+

पेरिस ओलम्पिकमा एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दै

२०८१ साउन  १५ गते १०:०१ २०८१ साउन १५ गते १०:०१
पेरिस ओलम्पिकमा एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दै

१५ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

१०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले  गत फेब्रुअरीमा कताको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा ५२.१७ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सको लक्ष्य त्यसलाई सुधार गर्ने रहेको छ ।

अमेरिकामा बसेर अध्ययन र प्रशिक्षण गर्दै आएका एलेक्स उतैबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका हुन् । अमेरिकाको न्युयोर्कस्थित फोर्डहम युनिभर्सिटीमा साइकोलोजी अध्ययनरत एलेक्स फोर्डहम युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्दै आएका छन् ।

सन् २०२१ मा भएको टोकियो ओलम्पिकको उद्घाटन समारोहमा उनले नेपालको झण्डा बोकेका थिए ।  त्यसबेला पनि एलेक्सले १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एलेक्सले ५३.४१ सेकेण्डको समय निकालेका थिए ।

एलेक्सले सन् २०१९ मा दक्षिण कोरियामा भएको वर्ल्ड च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए । टोकियो ओलम्पिक मार्फत  ओलम्पिकमा डेब्यु गरेका एलेक्सले सन् २०१९, २०२३ र २०२४ गरी तीन पटक वर्ल्ड च्याम्पियनसिप र २०२२ को एसियन गेम्समा सहभागिता जनाइसकेका छन् ।

पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागि भएकोमा चार खेलाडीको चुनौती समाप्त भइसकेको छ । टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिए ।

अब एलेक्स बाहेक ब्याडमिन्टनका प्रिन्स दाहालले समूहको अन्तिम खेल खेल्न बाँकी छ । प्रिन्सले अन्तिम खेल बुधबार खेल्दैछन् । यस्तै एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक महिला म्याारथनमा भाग लिन आज पेरिस जाँदैछिन् ।

एलेक्स शाह गृष्मकालीन पेरिस ओलम्पिक पौडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय