+
+

मल र वर्षाले राहत, सकियो ९२ प्रतिशत रोपाइँ

उत्पादन बढ्ने आकलन

कृषि मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा रोपाइँ सकिएको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन १४ गते १७:३६

१४ साउन, काठमाडौं । मुलुकमा ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२.४ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा रोपाइँ सकिएको हो ।

प्रदेश अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यहाँ १ लाख ७४ हजार ७६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७३ हजार ७ सय ९९ हेक्टर रोपाइँ भएको हो ।

यस्तै कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमध्ये ४० हजार ६ सय २३ अर्थात ९६.९ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९१.९ प्रतिशत अर्थात् ९६ हजार ५३ हेक्टरमध्ये ८८ हजार २ सय ५२ हेक्टर रोपाइँ भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ मध्ये २ लाख ८४ हजार ४ सय ८५ हेक्टर अर्थात् ९१.३ प्रतिशत रोपाइँ भएको छ ।

बागमती प्रदेशमा ९०.८ प्रतिशत अर्थात् १ लाख १२ हजार २ सय २३ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये १ लाख २ हजार हेक्टरमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ ।

धान खेती हुने सबैभन्दा धेरै क्षेत्रलफल भएको मधेश प्रदेशमा ९२ प्रतिशत सकिएको छ । ३ लाख ८३ हजार १ सय ५० हेक्टर क्षेत्रफलमध्ये ३ लाख ५२ हजार ४ सय ४३ हेक्टरमा रोपाइँ भएको हो ।

यस्तै कोसी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये ९०.७ प्रतिशत अर्थात् २ लाख ५० हजार ६ सय २४ हेक्टरमा रोपाइँ भएको छ ।

बढ्यो रोपाइँ प्रतिशत

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार गत वर्षभन्दा यो वर्ष रोपाइँ हुने क्षेत्रफल बढेको छ । गत वर्ष १२ साउनसम्म कुल धान रोपाइँ हुने क्षेत्रलफलको ७८.१ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

उनका अनुसार यो वर्ष रोपाइँ हुने क्षेत्रफल बढ्नुको कारण समयमै भएको वर्षा हो । ‘गत वर्ष धानको बिउ राख्ने बेला, रोपाइँ हुने बेला पर्याप्त पानी परेको थिएन तर यो वर्ष पानी समयमै पर्‍यो, त्यसकारण पनि रोपाइँ हुने क्षेत्रफल बढेको हो ।’

केसीका अनुसार रासायनिक मलको उपलब्धता गत वर्षभन्दा सहज भएकाले पनि बेलैमा रोपाइँ भइरहेको छ । ‘विगतका वर्षहरूमा मलको हाहाकार लाग्ने गथ्र्यो, तर यो वर्ष रासायनिक मलको खासै समस्या छैन, त्यसकारण पनि रोपाइँ धमाधम भइरहेको हो,’ उनले भने ।

उत्पादन बढ्ने आकलन

कृषि प्रवक्ता केसी यो वर्ष नेपालमा धान उत्पादन बढ्ने आकलन गर्छन् । गत वर्ष धानको सिजन सुरुवातमै पानी र मलको समस्या थियो । त्यसले पनि उत्पादन राम्रो नभएको उनको तर्क छ ।

‘धान उत्पादन तुलनात्मक रूपमा बढेको छ, तर त्यो प्रविधि प्रयोगले हो, समयमै वर्षा भएको भए र किसानलाई सहज मल पुर्‍याउन सकेको भए गत वर्ष उत्पादन राम्रो हुने थियो,’ केसीले भने, ‘यो पटक अहिलेसम्मको अवस्था हेर्दा धानमा उत्पादन राम्रो हुने देखिन्छ ।’

गत आव २०८०/०८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । यो अघिल्लो आव २०७९/८० भन्दा ४.३३ प्रतिशतले बढी हो । यो वर्ष समयमै भएको वर्षा र रासायनिक मल उपलब्धताले अझै राम्रो उत्पादन हुने मन्त्रालयको दाबी छ ।

कृषि मन्त्रालयका अनुसार गत आव २१ अर्ब रुपैयाँभन्दा धेरैको धान–चामल आयात भएको थियो । उक्त अवधिमा करिब १२ अर्बको धान र करिब ९ अर्बको चामल आयात गरेको थियो । त्यो बाहेक करिब १ अर्बको धानको बिउ र १० लाख रुपैयाँको कनिका पनि आयात गरेको मन्त्रालयले जनाएको छ ।

साढे ७८ हजार टन रासायनिक मल मौज्दात

कृषि मन्त्रालयका अनुसार ३१ असारसम्म नेपालमा ७८ हजार ४ सय २९ टन रासायनिक मल मौज्दात छ । कृषि सामग्री कम्पनीसँग ४७ हजार ६ सय ६७ टन र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग हजार ७ सय ६१ टन मौज्दात छ ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङँग गरी ३७ हजार ८ सय १० टन युरिया मल, ३१ हजार ९ सय १७ टन डीएपी तथा ८ हजार ७ सय १ टन पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

२०८०/८१ मा ४ लाख ५४ हजार ९ सय ६९ टन मल बिक्री भइसकेको छ । जसमा कृषि सामग्रीले २ लाख ५३ हजार ७ सय ५६ टन र साल्ट ट्रेडिङले २ लाख १ हजार २ सय १२ टन बेचेका थिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?