+
+

काठमाडौं उपत्यकामा हैजा देखियो

हैजाको संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते २०:४६

८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

‘हिजो (सोमबार) कल्चर गर्दा हैजा पुष्टि भयो । सम्भवतः उहाँमा खानेकुरा र पानीबाट नै हैजा सरेको आंशका गरिएको छ,’ डा. बसौलाले अनलाइनखबरसँग भने, ‘अहिले उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’

डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

तर सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरिएको उनले जानकारी दिए । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

‘उहाँलाई आईसीयूमा राखेर उपचार गरेका थियौं । मिर्गौला काम नगरेको देखिएकाले थप उपचारका लागि आज पाटन अस्पतालमा रेफर गरेका छौं,’ डा. बसौलाले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा संक्रमण पुष्टि भएसँगै पुनर्स्थापना केन्द्रमा प्रारम्भिक अनुसन्धान गरेको छ । स्वास्थ्य कार्यालय ललितपुर र गोदावरी नगरपालिकासँगको समवन्यमा अनुगमन टोली खटिएको छ । ‘केन्द्रमा चार जनामा झाडापखालाको समस्या देखियो । हालसम्म एक जनामा हैजा संक्रमण पुष्टि भएको छ,’ ईडीसीडीका एक उच्च कर्मचारीले भने, ‘ हैजाको स्रोत पत्ता लगाउन पानी संकलन गरेका छौं । केही दिनमा रिपोर्ट आउला ।’

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणको कारणले हुन्छ । जुन संक्रमित मानिसको दिसामा हुन्छ । त्यो जिवाणु हाम्रा खानेकुरा (पानी, तरकारी)को माध्यमले आन्द्रामा पुग्ने गर्छ । त्यो बाहेक अन्य किसिमबाट हैजाको संक्रमण भने हुँदैन । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार १० मध्ये एक संक्रमितमा हैजाले कडा रुप लिन्छ । तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ ।

संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिन सक्छ । चौलानी (चामलको माड जस्तो) पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु र मांसपेशी (विशेषगरी खुट्टा) बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

हैजाको मुख्य लक्षण पातलो दिसा आउनु हो । हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ । उनीहरूको दिसा अधिक पातलो हुन्छ ।

त्यस्ता मानिसको शरीरबाट चौलानीजस्तो तरल पदार्थ निरन्तर बगिरहन्छ । सँगसँगै बान्ता हुन्छ र ज्वरो पनि आउँछ । शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले तौल नै घट्न जान्छ ।

शरीरमा पानी र नुनको मात्रा कम हुने हुँदा बिरामीहरूमा अधिक थकान र बेचैनी बढ्छ । जसका कारण मिर्गौलामा समस्या र रक्तचाप बढ्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार नभए पानीको मात्रा कम भएर वा मिर्गौलाले काम नगरेर बिरामीको मृत्यु पनि हुन सक्छ । तर हैजाको संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?