+
+

समयमा उपचार नपाउँदा जलनकी घाइते हत्केला गुमाउने अवस्थामा

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन ९ गते १८:५८

९ साउन, जनकपुरधाम । जलेर गम्भीर घाइते भएकी रेणु परियार उचित उपचार नपाउँदा एउटा हातको हत्केला नै गुमाउने अवस्थामा पुगेकी छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, वीरेन्द्र बजारमा बस्दै आएकी २४ वर्षीया रेणु परियारको खाना पकाउने क्रममा २८ असारमा अनुहार र देब्रे हात जलेको थियो ।

जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत उनलाई सामाजिक अभियन्ता उज्वलबिक्रम थापाको समन्वयमा ७ साउनमा मात्र बर्न अस्पताल कीर्तिपुरमा उपचारका लागि पठाइएको थियो ।

समयमा राम्रो उपचार नपाउँदा उनको देब्रे हातको हत्केला काट्नुपर्ने अवस्थामा पुगेको अभियन्ता थापाले बताए ।

‘पोलेको हातको समयमै उचित उपचार भएन । हामीकहाँ समयमै आइपुगेको भए हात बचाउन सक्थ्यौं । घाउ बल्झेर अब रेणुको हातको हत्केला नै काट्नुपर्ने अवस्था आएको छ’, बर्न अस्पतालकी निर्देशक डा. अरुण नकर्मीलाई उधृत गर्दै थापाले अनलाइनखबरसँग भने ।

थापाको समन्वयमा अहिले रेणुको निशुल्क उपचार भइरहेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ की स्थायी बासिन्दा परियार ५ वर्षदेखि धनुषाको वीरेन्द्र बजारमा पति जगत परियारसँग बस्दै आएकी थिइन् । उनीहरु लुगा सिलाएर जीविका चलाइरहेका थिए । उनीहरुको ५ वर्षकी छोरी छन् ।

पति जगतका अनुसार रेणु छारेरोगको बिरामी थिइन् । २८ असारमा ग्यास बालेर अण्डा पकाइरहेका बेला एक्कासी बेहोस हुँदा रेणुको अनुहार कराहीमा घोप्टिएको थियो । त्यतिबेलै तरकारी राख्ने प्लास्टिकको डाली झरेर त्यसमा ग्यास सल्किएको र बायाँ हात पनि जलेको थियो ।

होस खुलेपछि रेणु एक्कासी चिच्याइन् । बिरामी परेर सुतिरहेकी छोरीले देखेपछि तत्कालै सिलाइ पसलमा बाबु जगतलाई बोलाउन पुगेकी थिइन् । त्यतिबेलासम्म रेणुको अनुहारको ७० प्रतिशत भाग र देब्रे हातको हत्केला जलिसकेको थियो ।

घाइते रेणुलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । ६ दिन आईसीयूमा राखेर साउन २ गते वार्डमा सारिएपछि उनलाई चिकित्सकले थप उपचारको लागि काठमाडौं लैजान सल्लाह दिएका थिए ।

तर काठमाडौं लैजाँदा पति समेत सँगै जानुपर्ने, काठमाडौंमा खान बस्नको समस्या र एम्बुलेन्स भाडासमेत नभएकाले तत्कालै उनीहरु जान सकेनन् । थप ५ दिन प्रादेशिक अस्पतालमै उपचार गराइरहे । ७ साउनमा अभियन्ता थापाको समन्वयमा रेणुलाई काठमाडौं पठाइएको हो ।

अस्पतालमा कुरुवा बसेका पति जगत र छोरी आरसुलाई खान बस्न तथा लामो समय रेणुको उपचार तथा हेरविचार गर्नुपर्ने भएकाले आर्थिक सहयोगका लागि उनीहरुले अपिल गरेका छन् ।

आर्थिक सहयोगको लागि इच्छुक सहयोगीले पतिको जगतबहादुर परियारको इसेवा नम्बर ९८२६३४९५१३ वा नेपाल एसबीआई बैंकको खाता नम्बर १८८१५२४१४३२०३२ मा सहयोग गर्न सक्नेछन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?