+

बाँझोपन : १० भ्रम र सत्य

२०८१ साउन  ८ गते १२:१४ २०८१ साउन ८ गते १२:१४
बाँझोपन : १० भ्रम र सत्य

धेरैजसो दम्पती निःसन्तानपनको समस्याबाट गुज्रिरहेका छन् । वर्षौंसम्म प्रयास गर्दा पनि सफल नभएका दम्पतीमा निःसन्तानपन एक रहस्य बनेर बसेको हुनसक्छ । किनकि यो समस्यामा खुलेर छलफल नै हुँदैन ।

कतिपय दम्पती यी समस्यालाई लिएर चिकित्सककहाँ जानुको साटो अरूले फैलाएको भ्रममा विश्वास गर्छन् । फलस्वरुप, यसको समाधान सम्भव हुँदाहुँदै पनि तुरुन्तै पहिचान र उपचार हुन पाउँदैन ।

बाँझोपनसम्बन्धी केही यस्ता भ्रम छन् । जसलाई चिर्नु आवश्यक छ ।

भ्रम : अस्थायी गर्भनिरोधक चक्कीले बाँझोपन हुनसक्छ ।

– अस्थायी गर्भनिरोधक चक्कीले बाँझोपन गराउँछ भन्नु गलत हो । गर्भनिरोधक चक्कीमाथि भएका धेरै अध्ययनले अस्थायी गर्भनिरोधक चक्कीले प्रजनन् क्षमतामा कुनै स्थायी असर नगर्ने देखाएको छ । बरु, अस्थायी रूपमा महिनावारीमा भने केही समय गडबड हुनसक्छ । जसकारण केही अवधि लागि गर्भधारणमा ढिलाइ हुनसक्छ ।

भ्रम : दैनिक यौनसम्पर्क गरेर मात्र बच्चा गर्भमा बस्छ ।

– सन्तानको योजना बनाउँदै गरेका दम्पतीले गर्भधारण गर्न साताको दुईदेखि चार दिनमा यौन सम्बन्ध राख्नु उपयुक्त हुन्छ । किनकि नियमित यौन सम्पर्क गर्दा वीर्य स्खलन कम हुन्छ । पर्याप्त मात्रामा पुरुषको वीर्य उत्पादन गर्न यौन सम्पर्कमा दुईदेखि चार दिनको अन्तरमा हुनुपर्छ ।

त्यस्तै, विशेषगरी महिलाको डिम्ब महिनावारी भएको १० देखि १८ दिनको बीचमा मात्र निस्कन्छ । जुन १२ देखि २४ घण्टा मात्र सक्रिय हुन्छ । यो अवधिमा दम्पतीबीच यौन सम्बन्ध भएमा सन्तान जन्मिने सम्भावना उच्च हुन्छ ।

भ्रम : बाँझोपन हुनुमा मुख्य दोष महिलाको हो ।

– यो महिलाको मात्र समस्या हुन सक्दैन । बाँझोपनका एक तिहाइ केसहरू पुरुष प्रजनन् समस्याका कारण हुन्छन् भने एक तिहाइ महिला प्रजनन् समस्याका कारण हुन्छन् । एक तिहाइ केसहरू दुवै पक्ष वा अज्ञात कारकको कारणले हुन्छन् ।

भ्रम : निःसन्तानपन केन्द्रले गर्भधारण नभएको समस्या लिएर जाने बित्तिकै आईभीएफ गराउँछन् ।

– बाँझोपनसँग संघर्ष गरिरहेका दम्पतीका लागि ‘इन भिट्रो फर्टिलाइजेसन’ विरलै पहिलो विकल्प हो । त्यहाँ धेरै अन्य उपचारहरू हुन्छन्, जुन सुलभ र प्रभावकारी हुन्छन् ।

सन्तान भइरहेको छैन भने पहिला कारण पत्ता लगाउन लक्षण र परीक्षण गरिन्छ । परीक्षण सकारात्मक आए प्राकृतिक रूपमा पनि प्रयास गर्न सुझाव दिइन्छ । सबै विकल्प अपनाएर पनि नभएपछि आईभीएफ जस्ता उपचार रोजिन्छ । जुन शारीरिक अवस्था हेरेर तय गरिन्छ ।

भ्रम : यौन सम्बन्ध राख्ने क्रममा चरम यौन आनन्दले शुक्राणु बढी आउने हुँदा बच्चा बस्ने सम्भावना बढाउँछ ।

– यो त अत्यधिक फैलिएको मनगणन्ते भ्रम हो । यस्तो कुरा विज्ञानले प्रमाणित गरेको छैन । वीर्य चरम उत्कर्षमा पुग्दा र नपुग्दा पनि यौन कार्य गर्दा उत्तिकै मात्रामा निस्कन सक्छ । र, गर्भ रहन शुक्रकीट र अण्डाबीचको तालमेल मिल्नैपर्छ ।

भ्रम : लामो समयसम्म स्खलन नहुँदा धेरै शुक्रकीट जम्मा हुन्छ ।

– यो एक भ्रम मात्र हो । जो पुरुषहरू शारीरिक रूपमा कडा काम गर्छन् वा जसले मधुमेह, उच्च रक्तचाप र मानसिक औषधि बढी सेवन गर्छन्, उनीहरूको शुक्राणुको संख्या कम हुनसक्छ । उच्च रक्तचापले  पनि शुक्राणुको आकारमा नकारात्मक असर पार्न सक्छ ।

भ्रम : यौन सम्बन्ध राख्दा धेरै यौन आसन विधि अपनाएमा छिटो गर्भवती भइन्छ ।

– गर्भधारणका लागि विभिन्न यौन आसन अपनाउँदा छिटो गर्भधारण गर्न सकिन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । गर्भ रहनलाई महिलाको अण्डा निस्किएको समयमा सम्बन्ध कायम भई शुक्रकीटको मिलन हुनुपर्छ । जहाँसम्म यौन आसनको कुरा छ, स्वस्थ शुक्रकीट र अण्डा छ भने जुनसुकै आसन अपनाउँदा पनि गर्भ रहने सम्भावना हुन्छ ।

भ्रम : र्‍याल सबैभन्दा प्रजननअनुकूल तत्व हो ।

– गर्भधारणका लागि र्‍यालको प्रयोग प्रजनन्–अनुकूल छ भन्ने कुरामा कुनै सत्यता छैन । यसको प्रयोगले थप शुक्राणुका लागि घातक साबित हुनसक्छ । र्‍याल मात्र होइन, तेल र रसायनयुक्त चिल्लो पदार्थ प्रजनन् अनुकूल हुँदैनन् । योनीबाट प्राकृतिक रस आउँछ । यो नै प्रजनन् अनुकूल हुनसक्छ ।

त्यसै, कुनै पनि बाह्य चिल्लोपना दिने तत्व प्रयोग गर्न आवश्यक छैन ।

भ्रम : वीर्य स्खलन हुन्छ भने त्यो पुरुषमा निःसन्तानपनको समस्या भएको मानिदैन ।

वास्तविकता के हो भने पुरुषमा हुने बाँझोपन त्यति सहज छैन । किनकि अधिकांश पुरुषमा बाँझोपनको लक्षण नै देखिंदैन । वीर्य स्खलन भएपनि त्यसको आकार, गुणस्तर, चाल र मात्रामा कमी आउँदा यसले निःसन्तानपनको जोखिम बढाउन सक्छ ।

नि:सन्तानपन बाँझोपन
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय