+

छिमेकी भारतबाट लाभ लिन नसकेको नेपाली क्रिकेट

२०८१ साउन  ७ गते १९:४३ २०८१ साउन ७ गते १९:४३
छिमेकी भारतबाट लाभ लिन नसकेको नेपाली क्रिकेट

७ साउन, काठमाडौं। गत पुसमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र केही क्रिकेट खेलाडीलाई भेटेका थिए ।

उक्त भेटवार्तामा उनले क्रिकेटमा नेपालको तत्कालीन र दीर्घकालीन मागबारे जिज्ञासा राखेका थिए। त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुरले भारत पुगेर आधिकारिक रुपमै आफ्नो मागहरु राखेका थिए । सन् २०१८ मा नेपाल भ्रमणमा आउदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेटले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताएका थिए ।

‘अब नेपाल पनि आईपीएलमा जोडिएको छ । नेपालका एक नौजवान खेलाडी सन्दीप लामिछाने आईपीएललमा भाग लिइरहेका छन् । म आशा गर्छु आउने समयमा हाम्रो जनताबीचको सम्बन्ध मजबुत हुनेछ’, मोदीले भनेका थिए । राजनीतिक तहबाट देखाइने बेलामौकामा चासो देखाइए पनि नेपाललले क्रिकेटको विश्वशक्ति भारतबाट धेरै लाभ लिन सकेको छैन ।

भारत विश्व क्रिकेटको एक शक्तिशाली हो । विश्व क्रिकेटमा आफ्नो दबदबा राख्दै आएको छ । काठमाडौंबाट भारतको राजधानी दिल्ली ११९०.५ किलोमिटर मात्रै टाढा छ ।हवाइ यात्रामा डेढ घण्टामा पुग्न सकिन्छ । तर भारतीय क्रिकेटबाट नेपालले लिनुपर्ने लाभको दूरी अन्तर हजारौं माइल टाढा छ ।

नेपालका अधिकांश खेलाडीहरु भारतमा पुगेर अभ्यास गर्ने गर्छन् । नेपाली क्रिकेट टोलीका सदस्य सोमपाल कामी र करण केसीको बाल्यकाल भारतमै क्रिकेट खेलेर बितेको हो । ओडीआई टिमका खेलाडी देव खनाल र यु-१९ टिमका अर्जुन कुमाल पनि भारतमै मै हुर्किएका हुन् ।

गुलशन झा भारतमा लामो समय प्रशिक्षण गरेर नेपाल फर्किएका थिए । अघिल्लो वर्ष भारतमा अभ्यास गरेर फर्केपछि अनिल शाहले राम्रो पूनरागमन गरे । नेपालको समयमा खेल नहुँदा र सिनियर टोलीबाट बाहिर हुँदा अधिकांश खेलाडी भारतका विभिन्न शहरका एकेडेमीमा पुगेर अभ्यास गर्ने गर्छन् ।

नेपालको २०२७ सम्म एसोसिएटमा शीर्ष स्थानमा रहने लक्ष्य छ । त्यसको लागि नेपालले वर्तमान नम्बर वान नेदरल्यान्ड्स र स्कटल्यान्डलाई पछि पार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा रहुनुको कारण इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबाट भरपूर्ण फाइदा उठाउनु हो ।

अमेरिकाले विश्वभरका खेलाडी बटुल्दा यूएई र ओमानले भारत र पाकिस्तानबाट टोली निर्माण गर्छ । एसोसिएटमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबियाले छिमेकी टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिका भरपूर्ण फाइदा उठाउँदै आफूलाई मजबुत बनाउदै लगेका छन् ।

नेपाल पनि बलियो टोली बन्न छिमेकी टोलीहरुको भरपुर फाइदा उठाउनुपर्छ । भौगोलिक दुरी, क्रिकेट संस्कृति, खर्च र भाषा सबै हिसाबले भारतबाट नेपालले लाभ लिनुपर्ने हो ।

नेपालले भारतमा नियमित प्रशिक्षण, बलिया टोलीसँग निरन्तर अभ्यास, स्तरीय क्रिकेट मैदानमा खेल प्रदर्शन, फिटनेस ट्रेनिङ, विश्वस्तरीय प्रशिक्षकहरुसँग अभ्यास र चोटपछिको उपचार गर्नसक्छ । तर नेपालले जति लाभ लिनुपर्ने हो त्यो लिन सकेको छैन । कहिले काही प्रशिक्षण र अभ्यास खेलमा सीमित छ ।

अघिल्लो हप्ता मात्रै क्यानका सचिव पारस खड्का भारत भ्रमणबाट फर्केका थिए । भारतले नेपाललाई मौखिक रुपमा सहयोग गर्छु भने पनि आधिकारिक अघि बढ्न सकेको छैन ।

‘हामीलाई चाहिने एक्स्पोजर बीसीसीआईको मार्फत दिन्छौं भनेर उहाँहरुले मौखिक रुपमा भनी सक्नुभएको छ । अब कागजी रुपमा सम्झौता गरेर कार्यान्वयन गर्न बाँकी हो । आशा गरौं आगामी दुई महिनामा देखिने गरी भ्रमण र अभ्यास देखाउनुपर्नेछ । आधिकारिक रुपमा सम्झौता भएपछि हामी बाहिर सार्वजनिक गर्छौं’, उनले भने ।

