+
+

पूर्वमन्त्री रायको हत्या छिमेकीकै योजनामा

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ साउन १४ गते १९:२२

१४ साउन, जनकपुरधाम । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको खुलेको छ । ६ साउनको राति सर्लाहीको चन्द्रपुर नगरपालिका– १ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले उनकै घरमा काम गर्ने २५ वर्षीय रामउजैन राय र छिमेकी ४६ वर्षीय वीरेन्द्र राय यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार हत्याको योजनाकार छिमेकी वीरेन्द्र हुन् । उनकै योजना र प्रलोभनमा कामदार रामउजैनले पूर्वराज्यमन्त्री रायको हत्या गरेको प्राप्त प्रमाण र अनुसन्धानबाट पुष्टि भएको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार करिब १ महिना अघि पूर्व राज्यमन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा झुक्याइ मागेर फोटो भिडियो बनाएका थिए । वीरेन्द्रले पूर्व राज्यमन्त्री रायको पक्की घर आफ्नो जग्गा मिचेर बनाएको आरोप लगाउँदै आएका थिए ।

घटनाको केही दिनअघि मात्र वीरेन्द्रले रायको हत्या योजना बनाए । जसको लागि उनले रायको घरमा काम गर्ने रामउजैनलाई रोजे । दुईलाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्म खोलिदिने प्रलोभनमा राम उजैनले हत्याको सुपारी लिएको अनुसन्धान र आरोपीको बयानबाट खुलेको डीएसपी श्रेष्ठको भनाइ छ । पूर्वमन्त्री रायको हत्या भए जग्गा आफ्नो भोगचलन हुने वीरेन्द्रको चाहना थियो ।

घटना पश्चात प्रहरीले घटनास्थलबाट २०/२५ मिटर पश्चिम बाँसको झ्याङमा रगत तथा कपाल समेत लागेको अवस्थामा धारिलो फर्सा बरामद गरेको थियो । त्यस्तै सेतो गन्जी च्यातेर ३ तीन टुक्रा पारी भकुण्डोजस्तो बनाएर फालेको अवस्थामा घटनास्थलदेखि पश्चिम उत्तरतर्फ बारीमा भेटिएको थियो ।

रामउजैन सुत्ने ओछ्यानको तन्नामा रगत लागेको लगायतको सबुत प्रमाण संकलन गरी परीक्षण तथा मोबाइलमा भएको डाटाको परीक्षण गरिएको थियो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयबाट समेत अनुसन्धान अधिकृत सहितको टोलीहरुको सक्रियतामा अनुसन्धान गर्दा अभियुक्त पत्ता लागेको डीएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका वीरेन्द्र र रामउजैनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?