+
+
सुजाता कोइरालासँग वार्ता :

‘शेखर जिताउन सक्रिय हुन्छु, गगन उठेमा शशांक उठ्नुहुन्न’

शशांकसँग कुरा हुन्छ । समय छ, कुरा गर्दै जान्छौं । मलाई विश्वास छ, अन्तिममा उहाँले पनि शेखर दाइलाई विश्वास गर्नुहुन्छ । गगन उठ्ने भए शशांक पक्कै पनि उठ्नुहुन्न ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ८:४५

११ साउन, काठमाडौं । नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनमा उपसभापति उठेर हारेकी सुजाता कोइराला त्यसयता निष्क्रिय जस्तै थिइन् । सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे ।

राजनीतिमा सक्रियता कम गरेकी उनले आठ महिना अघि निवास पनि परिवर्तन गरिन् । मण्डिखाटारको निवास बेचेर उनी मुहानपोखरी पुगेकी छन् ।

कोइराला यतिबेला परिवारभित्रका नेताहरूको एकताको पक्षमा उभिएकी छन् । उनले ४ साउनमा सभापतिमा शेखर कोइराला १५औं महाधिवेशनमा उठ्दा सघाउने प्रतिबद्धता गरिन् । शेखरको पक्षमा सक्रिय राजनीतिमा आउने उनले संकेत गरिसकेकी छन् ।

कोइराला परिवारका तीन नेता (शेखर–शशांक–सुजाता) को एकता सम्भावना, आगामी महाधिवेशन लगायतमा विषयमा रहेर कांग्रेस नेतृ सुजाता कोइरालासँग मुहानपोखरीस्थित उनकै निवासमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः

१४औं महाधिवेशनमा तपाईं र शेखर कोइराला बीचमा सहकार्य हुन सकेन । अहिले तपाईंले सभापतिमा शेखरलाई साथ दिने भन्नुभएको छ । त्यसबेला किन एकठाउँमा हुनुभएन ? र, अहिले के कारणले नजिकिनुभएको हो ?

हामी एक हुनुपर्छ जस्तो लाग्यो । किनभने, देशको अवस्था पनि त्यति राम्रो छैन । मन्दीको अवस्था पनि छ । जनता पलायन भएको अवस्था छ । राजनीति पनि राम्रो देखिएन ।

इतिहासमा हेर्नुभयो भने मुलुकमा जब–जब संकट आएको थियो, त्यसबेला नेपाली कांग्रेसको धेरै ठूलो भूमिका हुन्थ्यो । संकटलाई सम्बोधन कांग्रेसले गर्दै आएको थियो । कांग्रेस कमजोर भएको मैले देखें । चुनाव जितेर ठूलो पार्टी भएर मात्रै हुँदैन । देशको अवस्था के छ त ? कांग्रेसले हेर्नुपर्दछ । कांग्रेसले देशको लागि के गर्ने त ?

यत्रो गठबन्धन गर्दा पनि केही भएन । झन् यसले विकृति जस्तो देखियो । झन् विचलन पार्टीभित्र र बाहिर पनि देखियो । विधान अनुसार शेरबहादुर देउवा सभापति दुईपटक भइसक्नुभयो । उहाँको कार्यकाल अब सकिन लागेको छ । अब हामीले नयाँ सभापति पनि खोज्नुपर्दछ । मिहिनेती, सक्षम, अनुभवी, पुरानो इतिहास बुझेको, अहिलेका युवाहरूको पनि भावना बुझेर प्रतिनिधित्व गर्ने नेतृत्व हामीलाई चाहिएको छ ।

युवाहरूको भविष्य बनाएर हामी अघि जाने हो । मलाई लाग्यो, शेखर दाइमा अहिले मिहिनेत देखिएको छ । उहाँले जुन किसिमले भेटघाट गरिरहनुभएको छ, इतिहास पनि उहाँलाई थाहा छ । पुरानो कुराहरू पनि उहाँले बुझ्नुभएको छ । संघर्ष गरेरै आएको मान्छे हो । त्यसले गर्दा मैले उहाँको आवश्यकता देखें ।

अहिले मिल्नुपर्छ भनेर तदारुकता तपाईंको हो कि शेखर कोइरालाको हो ?

शेखर दाइ र मेरो कुरा त भइ नै राख्छ नि ! मैले आफैंले पनि सोचें । उहाँको सर्कलले पनि कुरा गरिराखेको थियो ।

शेखर कोइराला तपाईंलाई भेट्न यहाँ आउनुभएको थियो ?

शेखर दाइ पनि आउनुभएको थियो । अरू व्यक्तिहरू पनि आउनुभएको थियो ।

तपाईं यहाँ सरेपछि शेखर कोइराला कतिपटक यहाँ आउनुभयो ?

एकचोटि आउनुभयो । उहाँ आउँदा पारिवारिक सँगै राजनीतिक कुरा पनि भइहाल्छ नि !

केही दिनअघि शेखर कोइरालाले नै आफू नजिकका नेताहरूलाई लिएर तपाईंलाई भेट्न आउनुभएको रहेछ । के कुरा भयो ?

उहाँहरू २०/२५ जना आउनुभएको थियो । राम्रो मिटिङ भयो । धेरै राम्रो कुरा भयो । पार्टी संगठन कमजोर भएको कुराहरू भयो । गिरिजाबाबुले गरेको जुन संगठन थियो, भत्किंदै बिग्रँदै गएको कुरा भयो । हामीले त्यसलाई सुधार्नुपर्छ । पार्टीको सबैलाई चिन्ता छ । पार्टी कमजोर भयो । पार्टीमा नयाँ सभापति आउनुपर्छ भन्ने कुराहरू भए ।

सभापति देउवाको कार्यकाल सकिन लागेको छ । उहाँलाई उठ्न विधानले पनि दिंदैन । सभापतिका लागि सबैभन्दा उपयुक्त व्यक्ति शेखर दाइ नै लाग्छ मलाई त । मैले सपोर्ट गर्छु, अरूले पनि गर्छन् । कोइराला परिवारको सबैले सहयोग गर्छन् ।

कोइराला परिवारका सबैले सहयोग गर्नुहुन्छ ? शशांक कोइरालाले पनि सभापतिमा शेखरलाई सहयोग गर्नुहुन्छ ?

शशांकसँग कुरा भएको छैन । प्रकाश कोइराला, मनिषा कोइराला सबैले सहयोग गर्छन् । यता, ज्योति दाइको परिवारले पनि गर्छ । शेखर दाइले मिहिनेत र काम गर्नुभएको छ, त्यसकारण सबैले सहयोग गर्नुहुन्छ । सभापतिमा उहाँको आवश्यकता भएको सबैले महसुुस गरेका छन् । नेपाली कांग्रेसका जति पनि कार्यकर्ता, साथीभाइहरू हुनुहुन्छ, उहाँलाई ठूलो सपोर्ट छ । शशांक पनि आइहाल्नुहुन्छ !

उहाँ पनि तपाईंहरूसँगै आउनेमा विश्वस्त हुनुहुन्छ ?

आइहाल्नुहुन्छ  ! आउनु पर्‍यो नि ! शेरबहादुरजीले उचालेर उचालिने त होइन !

शशांक कोइरालालाई १५औं महाधिवेशनमा शेरबहादुर देउवाको टीमबाट सभापतिमा उठ्ने चर्चा हुन्छ । तपाईं त्यस्तो हुनसक्ने देख्नुहुन्छ ?

उहाँलाई उचाल्ने काम भइरहेको छ । शशांक सतर्क हुनुपर्दछ । कोइरालालाई शेरबहादुरजीले कहिल्यै पनि सपोर्ट गर्नुहुन्न । एउटा कोही न कोही त चाहियो, त्यही भएर शेरबहादुर देउवाजीले समातिरहनुभएको छ ।

तपाईंहरू १४औं महाधिवेशन अघि हामी एकठाउँमा हुन्छौं, एउटालाई सभापतिमा उठाउँछौं, विवाद छैन भन्नुहुन्थ्यो । तीन जना मिलेर एउटालाई सहयोग गर्न नसक्नुमा तपाईंहरू बीचको खास समस्या के हो ?

