+
+

दिल्लीमा कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर ३ विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते ७:१३

१३ साउन, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।

राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको मृत्यु भएको हो ।

गएराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको क्रममा बेपत्ता भएका दुबैको शव फेला परेपछि मृतकको संख्या तीन पुगेको हो ।

स्थानीय समय अनुसार शनिबार बेलुकी सात बजे बेसमेन्टमा सात फिटसम्म पानी भरिएको र विद्यार्थीहरु फसेको जानकारी पाएपछि भारतको राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खोज तथा उद्धारमा खटिएको थियो । बेसमेन्टमा भरिएको पानी पम्पसेटको सहायताले बाहिर निकालिएको छ ।

घटनाको विरोधमा विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए । लगत्तै दिल्ली सरकारले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली सरकारले कोचिङ सेन्टर सञ्चालकविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेर थप अनुसन्धान सुरु गरिसकेको छ । दुई जना प्रहरी हिरासतमा छन् ।

गएराति भारतको राजधानी नयाँदिल्लीसहित महाराष्ट्र, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश लगायतका जिल्लाहरुमा भारी वर्षा भएको थियो । वर्षासँगको बाढी र पहिरोबाट दर्जनौंको मृत्यु भएको र जनजीवन प्रभावित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?