुलेको छ ।

बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, ‘सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छौं, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी-दरवाङ सडक खुलेको छ ।’

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताए ।

सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।

यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ । सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिए ।

सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?