+
+
छानबिन समितिको निष्कर्ष :

सडक विस्तारको लापरबाहीका कारण सिमलताल दुर्घटना

दुर्घटनास्थलमा सिन्दुरे खोल्सी छ । पछिल्लो समय मुख्य राजमार्गभन्दा माथि स्थानीय तहले सडक खनेको पाइएको छ । सडक खन्ने क्रममा निस्किएको ढुंगामाटोलाई त्यही सिन्दुरे खोल्सीमा फालेका कारण पानी पर्दा लेदो बगेर आएको थियो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ साउन १३ गते १९:५१

१३ साउन, काठमाडौं । सडक विस्तारका क्रममा गरेको लापरबाहीका कारण सिमलताल दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

२८ असारको विहानीपख चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो माटोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा खसालेको थियो । दुई वटा बसमा गरी ६८ जना थिए । ३ जनाले पौडिएर ज्यान बचाए, २४ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

४१ यात्रु अझैसम्म वेपत्ता छन् । दुघर्टनामा परेको दुबै बस पनि अझैसम्म भेटिएको छैन । यात्रु तथा बसको खोजीका लागि भारतबाट गोताखोर टोलीसमेत ल्याइएको थियो । तर बेपत्ता यात्रु र बसको अवस्था पत्ता लगाउन नसकेपछि भारतीय गोताखोर टोली आइतबार फर्किएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्म भुसालले जानकारी दिए ।

बस दुर्घटनामा आम नागरिक बेपत्ता भइरहेका बेला संसदमा भने सरकार फेरबदलको खेल भइरहेको थियो । यसको आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले ३१ असारमा कार्यभार सम्हाल्दा पहिलो निर्णयबाटै छानबिन समिति गठन गरेका थिए ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, यातायात व्यवसायी र मजदुरका प्रतिनिधि सदस्य थिए । २ साउनमा दुर्घटनास्थल पुगेको टोलीले दुर्घटनामा बाँचेकाहरुसँग पनि सोधपुछ गरेको थियो ।

समिति छानबिन टुंग्याएर प्रतिवेदन लेखनको अन्तिम तयारीमा जुटेको छ । एक सदस्यका अनुसार भौगोलिक बनोट र विपदका कारण बस अनियन्त्रित भएर त्रिशूलीमा खसेको समितिको निष्कर्ष छ ।

दुर्घटना स्थलमा सिन्दुरे खोल्सी छ । पछिल्लो समय मुख्य राजमार्गभन्दा माथि स्थानीय तहले बाटो खनेको पाइएको छ । बाटो खन्ने क्रममा निस्किएको ढुंगामाटोलाई त्यही सिन्दुरे खोल्सीमा फालेका कारण पानी पर्दा लेदो बगेर आएको थियो ।

समितिका संयोजक रिजालले पनि मुख्य राजमार्गभन्दा माथि स्थानीय तहले बाटो खनेको र पानी पर्दा लेदा बगाएर ल्याउँदा दुर्घटना भएको अनलाइनखबरलाई बताए ।

समितिले राजमार्गमाथि सडक बनाउँदा लापरबाही भएको निष्कर्ष निकालेको छ । किनकी मुख्य राजमार्गमाथि सडक खन्दा त्यहाँ निस्किएको बाक्लो माटोको सतह मुख्य राजमार्ग भन्दा तल फाल्नुपर्ने थियो । तर माथि नै फालिएकाले पानी पर्दा उक्त माटो लेदोको रुपमा बगाएर ल्याएको समितिले निश्कर्ष निकालेको छ ।

वर्षा सुरु भएसँगै त्यहाँ लेदो सडकमा आएको थियो । दिउँसोको समयमा त्यसलाई पन्छाएर सडक खोलिएको थियो । रातिदेखि आएको लेदोले सडकको माथिल्लो भाग ढाक्दै गयो । त्यसले सडक करिब करिब एकतर्फी बनायो र गाडी पास हुन समय लाग्ने भयो ।

२८ असारको बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्यही अठ्यारोमा रहेका बेला माथिबाट लेदो सहितको पहिरो आयो ।

बाटो अफ्ठ्यारो भएकाले दुई बस पार गर्न केही समय लाग्यो, त्यही बेला माथिबाट लेदोसहितको पहिरो आएर बस बगाएको देखिएको समितिले औैंल्याएको छ ।

बाटो राम्रो भएर सहजै गाडी पास हुन पाएको भए यति ठूलो दुर्घटना नहुन सक्ने समितिको विश्लेषण छ ।

समितिका अनुसार सडक डिभिजन कार्यालय, भरतपुरले पनि घटनापछि स्थलगत अनुसन्धान गर्दा सडक बाटो विस्तार गर्दा लापरबाही भएको बताएको छ ।

अन्यत्र पनि सडक बिस्तारमा यही शैली अपनाएका कारण पहिरो जाने गरेको भन्दै समितिले यस विषयमा ध्यान दिन सुुझाएको छ ।

