+

आत्तिने बानी मनोरोगमा परिणत हुनसक्छ ? (भिडियो)

२०८१ साउन  ८ गते ११:०९ २०८१ साउन ८ गते ११:०९
आत्तिने बानी मनोरोगमा परिणत हुनसक्छ ? (भिडियो)

अत्यास लाग्नु भनेको आत्तिनु तथा हतार गर्नु हो । मान्छेअनुसार किन आत्तिएको हो भन्ने कुरा फरक पर्छ । कतिपय मान्छेको हतार गर्ने बानी नै हुन्छ । कसैलाई सानैदेखि हरेक काम छिटो गर्नुपर्ने, एउटा काम गरिरहेको छ भने त्यो काम कतिखेर सकिन्छ र अर्को गरौं जस्तो हुने, कुरा गर्दा पनि आफ्नो पालो कुर्न गाह्रो हुने, लामो समय कतै प्रतीक्षा गर्नुपर्‍यो भने पनि छटपटी हुने हुन्छ । यसलाई आत्तिने बानी भनिन्छ ।

यो आत्तिने बानी रोग होइन । यदि पहिलेदेखि स्वभाव नै आत्तिने छ भने व्यवहार परिवर्तन, मनोपरामर्शबाट सुधार गर्न सकिन्छ ।

कुनै पनि व्यक्ति आत्तिन्छ भने उसलाई केही कुराले गाह्रो पारिरहेको हुनसक्छ । मानौं, सोचको समस्या । भ्रमको समस्या भएको व्यक्तिलाई कानमा तिम्रो बारेमा अरूले नराम्रो सोचेका छन्, षडयन्त्र रचेका छन् लगायत आवाज आइरहेको जस्तो हुन्छ । यस्तोमा उक्त व्यक्ति कति बेला आफ्नो कुरा काटेको मान्छेबाट टाढा जाऊँ भनेर छटपटाउने गर्छ ।

उत्तेजनाको समस्या र मेनियाको समस्याका बिरामीमा धेरै नै जोस जाँगर हुन्छ । जसले गर्दा उसले कम समयमा धेरै काम सकाउन खोज्छ । जसले गर्दा एउटा काम गरिरहेको व्यक्ति त्यो काम कति बेला सकिएला भनेर आत्तिन्छ । डरको समस्या भएको व्यक्तिलाई मैले यो काम सकाउन सकिन भने मलाई केही नराम्रो हुन्छ कि भन्ने डर मनमा हुन्छ । त्यो डर मात्र हो भनेर व्यक्तिलाई थाहा हुँदाहुँदै पनि आफूलाई नियन्त्रण गर्न नसकेपछि अझै बढी डराउने, आत्तिने र छटपटाउने गरेको देखिन्छ ।

त्यस्तै उदासीपनको समस्या भएको मान्छे, मनोबल कमजोर भएको मान्छेले आफूले कुनै काम राम्ररी गर्न सकेको खण्डमा वा गर्न नसकेको खण्डमा मलाई केही नराम्रो हुने हो कि भन्ने पीर र चिन्ताले सताउँछ र चाहिने भन्दा बढी आत्तिएको हतार गरेको देखिन्छ ।

हाम्रो समाजमा देखिने अर्को समस्या ‘अबसेसिभ कम्पेल्सिभ डिसअर्डर’ हो । यसमा दिमागमा कुनै गलत सोच आइरहेको छ भन्ने आफूलाई थाहा हुँदाहुँदै पनि त्यसलाई नियन्त्रण गर्न पनि सकिंदैन । नियन्त्रण गर्न खोज्दा मुटु ढुकढुक हुन्छ, सास फेर्न गाह्रो हुने,  छटपटी हुने र के नमिलेको के नपुगेको जस्तो हुन्छ ।

कुनै काम गरिसकेपछि बेकार गरेछु भनेर हीनताबोध हुने र त्यो काम गर्न नपाउँदा भने आत्तिने समस्या देखा पर्छ । आत्तिने समस्या प्राय: सबैजसो मनोरोगमा लक्षणको रुपमा देखा पर्छ । विना कारण आत्तिने समस्या छ भने त्यो डरको रोग एन्जाइटी हो । तर जुनसुकै समस्यामा पनि भित्री रुपमा गाह्रो भएको कारण बाहिर आफ्नो समस्यालाई राम्रोसँग प्रस्तुत गर्न नसकेपछि आत्तिएको देखिन्छ ।

डराउनु पर्दैन भनेर दिमागलाई थाहा हुँदाहुँदै पनि विना कारण डराउने र आत्तिने समस्या हुन्छ भने त्यो एन्जाइटी डिसअर्डर हो । कुनै पनि मनोरोगमा आत्तिने समस्या देखिन सक्छ । उत्तेजनाको समस्या भएको मान्छेलाई दिमाग र शरीर बढी उत्तेजित भएर आत्तिने समस्या हुन्छ । डिप्रेसनको समस्या भएको व्यक्तिको मनोबल एकदमै कमजोर हुन्छ, जसले गर्दा केही काम गर्दा गल्ती भयो कि भनेर सानो कुरामा आत्तिने हुन्छ ।

