+
+

कृष्णमानलाई सांसदहरुले भने– तपाईंमा उच्च नैतिक चरित्र देखिएन

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ साउन ९ गते १६:१९

९ साउन, काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको बुधबार संसदीय सुनुवाइ समितिमा सुनुवाइ सकिएको छ । उनले सुरुमा आफ्नो कार्ययोजना प्रस्तुत गरे, त्यसपछि सांसदहरुसँग प्रश्नोत्तर भएको थियो । प्रश्नोत्तरका क्रममा सांसदहरुले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानलाई आफूविरुद्ध लागेको आरोपको कसरी बचाउ गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् । ‘गम्भीर प्रश्न समाजमा छन् । तीन चार वटा उजुरी एउटै खालको छ । तपाईंलाई (प्रस्तावित पदमा) अयोग्य ठानेमा कसरी आफ्नो बचाउ गर्नुहुन्छ ?’

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले ‘एनजीओमा जागिरको लोभ देखाएर शारीरिक हिंसा गरेको’ उजुरी प्रधानविरुद्ध परेको बताइन् । यस्तो उजुरी विगतमा आफूले नसुनेको उल्लेख गर्दै उनले शारीरिक हिंसाबारे जिज्ञासा राखेकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले पनि प्रधानलाई आफूविरुद्ध लागेको उजुरीबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।

प्रधानको यसअघि असार २१ गते नै सुनुवाइ हुने तय भएर पनि रोकिएको थियो । यौन शोषण गरेको जस्तो आरोप लागेको भन्दै समितिले २० गते उजुरीकर्ताको कुरा सुनेर बैठक स्थगित गरेको थियो ।

असार २१ गते तय भएर रोकिएको सुनुवाइ बुधबार भएको हो ।

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । त्यसपछि प्रधानलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै चार वटा उजुरी परेका थिए । एक जना महिला आफैंले योन शोषणमा परेको उजुरी दिएकी थिइन् । ती महिलासँग सुनुवाइ समितिले असार २० गते उजुरीको आधार र कारणबारे छलफल गरेको थियो ।

उजुरीकर्ताले दिएको उजुरी र दिएका आधारमा सांसदहरुले प्रश्न गरिरहेका छन् ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानको योग्यता र अनुभवमा प्रश्न नरहेको बताए । ‘तर, तपाईंविरुद्धको उजुरी जटिल र गम्भीर छ । तपाईंमाथिको आरोप हेर्दा तपाईंलाई आभास होला’ भनेका थिए ।

एमालेकी सांसद ईश्वरी घर्तीले ‘सन् २०१७ देखि २०२३ सम्म एकजना महिलासँग सम्बन्ध भएको, त्यो सम्बन्ध राम्रोबाट सुरु भएर लेनदेनमा पुगेर टुंगिएको देखिएको’ उल्लेख गर्दै वास्तविकता माग गरेकी छन् ।

संविधानको धारा २४५ को ६ को ‘घ’ मा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ । यसैलाई आधार बनाएर प्रधानमाथि सांसदहरुले प्रश्न गरिरहेका छन् । सांसदहरुले प्रधानलाई आफ्नो उच्च नैतिक चरित्र पुष्टी गर्न भनेका छन् ।

अदालतमा मिलापत्र

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आरोप लागेको विषयमा अदालतमै मिलापत्र गरेको देखिएको बताए । यसले उच्च नैतिक चरित्रको विषयलाई आकर्षित गर्ने बताए ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले पनि अदालतमा मिलापत्र भएको देखिनुले उच्च नैतिक चरित्रको विषय आउने बताए । ‘जाहेरीमा पनि अदालतमा मिलापत्र भएको देखिन्छ । यसो हो भने संविधानको धारा २४५ अनुसार निर्वाचन आयुक्तका लागि उच्च नैतिक चरित्रको मापदण्ड के हो ?’ परियारले प्रश्न गरे ।

संविधानको धारा २४५ मा निर्वाचन आयोगसम्बन्धी व्यवस्था छ । उपधारा ६ मा आयोगको आयुक्तको योग्यता सम्बन्धी व्यवस्था छ । जहाँ मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, पैंतालिस वर्ष उमेर पूरा भएको लगायतको व्यवस्था छ ।

उपधारा ६ को ‘घ’ मा ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने व्यवस्था छ । यौन शोषणको आरोप लागेको र यो विषयमा अदालतमा समेत मिलापत्र भएको प्रमाणका आधारमा सांसदहरुले प्रधानलाई आफू ‘उच्च नैतिक चरित्र भएको’ पुष्टि गर्न आग्रह गरेका छन् ।

रास्वपाका सांसद डोलप्रसाद अर्यालले २५ लाख र ५०/५० लाखका चेक नै प्रमाणको रुपमा आएको बताए । चेकमा उल्लिखित रकमको स्रोत के हो ? भन्ने अर्यालको प्रश्न छ ।

माओवादीका सांसद जगप्रसाद शर्माले ‘यौन शोषणको आरोप लागेको’ उल्लेख गर्दै गल्ति गरेको महसुस भएको छ कि छैन भनेर सोधेका छन् ।

कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले पनि यौन शोषणको आरोपकै विषयमा प्रष्टता माग गरेका छन् ।

सांसदहरुले प्रश्न सोध्ने र प्रधानले उत्तर दिने क्रम सकिएको छ । आजको बैठक सकिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी गराएका छन् । अर्को बैठकले प्रधानको नाम अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्ने छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?