मुख्य राजमार्गमाथि स्थानीय तहले अर्को सडक खन्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरे/नगरेको अध्यनन गर्न भन्दै आइतबार मात्रै स्थानीय तहसँग यसबारे रिपोर्ट माग गरिएको समितिले बताएको छ ।

प्रतिवेदनमा बस व्यवसायीदेखि यात्रुले पाउनुपर्ने राहत तथा क्षतिपूर्तिबारे समेत उल्लेख गरिएको समितिका एक सदस्यले बताए । साथै सडक विस्तार गर्दा ध्यान दिनुपर्ने विषयदेखि बर्खायाममा गाडी चलाउँदा पालना गर्नुपर्ने नियमबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको समितिले जनाएको छ ।

सुरुमा १० दिन समय पाएको छानबिन समितिलाई थप ७ दिन दिइएको छ । जसअनुसार १७ गतेभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । प्रतिवेदन मस्यौदा गरिसकिएकाले अबको केही दिनमै प्रतिवेदन बुझाउने तयारी रहेको समितिले जनाएको छ ।

चालकलाई सम्मान

यो घटना भएकै दिन बुटवलबाट ३० जना यात्रु लिएर काठमाडौं आउँदै गरेको लु २ख ६५६६ नम्बरको बसमाथि ढुंगा खसेको थियो । १७ किलो भन्ने स्थानमा खसेको ढुंगा लागेर चालक मेघराज बिक घाइते भए ।

तर उनले करिव ३० फिट अगाडिसम्म गाडी लगेर सुरक्षित स्थानमा रोकेका गिए । ३० यात्रुको ज्यान बचाएका उनलाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पुर्‍याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरे ।

छानबिन समितिले चालक मेघराज बिकलाई मृत्युपछि सम्मान गर्न र उनको परिवारलाई क्षतिपूर्ति दिन सुझाएको छ ।

८ वर्षमा त्रिशूलीमा ७ गाडी र ४५ यात्रु बेपत्ता

पछिल्लो ८ वर्षको तथ्यांक हेर्दा त्रिशूली नदीमा ७ वडा गाडी र ४५ यात्रु बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार यसअघि त्रिशूली नदीमा खसेका ५ वटा गाडी भेटिएको छैन । २०७३ सालदेखि अहिलेसम्म ७ वटा गाडी त्रिशूलीमा बेपत्ता भएको उनले बताए ।

९ असोज २०७३ मा पूर्वगृहमन्त्री माधव घिमिरे सवार गाडी त्रिशूलीमा खसेको थियो । चितवनको दारेचोकस्थित घोप्टेभीरबाट घिमिरे आफैंले चलाएको कार त्रिशूलीमा खसेको थियो । उक्त गाडीमा उनीसँगै उनका भाइ प्रकाश र मनमोहन सवार थिए ।

मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरेर काठमाडौं फर्कने क्रममा गाडी त्रिशूली नदीमा बेपत्ता भएको थियो । त्यतिबेला बंगलादेशबाट गोताखोर ल्याएर खोजी गरिएपनि गाडी र यात्रु दुबैको अवस्था पत्ता लगाउन सकिएन । अहिलेसम्म पनि अवस्था अज्ञात छ ।

९ असार २०७४ मा दुई वटा गाडी त्रिशूलीमा खसेको थियो । ९ असार २०७४ को राति इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सडक माथिबाट पहिरो खस्दा इलाका प्रहरी कार्यालय मंग्लिङको गाडी र एक मालबाहक ट्रक त्रिशूलीमा खसेका थिए ।

नेपाल प्रहरीका असई निश्चल तामाङसमेत चार जना सवार ना १ झ १३९० नम्बरको कार र ना ५ ख ७८२७ नम्बरको ट्रक अहिलेसम्म वेपत्ता छ । कारमा सवार चारै जनाको शव भने त्यतिबेलै फेला परेको थियो ।
२५ वैशाख २०७९ मा गाडीसहित एक व्यक्ति वेपत्ता भएकोमा अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

त्यसबेला धादिङको रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेघाटमा ग १ त ४८९८ नम्बरको ट्रक त्रिशूलीमा खसेको थियो । ट्रकका चालक इच्छाकामना गाउँपालिका–१ का २५ वर्षीय मगरसिंह चेपाङ थिए । अहिलेसम्म चालक चेपाङ र ट्रक दुबैको अवस्था अज्ञात छ ।

२८ साउन २०७९ मा इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला पुल नजिक मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७१०३ नम्बरको इटा बोकेको ट्रक त्रिशूलीमा खसेको थियो । चाकल भने सकुशल थिए भने उक्त ट्रक अहिलेसम्म फेला पर्न सकेको छैन ।

पछिल्लो पटक २८ असार २०८१ मा बेपत्ता भएका दुई बस र त्यसमा सवार ४१ यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?