+
+

बागमतीमा मन्त्रालय भागबन्डा नमिल्दा मुख्यमन्त्री दाबी पेश रोकियो

कांग्रेसले भन्यो : आज दाबी पेश गर्ने कि भोलि साइत हेर्दैछौं

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ११:२५
कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा (दायाँ) र एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया ।

७ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी ढिलाइ हुने भएको छ । कांग्रेस संसदीय दल नेता बहादुर सिंह लामाले आज १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी भए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

नेपाली कांग्रेसका नेताहरुले आजै मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बताए पनि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका दल नेता जगन्नाथ थपलिया आकस्मिक रुपमा काठमाडौं हिँडेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रक्रिया रोकिएको छ ।

थपलियाले आफूलाई पार्टीका नेताहरुले आकस्मिक रूपमा बोलाएकाले काठमाडौं जानुपर्ने जानकारी गराएपछि दाबी पेश रोकिएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए । `भ्याए आजै बेलुकासम्म नभ्याए भोलि बिहान दाबी पेश गर्ने कुरा भएको छ,´ लामाले अनलाइनखबरसँग भने, ‘आज गर्ने कि भोलि गर्ने भन्ने साइत हेर्दैछौं ।’

नेता लामाले मन्त्रालय भागबण्डामा समस्या नरहेको दाबीसमेत गरे । `त्यसमा धेरै समस्या छैन । समझदारी भइसक्यो,´ उनले भने ।

एमाले स्रोतले भने मन्त्रालय भागबण्डा नमिलेका बताउँछ । एमालेले मागेका ७ वटा मन्त्रालय दिन कांग्रेस तयार नभएको स्रोतको भनाइ छ । कांग्रेसले ६ वटा मन्त्रालय दिन प्रस्ताव गरेको एमालेका एक सांसदले बताए ।

`कांग्रेसले मुख्यमन्त्री, भौतिक मन्त्रीसहित ठूला मन्त्रालय पनि लिने भएपछि एमालेलाई ७ वटा मन्त्रालय दिन भनिएको हो । मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्छ,´ ती सांसदले भने ।

कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल पनि २ ठूला मन्त्रालयमा सहमति जुटन नसकेको बताए । कुन मन्‍त्रालयबारे सहमति नजुटेको भन्ने खुलाएका छैनन् । उनले दुवै दलका नेता बसेर २ मन्त्रालय टुंग्याउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?