+
+

पूर्वराज्यमन्त्री हत्या प्रकरण : प्रहरीको शंकाको घेरामा राति आएका ३ व्यक्ति

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन ७ गते १९:००

७ साउन, काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ मा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रहरीले ३ जनालाई शंकाको घेरामा राखेको छ ।

आइतबार राति जग्गासम्बन्धी विवादको विषय लिएर रायको घरमा आएका तीन व्यक्ति नै हत्यामा संलग्न हुन सक्ने प्रहरीको निष्कर्ष छ ।

आइतबार राति रायको घरमा पुगेका व्यक्ति उनको हत्यापछि फरार रहेकाले उनीहरुको संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक अधिकारीले बताए ।

प्रहरीले रायको हत्याको खबर आइतबार राति साढे १२ बजे पाएको थियो । खबर पाएलगत्तै प्रहरी चौकी मोहनपुर र इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंह र मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल पनि घटनास्थल पुगेका थिए । हत्यामा धारिलो हतियार प्रयोग गरेको खुलेपछि राति नै तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको थियो । कुकुरले केही संकेत गरेको र घटनास्थल नजिकै हतियार समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठ बताउँछन् ।

चन्द्रपुरस्थित इन्द्र ठाकुरको घरमा आमाको मृत्यु संस्कारमा सहभागी भएर राय राति ८ बजे आफ्नो घर आइपुगेका थिए । त्यसको करिब १ घण्टापछि राति साढे ९ बजेतिर तीन जना उनको घरमा आएको प्रहरीले बताएको छ ।

उनको घरमा पूर्वराज्यमन्त्री रायसँगै उनका सहयोगी २१ वर्षका रामउजैन राय बस्थे । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा राति घरमा तीन जना व्यक्ति आएको बताएको मधेश प्रदेशका डीआईजी पोखरेलले बताए ।

‘राति साढे ९ बजेतिर रायको घरमा तीन जना व्यक्ति आएको भन्नेसम्म पत्ता लागेको छ । सोही राति उनको हत्या हुनु र ती व्यक्तिहरु फरार हुनुले उनीहरुप्रति आशंका बढाएको छ’, पोखरेलले अनलाइनखबरसँग भने ।

राति घरमा आएकाहरुले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै रायलाई सोधेका थिए । त्यसै कुरालाई आधार मानेर प्रहरीले ती व्यक्ति पहिचान गर्नतिर लागेको छ ।

‘तीन जना व्यक्ति रायको घरमा आएको भन्नेसम्म खुलेको छ । तर ती को हुन् भन्ने खुलिसकेको छैन । जग्गाको विवादको विषय बताएकाले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेका छौं’, घटनाबारे अनुसन्धान गरिरहेका एक अधिकृत भन्छन् ।

घरमा राति तीन जना आएपछि पूर्वराज्यमन्त्री रायले आफूलाई छतमा सुत्न पठाएको रामउजैनले प्रहरीलाई बताएका छन् । त्यसअघि तीन जनालाई आफूले पानी दिएको रामउजैनले प्रहरी समक्ष वयानमा भनेका छन् ।

राति करिब सवा १२ बजे पिसाब गर्न उठ्दाखेरी ढोका खुल्लै रहेको देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा रायलाई देखेको उनले बताएका छन् । त्यसपछि आफ्ना बाबुलाई घटनाबारे फोन गरेर जानकारी गराएको रामउजैनले बताएको एक प्रहरी अधिकारीले बताए ।

घटनाबारे जानकारी पाएपछि राति करिब १ बजेतिर नै प्रहरी घटनास्थल पुगेको थियो । एक तले पक्की घरको कोठाभित्रको ओच्छ्यानमा उनी मृत अवस्थामा भेटिएका थिए ।

रायको घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा फर्सा भनिने बञ्चरो आकारको हतियार भेटिएको सर्लाहीका प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।

पूर्वमन्त्री रायको टाउकाको बायाँतर्फको भागमा ठूलो चोट रहेको छ भने निधारमा पनि चोट छ । जग्गा विवादको कुरा गरेकाले ती व्यक्तिहरु पूर्वपरिचित नै हुन सक्ने प्रहरीको भनाइ छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेका छन् । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवमा राखिएको छ ।

खेती लगाउन आएका बेला हत्या

राय सर्लाहीको सदरमुकाम मलंगवा बस्दै आएका थिए । रायको चन्द्रपुर गाउँपालिकाको रतनपुरमा खेती छ । सँगै एक तले पक्की घर पनि रायले बनाएका छन् ।

उक्त घरमा उनी एक हप्ताअघि मात्रै आएका थिए । एक हप्ता अघि उनी रोपाईं गर्नका लागि आएका थिए । सोही बेला आइतबार राति उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार राय यसअघि पनि खेती लगाउने र उठाउने बेलामा चन्द्रपुर आएर बस्ने गरेका थिए ।

सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग

राप्रपाले पूर्वराज्यमन्त्री राय हत्याको सत्यतथ्य जाँचबुझ गर्न माग गरेको छ । सोमबार राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी भनेका छन्, ‘हत्याजस्तो दुखद घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानकर्षण गराउँदछ ।’

राप्रपाले संस्थापक सदस्य र तराई मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?