खास केही समस्या होइन । सानोतिनो कुराहरू हो । शेखर दाइले पनि अलि लामो समयदेखि अलिकति बढी पहल गर्नुपर्थ्यो। उहाँको पहल पनि ठिक्क महाधिवेशनको बेला भयो ।

एकठाउँमा आउनका लागि त राम्रो अण्डरस्ट्याण्डिङ हुनुपर्दछ । परिवार मात्रै भनेर पनि हुँदैन । एकताको भावना पनि हुनुपर्‍यो नि ! परिवारले मात्रै गर्न सक्छ भन्ने पनि होइन । परिवार भन्दा पनि अहिले शेखर दाइ पार्टी लिडर भएकाले उहाँले सक्नुहुन्छ जस्तो लागेको छ । किनभने उहाँको अनुभव छ । हामी सबैले सहयोग गर्‍यौं भने उहाँले जित्न सकिहाल्नुहुन्छ । अहिलेको भन्दा कांग्रेस धेरै राम्रो हुन्छ ।

साउन ४ मा शेखर कोइरालाको सम्पर्क कार्यालयमा बोल्दै गर्दा तपाईंले हामी दुईको केही विवाद छैन भन्नुभएको थियो । पहिले चाहिंं के विवाद भएर नमिल्नुभएको ?

पहिले पनि खासै केही विवाद थिएन । सानोतिनो कुरा हो । शेखर दाइले राम्रोसँग कम्युनिकेट गर्न सक्नुभएन । कुन पदमा बस्ने, के गर्ने भनेर त्यो बेला कुरा भएन । अहिले संवाद पनि बढेको छ र पद नै ठूलो कुरा होइन भन्ने मलाई लागेको छ ।

तपाईंहरू नै एकजुट नभई जित्न सम्भव छ ?

म त मिलिराखेकै छु । परिवारको सबै मिलेकै छ  !

शशांकलाई मिलाउन तपाईं पनि लाग्नुहुन्छ अब ?

सबै लाग्छौं !

उहाँसँग भेट्ने कुरा भएको छ ?

समय छ नि ! परिवारका मान्छेहरू भेटेर कुरा गर्छौं ।

तपाईंले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारमा शेखरलाई विश्वास गर्नुभएन । अहिले विश्वास गर्ने वातावरण कसरी बन्यो ?

शेरबहादुरजीको काम हेर्‍यौं नि त ! काम गर्ने तरिका हेर्‍यौं । पार्टीमा जितेर मात्रै पनि हुँदोरहेनछ  ! आफ्ना लागि भन्दा पनि देशका लागि पार्टीले गर्ने हो ! देशका लागि नीतिहरू बनाउने, त्यसलाई लागू गर्ने, विकास निर्माणका कामहरू गर्ने हो ! खालि यता र उति भएको छ । एउटा गठबन्धन छोड्ने, अर्को बनाउने गर्दा त नराम्रो हुन्छ नि ! मुलुक र पार्टीभित्र यसले भित्र विकृति ल्यायो के । पार्टीहरूलाई यसले झन् कमजोर बनायो ।
अहिले अर्को गठबन्धन बनेको छ । राम्रो काम गरेर देखाउनु पर्‍यो । राम्रो काम गरेर देखाउन कांग्रेसले मौका पाएको छ ।

कतिपयले कांग्रेसमा कोइराला परिवारबाट पार्टी नेतृत्व गुमेपछि पार्टी कमजोर भएको विश्लेषण गर्छन् । तपाईंलाई त्यस्तो लाग्छ ?

गिरिजाबाबु र सुशील कोइरालाको बेलाको जस्तो तागत कांग्रेसमा अहिले छैन । एकपटक शेखर दाइलाई सभापति बनायौं भने फेरि कांग्रेस बलियो हुन्छ कि जस्तो लाग्छ ।

देउवा दुई पटक सभापति हुनुभयो । उहाँको पहिलो र दोस्रो कार्यकाल हेर्दा तपाईंको दृष्टिकोणमा पार्टीलाई राम्रो गर्नुभयो वा नराम्रो ?

