
काठमाडौं । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लड्की’ को नेपाली अनुवाद ‘पहेंलो छाता’ सार्वजनिक भएको छ ।
सम्पूर्ण किताब चितवनमा भएको कार्यक्रममा स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति लोकार्पण गरे ।
कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए । ‘मलाई उनका कृतिमध्ये र थुप्रै अन्य उत्कृष्ट कृतिमध्ये पिली छतरी वाली लड्की हो,’ उनले भने, ‘यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । यो ज्यादै खुसीको कुरा हो ।’
‘पहेंलो छाता’ मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनले बताए ।
‘भारती उपमहाद्वीपको जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले बडो कलात्कमक ढंगले विश्वविद्यालयको पेरिफेरिमा कथा उनेका छन्,’ भूपिनले भने, ‘नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दर कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।’
‘पिली छतरी वाली लड्की’ को नेपाली अनुवाद आख्यानकार मीनराज बसन्तले गरेका हुन् । बसन्तका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) र लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् ।
बीएन पुस्तकले प्रकाशन गरेको ‘पहेंलो छाता’को मूल्य ४२५ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया 4