+
+

विदेशी फिल्ममा कर बढाउन र कोटा लगाउन चलचित्र कलाकार संघको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १३:३४

काठमाडौं । चलचित्र कलाकार संघले विदेशी फिल्ममा कोटा लगाउन र कर वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई दिन पुगेको संस्थाको टोलीले आफ्ना माग समेत पेश गर्‍यो ।

भेटपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष मोहन निरौलाले विदेशी फिल्मको आयातलाई न्यूनीकरण गर्न यस्तो कदम चाल्नु जरुरी रहेको बताए । संसदबाट चाँडो फिल्म ऐन पास गर्न पहल गर्नुपर्ने, फिल्म सम्बद्ध संस्थालाई वार्षिक अनुदानको व्यवस्था गर्नुपर्ने, चलचित्रकर्मीको अक्षय कोषमा रकम वृद्धि गरिदिन आग्रह गरिएको बताए ।

संघकी संरक्षक तथा अभिनेत्री बसुन्धरा भुसाल नेतृत्वको टोलीले मन्त्री गुरुङको सफल कार्यकालको समेत कामना गर्‍यो । अध्यक्ष निरौलाले अहिले पनि नेपाली फिल्म २०२६ सालकै ऐनमा चलिरहेको भन्दै यसलाई प्रतिस्थापन गर्न नयाँ ऐन ल्याइहाल्नुपर्ने देखिएको बताए ।

फिल्मका आठ संस्थाले यसअघि बुझाएको ज्ञापनपत्रबारे पनि टोलीले ध्यानाकर्षण गराएको थियो । उक्त भेटमा संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कार्यकारी सदस्यहरु उद्धव भट्टराई, सरिता राजोपाध्याय र नम्रता खरेल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?