+
+

बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:२९

८ साउन, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

नुवाकोटका लामा बागमतीको पाँचौं मुख्यमन्त्री हुन् । उनको भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ । कांग्रेसका मन्त्रीहरूको नाम बुधवार बिहानसम्म टुंग्याइ सक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।

लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ ।

बागमतीको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य र नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे तथा दोस्रो कार्यकालमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । जम्कट्टेलले ६ साउनमा प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समिकरणअनुसार सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?