+
+

कृष्णमानबारे निर्णय गर्न कांग्रेस र एमाले आन्तरिक छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १४ गते १३:०५

१४ साउन, काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमाले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे आन्तरिक छलफलमा जुटेको छ। नेताहरुका अनुसार कांग्रेस संसदीय दलको कार्यलयमा कांग्रेसका सांसदहरुले आन्तरिक छलफल गरिरहेका छन् । एमाले पनि आन्तरिक छलफलमा छ ।

प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न विहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको थियो । तर, दलहरुले समय मागेपछि समितिको बैठक नै स्थगित गरिएको छ ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार अर्को बैठक साँझ पाँच बजे बोलाइएको छ । यसअघि प्रधानको सुनुवाई असार २१ गतेका लागि तय भएको थियो ।

असार २० गते प्रधानविरुद्ध उजुरी दिने उजुरीकर्ता र प्रधानले आफूलाई यौन दुव्र्यबहार गरेको बताउने महिलाको कुरा सुनेपछि समितिले अनुमोदनको मिति अनिश्चित कालका लागि स्थगित गरेको थियो ।

तर, समितिले साउन ९ गते कार्ययोजना र उनीमाथि लागेको आरोपबारे प्रधानसँग सोधपुछ गर्‍यो । तर, अझै अनुमोदन गर्ने वा नगर्ने निर्णय लिएको छैन । सामान्यतया समितिले सुनुवाई गरेकै दिन निर्णय ललिने गरेकोमा प्रधानको हकमा लागू भएको छैन ।

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

असार ४ गतेबाट ४५ दिनभित्र संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्छ । अन्यथा, स्वतः नियुक्त हुने कानुनी व्यवस्था छ ।यसअनुसार अब तीन दिनभित्र अर्थात १७ गतेसम्म प्रधानको अनुमोदन हुने वा नहुने संसदीय सुनुवाई समितिले निर्णय गरिसक्नुपर्छ ।

सुनुवाई समितिको सभापतित्व राप्रपाका सांसद पशुपति शमशेर जबराले जेष्ठ सदस्यको हैसियतमा गर्दै आएका छन् । सुनुवाइ समितमा कांग्रेसबाट श्यामकुमार घिमिरे, आनन्दप्रसाद ढुँगाना, ईश्वरीदेवी न्यौपाने,  जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

एमालेबाट महेश कुमार बर्तौला, सुनिता बराल, ईश्वरी घर्ती र लिलानाथ श्रेष्ठ छन् । माओवादी केन्द्रबाट जगप्रसाद शर्मा र जनार्दन शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल छन् । जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?