भारतीय स्तरीय खेलाडीसँग सिक्न पाउदा खेलाडीको क्षमतासँगै मनोबल उच्च हुन्छ । भारतमा ८२ अन्तर्राष्ट्रिय क्रिकेट मैदान छन् । त्रिवि मैदानजस्ता खेलमैदान त कति छन् कति । ती मैदानमा अभ्यासको लागि प्रशिक्षकदेखि प्रशिक्षण सामग्री उच्चस्तरका छन् ।

आईपीएलएको फ्रेन्चाइज टोली लखनउको घरेलु मैदान एककाना काठमाडौंबाट ६३८ किलोमिटर टाढा मात्रै छ । अर्कोतर्फ नेपालले भारतको प्रदेशस्तरका टोलीहरुसँग नियमित अभ्यास खेल खेल्न सक्छ ।

नेपाल गत अप्रिलमा बरोडा र गुजरात क्रिकेट बोर्डको समन्वयमा साई मेघापन स्पोर्ट्सलाइफ ग्राउण्डमा त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । उक्त ग्राउण्ड नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको लगानी भएको एकेडेमी थियो ।

भारतको ए, बी वा सी डिभिजनका टोलीसँग नियमित अभ्यास गर्दा पनि नेपालले एसोसिएटमा भन्दा बढी बलिया टोली पाउन सक्छ । आईपीएल फ्रेन्चाइजले अफगानिस्तानका खेलाडीहरुलाई महत्वमा राख्दै आएका छन् ।

गत वर्ष एसिया कपमा नेपाल भारतसँग २३० रनमा अल आउट हुँदै राम्रो ब्याटिङ गरेको थियो । भारतको बलिङ सामु गरेको प्रदर्शनले प्रशंसा पाएको थियो ।

नेपालले भारतसँग पूर्वाधार (मैदान) एक्स्पोजर, नियमित अभ्यास, घाइते खेलाडीलाई भारतको नेशनल क्रिकेट एकेडेमीमा उपचार र प्रशिक्षण, नेपाल ए र यू–१९ टोलीलाई अभ्यास लगायत माग गरेको छ ।

भारतको घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्ने टिम, त्यहाँका प्रदेशस्तरका प्रतियोगिता र आईपीएल टोलीसँग खेल्ने अवसर पाउन सके राम्रो हुने क्यानका सचिव पारस खड्का बताउँछन् ।

‘हामीलाई अहिले चाहिने एक्स्पोजर भनेको फरक कन्डिसनमा राम्रो टोलीसँग खेल्ने हो । चाहे त्यो भारत, अष्ट्रेलिया वा पाकिस्तान होस् श्रीलंका होस् । भारत नजिक हुँदा चाँडो होस् भन्ने सपना छ’, उनले भने ।

इंग्ल्यान्डको काउन्ट्री जस्तो रणजीमा विदेशी खेलाडी हुँदैनन् । त्यहाँ भारतका ३८ टोलीहरुले प्रतिस्पर्धा गर्ने गर्छन् । कतिपय समर्थकले रणजी ट्रफीमा नेपालले भाग लिने वातावरण बनाउनुपर्ने पनि धारणा राखेका छन् । तर क्यानका सचिव पारस भने रणजी ट्रफी भारतको घरेलु प्रतियोगिता भएकाले नेपाल सहभागी हुन नमिल्ने बरु रणजी ट्रफी खेल्ने टिमलाई नेपालमै बोलाउन सकिने बताउँछन् ।

‘त्यो खालको ट्रफी हामीले आयोजना गर्न सक्छौं । हामीले नै विदेशी टोलीलाई बोलाउने खालको वातावरण किन नबनाउने भन्ने हो । भारतको १२०÷१५० वर्ष इतिहासबाट आएको क्रिकेटिङ संरचना बलियो हुनु स्वभाविक हो’, उनले भने ।

नेपालको क्रिकेट संरचना बलियो बनाउने र विदेशी टोलीलाई बोलाउने सोचका साथ अघि बढ्नुपर्ने उनले बताए । ‘अहिलेको अवस्थामा नेपालको टोलीलाई एक्सपोजर दिन काउन्ट्री (इंग्ल्यान्ड), अष्ट्रेलिया, शीर्ष एसोसिएट टोली, टेस्ट टोली, ए टोलीसँग कसरी हुन्छ त्यसमा बढी पहल गर्नुपर्छ’, उनले भने ।

नेपालका पूर्वकप्तान लेखबहादुर क्षेत्री भारतीय क्रिकेटबाट लाभ लिन कुटनीतिक पहल गर्नुपर्ने बताउँछन् । ‘हाम्रो स्पोर्ट्स डिप्लोमेसी चुकेको छ । एउटा राष्ट्रिय संघले जसले विश्वको क्रिकेट हल्लाउँछ त्योसँग एक्लै समन्वय गरोस् भन्ने गलत बुझाइ छ । राखेप र खेलकुद मन्त्रालय पनि चुकेका छन् । हाम्रो पराष्ट्र मन्त्रालयबाट हामी जानुपर्ने हो । तर परराष्ट्रले खेलकुदबाट दुई देशलाई कसरी हेर्ने त्यो गर्दैन’, क्षेत्रीले भने ।

भारतमा क्रिकेटका लागि विश्वस्तरको सम्पूर्ण सुविधा छ । ‘नेपाली खेलाडीले विदेशमा गएर फ्रेन्चाइज खेलेका छन् । तर टी–२० क्रिकेट होइन । जबसम्म डे क्रिकेटमा जान सक्दैनौं, तबसम्म हामी हाम्रो लक्ष्यमा पुग्न सक्दैनौं’, उनले भने ।

खेलाडी नेपाल क्रिकेट संघ
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय