+
+
प्रशासन :

कर्मचारी समायोजनमा अदालतको फैसला : खटाएकै ठाउँमा काम गर्नुपर्छ  

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १८:४५

९ साउन, काठमाडौं । सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा समायोजन भएका संघीय निजामती कर्मचारीलाई संघमा फर्काउन नपर्ने फैसला गरेको छ । संघको कृषि सेवा समूहबाट बाग्मती प्रदेशमा समायोजन भएका रुद्रप्रसाद पौडेल र गण्डमीमा समायोजित यादव पद्धयोतीले दिएको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोज भइसकेका कर्मचरीलाई संघमा समायोजन गर्न नपर्ने फैसला सुनाएको हो ।

उनीहरुले आफूहरुले संघ रोजेर समायोजन फराम भरेपनि प्रदेशमा समायोजन गरेर संवैधानिक तथा कानूनी हकाधिकारमा आघात पुर्‍याएको भन्दै रिट दायर गरेका थिए । १ चैत २०८० मा सर्वोच्चका न्यायधीशहरु मनोजकुमार शर्मा र सुलिकुमार पोखरेलको इजलासले उनीहरुको मागदाबी नपुग्ने ठहर गर्दै रिट निवेदन नै खारेज गरेको छ ।

इजलासले संविधान बमोजिम संघीय निजामती सेवाबाट प्रदेश निजामती र स्थानीय सेवामा समायोजन भएका कर्मचारीले सोही ठाउँमा काम गर्नुपर्ने गरी फैसला सुनाएको हो । फैसलाको सार्वजनिक भएको पूर्णपाठमा  नेपालको संविधान बमोजिम मुलुक तीन तहको संघीयतामा पुनर्संचना भएको अवस्थामा संघीय संरचना अनुरूप प्रशासनिक निकायको समेत पुनर्संरचना गर्नु राज्यको अपरिहार्य विषय भएको उल्लेख छ ।

त्यसैले कर्मचारी समायोजन प्रक्रिया राज्य पुनर्संरचनाको अभिन्न अंगको रूपमा रहेको भन्दै  राष्ट्र सेवक कर्मचारीले व्यक्तिगत चाहनाभन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । ‘सरकारले खटाएको स्थानमा काम गर्नु राष्ट्र सेवक कर्मचारीको मूलभूत कर्तव्य हो । संविधान र कानूनको पालना गर्नु सम्पूर्ण नागरिकको कर्तब्य हो,’ फैसलामा भनिएको छ,‘ त्यसमा पनि राष्ट्रसेवक कर्मचारीले थप प्रभावकारी रूपमा संवैधानिक र कानूनी व्यवस्थाको पालना गर्नु पर्नेहुन्छ । संविधान, कानून र राज्यले अवलम्बन गरेका नीतिहरूको पालना गर्नु राष्ट्र सेवक कर्मचारीको पेशागत दायित्व र आचरण समेतको विषय भएकाले कुनै पनि वहानामा कानूनी व्यवस्थाको पालनाबाट विमुख हुन मिल्ने हुँदैन ।’

समायोजनको कारण आफ्नो वृति विकासको मार्ग साँघुरिएको भनेर रिटमा गरिएको जिकिरलाई पनि अदालतले अस्वीकार गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ दफा १५ को उपदफा (४) मा ऐन बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारीलाई सङ्घीय निजामती सेवा सम्बन्धी कानूनमा व्यवस्था भए बमोजिम सङ्घीय निजामती सेवाको पदमा अन्तरसेवा प्रतिष्पर्धा मार्फत बढुवाको अवसर प्रदान गरिनेछ भन्ने व्यवस्था छ ।

यो व्यवस्थाले सङ्घीय निजामती सेवाको पदमा अन्तरसेवा प्रतिस्पर्धामार्फत् बढुवाको अवसर समेत प्रदान गरेको देखिएकाले निवेदकको वृत्ति विकासमा अवरोध गरेको मान्न नमिल्ने फैसलामा उल्लेख छ । ‘वृत्तिविकासमा अवरोध भएको भन्ने दावीसँग सहमत हुन सकिने देखिएन,’ फैसला भनिएको छ ।

विगतमा प्रवीण खनालसमेत विरुद्ध लोकसेवा आयोगसमेत भएको उत्प्रेषणको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट निवेदकहरुलाई प्रदेशमा समायोजन गरेबाट संवैधानिक तथा कानूनी हकाधिकारमा आघात पुग्न गएको भनी भन्न नसकिने आदालतको ठहर छ ।  ‘निवेदकहरुलाई प्रदेशमा समायोजन गर्ने गरी भएको निर्णय र सो सम्बन्धी अन्य काम कारवाहीलाई उत्प्रेषणको आदेश जारी गरी बदर गर्न र निजहरुलाई संघमा नै समायोजन गर्ने गरी परमादेश लगायतका आदेश जारी गर्न मनासिब देखिएन भनी आदेश भएको छ,’ फैसलामा भनिएको छ ।

संविधानको धारा ३०२ अनुसार राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले राज्यका तीन तहमा समायोजन गर्न सक्ने भन्दै अदालतले त्यसका लागि कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी गरेर कर्मचारी समायोजनको आवेदन माग गरी समायोजन गरेको अदालतले उल्लेख गरेको छ ।

निवेदकहरुले समायोजन फाराम भरेर समायोजन प्रक्रियामा स्वेच्छा पूर्वक सहभागी भएको र  समायोजन गरीखाईपाई आएको तलबमा दुई ग्रेड समेत थप गरिएकाले सुविधाको परिपालना भएन भन्न नमिल्ने इजलासको ठहर छ ।

‘प्रदेश निजामती सेवा र स्थानीय तहको सेवाको पदमा समायोजन भएका कर्मचारीको खाईपाई आएको तलब, उपदान, निवृत्तिभरण, सरुवा, बढुवा लगायतका सेवा सुविधा र सेवाका शर्तमा प्रतिकूल असर नपर्ने गरी प्रदेश निजामती सेवा तथा स्थानीय तहको सेवाको पदमा कर्मचारी सेवा सम्बन्धी कानून बनाउनु पर्ने गरी कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे बमोजिम नै समायोजन भएका कर्मचारीको सेवा शर्त र सुविधाको पनि प्रत्याभूत गरेको छ,’ फैसलामा भनिएको छ,‘यसबाट निजामती सेवा ऐन, २०४९ को दफा ५८ अनुसारको नियुक्ति हुँदा तत्काल लागु रहेको निजहरुएले खाईपाई आएको तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुएूमा प्रतिकूल असर परेको भन्ने नदेखिँदा निवेदनमा उल्लेखित जिकिर स्वीकार योग्य देखिएन ।’

नेपालको संविधान जारी हुँदा कार्यरत कर्मचारी र नेपालको संविधान जारी भएपश्चात समायोजन प्रक्रिया प्रारम्भ हुनु पूर्व नियुक्त कर्मचारीको वैधानिक हैसियतमा कुनै प्रकारको भिन्नता नरहेको समेत अदालतको ठहर छ ।

संविधान जारी हुँदाका बखत कार्यरत कर्मचारी तथा नेपालको संविधान जारी भएपछि नियुक्त भएका सवै कर्मचारीहरु एकात्मक संरचनाको प्रशासनिक प्रणाली रहेको अवस्थाको कानून तथा पद्धतिअनुसार नै नियुक्त भएको हुँदा संघीय संरचना अनुसारको समायोजन प्रक्रियामा समायोजन गर्नु पर्ने नै देखिएको फैसलामा उल्लेख छ ।

‘निवेदकहरूलाई प्रदेश निजामती सेवाको पदमा समायोजन गरेबाट गरेबाट यी निवेदकहरूको संवैधानिक तथा कानूनी हकाधिकारमा आघात पुग्न गएको भन्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ,‘त्यसैले निवेदन माग बमोजिम निवेदकहरूलाई प्रदेश निजामती सेवाको पदमा समायोजन गर्ने गरी भएको निर्णय र सो सम्बन्धी अन्य काम कारवाहीलाई उत्प्रेषणको आदेश जारी गरी बदर गर्न र निजहरूलाई संघमा नै समायोजन गर्ने गरीपरमादेश लगायतका आदेश जारी गर्न मनासिब हुने देखिएन ।’

समायोजन फाराम भरेर समायोजन प्रक्रियमा सहभागी भएको देखिँदा प्रदेश निजामती सेवाको पदमा समायोजन गर्ने गरी भएको निर्णय र सो आधारमा भएका पत्राचार लगायतका काम कारवाहीहरु संविधान र कानूनसम्मत नै देखिएबाट यी निवेदकहरूको संवैधानिक तथा कानूनी हकाधिकारमा आघात पर्न गएको नदेखिएकोले निवेदन माग बमोजिमको आदेश जारी गर्न नपर्ने  अदालतले फैसलामा उल्लेख छ । यस बमोजिम अदालतले  रिट निवेदन खारेज गर्दै १५ माघ २०७६मा जारी भएको अल्पकालिन अन्तरिम आदेश समेत निष्क्रिय हुने फैसला  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?