+
+

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर लामाले आज दाबी पेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ७:२३

७ साउन, हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेश गर्दै छन् ।

हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।

नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

पेसाले निर्माण व्यवसायी उनी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।

लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर  जनप्रतिनिधिको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् ।

१३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो ।

दलको नेता छान्न भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।

लामाले प्रदेश सभाको पहिलो दल कांग्रेसका ३७ र दोस्रो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

बागमतीमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्दैछ । संघीयता लागू भएसँगै बागमतीमा चार जना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन ।

प्रदेशको पहिलो कार्यकालमा तत्कालीन नेकपाबाट डोरमणि पौडेल, नेकपा विभाजनको संघारमा अष्टलक्ष्मी शाक्य र एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए ।

तत्कालीन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको भागबण्डामा पाण्डेले मुख्यमन्त्री पाएपछि प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको थियो । त्यतिबेला कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको दाबेदार थिए ।

प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका माओवादी केन्द्रका जम्कट्टेल १८ महिने सरकार चलाएर आइतबार बाहिरिए ।

प्रदेश प्रमुख शर्माले जम्कट्टेललाई अर्काे सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् ।

प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।

सात दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?