पार्टी संगठन कमजोर भयो । गुटहरू धेरै भए । पार्टी कसैको कन्ट्रोलमा रहेन । जसलाई जे मन लाग्छ, त्यही गरे हुनेभयो ।

पार्टीलाई जिताउन गठबन्धन गर्नुभएको छ । तीन वटा नेतालाई जिताउने र अरूको चाहिं वास्ता नगर्ने गरिएको छ । कार्यकर्ता पनि त्यस्तै, जसलाई भोट दिने भन्यो, त्यसलाई भोट दिन गइहाल्छन् ।

यिनीहरू सबै त्यसैगरी जितेर आएका  हुन्! चुनावमा त मतदाताको बलमा लड्नुपर्‍यो नि ! चुनावको बेलामा देउवा, ओली, प्रचण्ड, माधवले मिलेमतो गर्छन् । ५/६ जनाको मिटिङ हुन्छ, यी ५/६ जनालाई जसरी पनि जिताउनुपर्ने । अरूको मतलब छैन । उनीहरूले पार्टीमा निर्देशन दिएर यसरी संयन्त्र बनाउँछन् कि जितिहाल्छन् । जनताले जिताएको त होइन नि ! गठबन्धनले मिलेमतो गरेर जिताएर ल्याइराखेको हो ।

शेरबहादुरजीलाई जिताउन एमालेले सहयोग गर्ने । ओलीजी जित्दा शेरबहादुरजीले सहयोग गर्ने भइरहेको छ । त्यहाँ भोट हाल भनेर पार्टीका कार्यकर्तालाई निर्देशन दिने काम भएको छ । लोकतन्त्र नै भएन के ! लोकतन्त्रमा यस्तो हुन्छ भन्ने मलाई त थाहा थिएन । लोकतन्त्रमा जनताले चाहेको कुरा हुन्छ । यहाँको लोकतन्त्र त नेताहरू मिलेमतो गरेर जित्ने देखियो ।

तपाईंलाई अहिलेसम्म पनि पार्टीबाट असहयोग गरेर पराजित भएको लागिरहेको छ ?

त्यो कुरा जे होस्; मेरो कुरा गरेको होइन । मेरो आफ्नो कुरा त गर्नु पनि पर्दैन । पार्टीले पार्टी हराउने काम भएको छ । भित्रभित्रै खेल्ने काम हुन्छ । यो त राम्रो भएन ।

अब चाहिं पुरानो संस्थापन फेरि पार्टी नेतृत्वमा आउनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

मेरो आफ्नो कुरामा म अब डगमग हुन्न । अरूको त कसरी भनुँ ! मैले जिम्मेवारी लिन सक्दिनँ ।

तर, शेखर कोइरालाले आफ्नो समूहलाई नै मिलाउन नसकेको आरोप छ ?

होइन, कुन चाहिं टीममा छ मिलेको ?

उहाँले आफ्नो टीम एक बनाएर लैजान सक्नुहोला ?

मिल्नुपर्छ । पद भन्दा पनि सबैभन्दा ठूलो पार्टी, देश हो भन्ने बुझ्नु पर्‍यो । यत्रो इतिहास र संघर्ष गरेर आएको पार्टीमा सानोतिनो कुरामा लाग्नुहुँदैन । त्यही भएर त मैले पनि त्याग गरें । पदै ठूलो कुरा होइन नि ! देशलाई बचाउनु पर्‍यो । स–सानो समस्या भए हामी त्यसलाई मिलाउँछौं ।

जिते पनि हारे पनि लड्न त पर्‍यो ! मलाई त लाग्छ, शेखर दाइ बलियो हुनुहुन्छ । उहाँको धेरै ठूलो शक्ति छ ।

शेखर कोइराला समूहमा रहनुभएका महामन्त्री गगन थापाले सभापतिमा उठ्ने भन्नुभएको छ । अनि, समूह कसरी एक हुनसक्छ ?

