+
+

बागमतीमा कांग्रेस-एमालेबीच मन्त्रालय भागबन्डा टुंगियो

मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको नियुक्ति आजै

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री सहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेछ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाले आज दाबी पेश गर्ने र प्रदेश प्रमुखले आजै नियुक्त गर्ने तयारी छ ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ साउन ८ गते ७:०१
कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा (दायाँ) र एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया ।

८ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ।

सोमबार मन्त्रालय भागबन्डा नमिल्दा र एमाले भित्र मन्त्री छनोटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो ।

आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।

अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

मंगलबार ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिए । उनका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । काठमाडौंमा रहेका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहानै हेटौंडा फर्किएर दाबी पेश गरिने बताए ।

कुन मन्त्रालय कसलाई ?

हेटौंडास्थित एक होटलमा आइतबार बेलुका कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटका लागि बैठक बसेको थियो । उनीहरुबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय  ककसले लिने भन्नेमा सहमति जुटेको थिएन ।

कांग्रेसले एमालेलाई खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेको थियो । एमालेले भने कृषि मन्त्रालय मागेको थियो । पछि एमालेले मागेअनुसार नै कृषि मन्त्रालय पाएको छ भने कांग्रेसले खेलकुद मन्त्रालय लिएको छ ।

२ जेठ ०८० मा शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको थियो । त्यसबेला खेलकुद मन्त्रालय नेकपा एकीकृत समाजवादीकी रमा आले मगरले र कृषि मन्त्रालय डा. राजेन्द्रमान श्रेष्ठले सम्हालेका थिए ।

कांग्रेस नेता लामाले एमालेलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिएर भागबन्डा टुंग्याइएको अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँहरुलाई कृषि मन्त्रालय नै दिएका छौं । मन्त्रालय भागबण्डामा सहमति भइसक्यो । समस्या छैन, सबै कुरा मिलिसक्यो,’ लामाले भने ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री सहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ ।

कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ र एमालेले जम्कट्टेल नेतृत्वको सरकारमा लिएको ५ वटा मन्त्रालयको भागबण्डा पहिल्यै टुंगिएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । ‘५–५ वटा मन्त्रालयको कुरा पहिल्यै मिलिसकेको थियो । एकीकृत समाजवादीले लिएको दुई वटा मन्त्रालयमा मात्रै कुरा मिलेको थिएन,’ उनले भने ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।

लम्सालकै अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

एमालेमा मन्त्री छनोटको समस्या

एमालेमा मन्त्री छनौटलाई लिएर समस्या भएको सांसदहरुले बताएका छन् । मन्त्री छनौटको प्रक्रियामै सांसदहरु बीच मतभेद भएको थियो ।

दलका नेता थपलियाले आइतबार बेलुका पार्टी केन्द्रीय नेतृत्वसँग काठमाडौंमा मन्त्री छनौट र मन्त्रालय भागबण्डा लगायतको विषयमा छलफल गरेका थिए । एमालेमा पूरा कार्यकाल अवधि सरकारमा नरहेकाले पुरानै मन्त्रीहरुलाई पठाउनु पर्ने र नयाँ तथा पुराना मिलाएर सरकारमा पठाउनुपर्ने विषयमा आन्तरिक छलफल भइरहेको पूर्वमन्त्री केशव पोख्रेलले बताए ।

एमालेका केही सांसदहरुले सरकारमा पठाउँदा नयाँ अनुहारका लागि प्राथमिकता दिनुपर्ने आवाज पनि पठाएका छन् ।

२५ पुस २०७९ यता दुई पटक भएको सरकार गठनमा महिला सांसदलाई मन्त्री नबनाएको भन्दै एमालेमा असन्तुष्टि छ । यस पटकको मन्त्रिपरिषद्मा महिला मन्त्री अनिवार्य हुनुपर्ने विषय पनि उठेको छ ।

पोख्रेलले पार्टी नेतृत्वबाटै मन्त्रीहरुको नामावली आउने भएकाले सरकार गठनलगायतका प्रक्रियामा कुनै समस्या नहुने बताए । आज मंगलबारभित्र दुवै दलले मन्त्रीहरुको नाम टुंग्याएर बुधवार मुख्यमन्त्रीसहित १३ जना मन्त्रीहरुको एकैपटक सपथ गराउने तयारीमा दलका नेता लामा र थपलिया जुटेको उनले जानकारी दिए ।

 

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?