आत्तिने बानी नै पनि पछि रोगमा परिणत हुनसक्छ

कसैलाई आत्तिने बानी नै हुनसक्छ, तर आत्तिने होस् वा नआत्तिने सबैलाई तनाव त हुन्छ नै । आत्तिने बानी छ भन्दैमा उसले सबै काम हतारमा गर्छ भन्ने जरुरी छैन ।

जस्तै, परिवारमा चार जना सदस्य छन् । त्यसमा तीन जना चाहिं आत्तिंदैनन् र एक जनाको भने आत्तिने हतार गर्ने स्वभाव छ । परिवारमा केही समस्या परेको छ भने तीन जनाले जति सहज रुपमा समस्याको समाधान गर्छन् । एक जना आत्तिने मान्छेलाई भने त्यसको समाधान खोज्न एकदमै गाह्रो हुन्छ ।

आत्तिने बानी भएको मान्छेलाई तनावका कारण अरूको तुलनामा मनोरोगको समस्या देखिने सम्भावना बढी हुन्छ । आत्तिने समस्या भएको मान्छेलाई डरको समस्या र चिन्ताको रोग देखिने सम्भावना बढी हुन्छ ।

हतारिने समस्या कसलाई बढी

१० वर्ष भन्दा मुनिका बच्चामा आत्तिने, हतारिने समस्या खासै देखा पर्दैन । १० वर्ष भन्दा माथिका बच्चामा भने बढी आत्तिने, हतारिने समस्या देखिन सक्छ ।

पढाइ र कामको चाप, घरमा आफ्नो कुरा सुनिदिने कोही छैन भने यस्ता बच्चामा हतारिने, आत्तिने, छटपटाउने समस्या हुन्छ ।

पहिलेको पुस्ताको तुलनामा अहिलेका बच्चाहरू मोबाइलमा धेरै नै आकर्षित भएको देखिन्छ । मोबाइलमा टिकटक, रिल बढी हेर्छन्, जुन धेरै छोटो समयको हुन्छ, त्यो छोटो समयमा पनि धेरै कुरा समावेश भएको हुन्छ । जसले गर्दा बच्चामा कम समयमा धेरै कुरा हेर्ने बानी परेको हुन्छ । रिल हेर्दा ५ देखि १० सेकेन्डमा स्क्रोल गरिहाल्छन्, जसले गर्दा उनीहरूलाई तीन मिनेटको भिडियो हेर्न पनि गाह्रो हुन्छ । तीन मिनेटको रिल हेर्ने मान्छेलाई ३० मिनेटको भिडियो हेर्न गाह्रो हुन्छ ।

पहिलेको तुलनामा छिटो छिटो कुराहरू परिवर्तन हुने भएकाले एउटा कुरा राम्ररी नबुझ्दै तुरुन्त अर्को कुरामा आकर्षित हुँदा कुनै कुरामा फोकस हुन नसक्ने, ध्यान दिन नसक्ने, ध्यान बाँडिने कारणले गर्दा बच्चाहरूको उमेर ध्यान दिन सक्ने क्षमता कमजोर भएर बढी आत्तिएको, हतार गरेको देखिन्छ ।

उपचार र बच्ने उपाय

आत्तिने बानी छ भन्दैमा सबैमा मनोरोग देखा पर्छ भन्ने हुँदैन । आत्तिने बानी छ भन्दैमा आजको भोलि मान्छेको स्वभाव र व्यक्तित्वलाई परिवर्तन गर्न पनि सकिंदैन । व्यक्तित्वलाई परिवर्तन गरिहाल्छु भनेर लाग्दा झन् अर्को समस्या निम्तिन सक्छ । जबसम्म आत्तिने समस्याको कारण काम, सम्बन्ध र दैनिकीमा केही असर गरेको छैन तबसम्म रोग हो कि भनेर आत्तिनु पर्दैन । तर जब यो बानीको कारणले झर्को लाग्ने, रिस उठ्ने, सम्बन्धमा असर गर्ने, स्मरण शक्तिमा समस्या देखा पर्ने र निद्रा बिग्रिन थाल्यो भने मलाई कतै मनोरोग पो लाग्यो भनेर सचेत हुनुपर्छ र अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

चिकित्सकलाई भेटी हाल्न सम्भव छैन भने उनीहरूले दैनिक शारीरिक  र मानसिक व्यायाम, ध्यान गर्न सक्छन् । नआत्तिएको बेला शरीर र दिमागले कस्तो महसुस गरेको छ र आत्तिएको बेला कस्तो महसुस हुन्छ र कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको चिन्तन गरेमा आत्तिने बानी रोगमा परिणत हुने सम्भावना कम हुन्छ ।

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

आत्तिने बानी डा. आशिष ढकाल मानसिक समस्या
डा. आशिष ढकाल
लेखक
डा. आशिष ढकाल
मानसिक रोग विशेषज्ञ

डा. ढकाल हाल काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छन् । मानसिक रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १६९२५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?