त्यो कुरा हामी बसेर छलफल गरेर मिलाउनुपर्छ । शेखर दाइले मिलाउनुहुन्छ ।

कसरी मिलाउनुहुन्छ ?

त्यो त अहिले कसरी मैले भनुँ ? पार्टीमा जो पनि लड्न पाउँछ नि ! एक जना मात्रै लड्ने भए सर्वसम्मत भइहाल्छ नि !

कोही पनि एउटै समूहमा रहने पर्मानेन्ट हुँदैन । कहिले यता, कहिले उता, कहिले कता गरेर मान्छेहरू हिंडिरहेको हुन्छ । सम्झाउने, बुझाउने, एक भएर जाने कुरा गर्ने हो । एक भएर जान सकिएन भने आफ्ना चुनौती लिएर अघि बढ्नुपर्दछ । जिते पनि हारे पनि लड्न त पर्‍यो !

मलाई त लाग्छ, शेखर दाइ बलियो हुनुहुन्छ । उहाँको धेरै ठूलो शक्ति छ । जित्नुहुन्छ । जिताउन सकिन्छ ।

शेखर कोइरालाका लागि तपाईंको सक्रियता बढ्छ अब ?

उहाँलाई जिताउन सक्रिय भएर लाग्छु । अहिले नै काठमाडौं बाहिरका कार्यक्रममा उहाँका लागि भनेर हिंड्दिनँ । अलि पछि जान्छु ।

शनिवार तपाईं प्रमुख अतिथि बनेर शेखर कोइरालालाई सघाउने भनी गर्न लागिएको कार्यक्रम कस्तो हो ?

खीर खाने कार्यक्रम हो । मलाई प्रमुख अतिथि बनाउनुभएको छ । संगठन, पार्टीको बारेमा म बोल्छु । भोलि आउने दिनमा पार्टीलाई कस्तो नेतृत्व चाहिन्छ भनी कुराहरू हुन्छ ।

मलाई विश्वास छ, अन्तिममा शशांकले पनि शेखर दाइलाई विश्वास गर्नुहुन्छ । गगन उठ्ने भए शशांक पक्कै पनि उठ्नुहुन्न ।

तपाईं शेखर कोइरालाको टीमबाट १५औं महाधिवेशनमा कुन पदमा प्रतिस्पर्धा गर्ने त्यो बारेमा पनि कुरा भइसकेको हो ?

त्यो बारेमा कुरा भएको छैन । शेखर दाइ लडेपछि भइहाल्यो नि ! पछि कतै मनोनीत भएर आउँला वा पदाधिकारीमा लड्न पनि सक्छु । अहिले केही भन्न सकिन्नँ । शेखर दाइलाई अप्ठ्यारो पार्ने गरी यो पदमा लड्छु भन्ने कुरा पनि त भएन नि ! अरू पद कुनै होला । महिला उपसभापतिको कुरा पनि आउँला ।

त्यसका लागि विधान संशोधन नगरी कसरी सम्भव होला र ?

विधान संशोधन गरेर । त्यस्तो भयो भने लड्ने बारेमा सोच्न सकिन्छ । तर, अहिले मैले सोचिसकेको छैन । अहिले आफ्नो केही पनि फाइदा नहेरे शेखर दाइलाई सहयोग गर्ने चाहना हो ।

कोइराला परिवारका अन्य व्यक्तिहरूसँग पार्टी राजनीतिको बारेमा छलफल भएको छ ?

अहिले नै त भइसकेको छैन । अरू अरूले त शेखर दाइलाई सपोर्ट गर्ने भइसके । शशांकसँग कुरा हुन्छ । समय छ, कुरा गर्दै जान्छौं । मलाई विश्वास छ, अन्तिममा उहाँले पनि शेखर दाइलाई विश्वास गर्नुहुन्छ । गगन उठ्ने भए शशांक पक्कै पनि उठ्नुहुन्न । शेखर र शशांक उठ्दा राम्रो देखिन्छ त ? त्यो बेला परिस्थिति अर्कै पनि बन्न सक्छ । टाइम छ !

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?