+

ग्यास्ट्रिक मात्र नहुन सक्छ पेट दुखाइ

२०८१ साउन  १५ गते १२:१३ २०८१ साउन १५ गते १२:१३
ग्यास्ट्रिक मात्र नहुन सक्छ पेट दुखाइ

काठमाडौं । काभ्रेकी सावित्री बस्नेतलाई एक्कासि पेट दुख्ने समस्याले सताउन थाल्यो । ग्यास्ट्रिकको कारणले होला भनेर फार्मेसीमा गएर ग्यास्ट्रिकको औषधि ल्याएर खान थालिन् । एक हप्ता ग्यास्ट्रिकको औषधि खाँदा पनि उनको पेट दुख्ने समस्या कम भएन । त्यसपछि उनी आफ्नो समस्या लिएर अस्पताल पुगिन् । त्यहाँ गएर ग्यास्ट्रोलोजिस्टलाई भेटिन् ।

समस्या पत्ता लगाउन इन्डोस्कोपी पनि गरिन्, केही पत्ता लागेन । उनको दुखाइ कम भएन । त्यसपछि चिकित्सकले उनलाई एकपटक दुखाइरोग विशेषज्ञलाई भेट्ने सल्लाह दिए । उनी एस एण्ड एस पेन क्लिनिक एण्ड रिसर्च सेन्टर पुगिन् । त्यहाँ दुखाइ विशेषज्ञले उनको क्लिनिकल टेस्ट गरे मांसपेशीको दुखाइ रहेछ । मांसपेशी दुखाइको उपचारपछि उनको समस्या समाधान भयो ।

त्यस्तै हेटौंडाका राजन शर्मालाई पनि पेट दुख्ने समस्याले सतायो । दिनप्रतिदिन समस्या बढ्दै गएपछि उनी परीक्षण गर्न अस्पताल पुगे । परीक्षणबाट कुनै समस्या पत्ता लागेन । दुखाइ धेरै बढेपछि उनी अस्पताल नै भर्ना भए । अस्पतालमा अल्ट्रासाउन्ड, इन्डोस्कोपी, सिटी स्क्यान, एमआरआई सबै गरिसक्दा पनि उनको समस्या पत्ता लागेन ।

करिब एक महिना उनी अस्पताल भर्ना नै भएर बसे । समस्या कम नभएपछि उनी काठमाडौं आए । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उनले ग्यास्ट्रोलोजिस्टलाई भेटेर आफ्नो सबै रिपोर्ट देखाए । चिकित्सकले उनलाई एक पटक दुखाइ विशेषज्ञसँग भेट्ने सल्लाह दिए सल्लाहअनुसार उनले त्यही अस्पतालका दुखाइ विशेषज्ञलाई भेटे । चिकित्सकले उनको जाँच गरे मांसपेशी दुखाइ भएको बताए । मांसपेशी दुखाइको उपचार गरेपछि उनको पनि अवस्थामा सुधार भएको छ ।

****

मांसपेशीको दुखाइले पनि अहिले धेरैलाई दु:ख दिइरहेको छ । जुनसुकै उमेरका व्यक्तिलाई सताउन सक्ने यो समस्या पहिचान गर्न नसकेर अन्य स्वास्थ्य समस्या पो हो कि भनेर बिरामीहरू अलमलिने गरेको दुखाइ विशेषज्ञ डा. अनुजजंग रायमाझी बताउँछन् ।

डा. अनुजजंग रायमाझी

‘पेट र पेटभित्रको अंगको दुखाइ छुट्याउन गाह्रो हुन्छ । नेपालमा सबैभन्दा बढी देखिने समस्या ग्यास्ट्रिककै हो । त्यही भएर पेटको दुखाइ हुँदा सबैभन्दा पहिले पेट तथा कलेजो रोग विशेषज्ञलाई नै भेट्नु उचित हुन्छ,’ उनी भन्छन्, ‘तर कतिपय अवस्थामा पेट दुखाइ ग्यास्ट्रिकको अन्य लक्षणसँग मिल्दैन भने मांसपेशीको दुखाइ पनि हुनसक्छ । तर बिरामीलाई लक्षण छुट्याउन गाह्रो हुनसक्छ । यस्तोमा इन्डोस्कोपी गर्दा पनि केही समस्या देखिएन भने त्यो मासुको दुखाइ हुनसक्छ ।’

मांसपेशीको दुखाइमा साधरणतया पेटको मांसपेशीको दुखाइ बढी मात्रामा देखिन्छ । मासु करङको बीच भागदेखि तल्लो पेटसम्म यस्तो दुखाइ हुने डा. रायमाझी बताउँछन् ।

‘मांसपेशीको दुखाइ मुख्यतया ग्यास्ट्रिकको दुखाइसँग झुक्किने गरेको पाइन्छ । महिलामा दुखाइ तल्लो पेटतिरको मांसपेशीमा भयो भने पाठेघरको समस्या हो कि भनेर पनि झुक्किन सक्छ । यस्तोमा सबैभन्दा पहिले ग्यास्ट्रोलोजिस्ट र प्रसूति तथा स्त्रीरोग विशेषज्ञलाई नै भेट्नु उचित हुन्छ । त्यहाँ केही समस्या देखिएन भने मासुको दुखाइ पो हो कि भनेर दुखाइ विशेषज्ञलाई भेट्न सकिन्छ,’ उनी भन्छन् ।

‘मांसपेशी दुखाइको कारण यही नै हो भन्ने छैन । तर मासु जति धेरै प्रयोग भयो त्यति नै दुख्छ उदाहरणका लागि, हामी हाइकिङ गयौं भने खुट्टाको मांसपेशी धेरै दिनसम्म दुख्छ,’ डा. रायमाझी भन्छन् ‘त्यस्तै खोक्दा, भारी बोक्दा, आगो बाल्न फुक्दा, कब्जियत हुँदा दिसा पास गर्न बल गर्दा, धेरै भारी व्यायाम गर्दा पेटको मासु प्रयोग हुन्छ । जसले गर्दा पेटको मासु खुम्चिएको हुन्छ । निरन्तर खुम्चिराख्दा त्यहाँको मासुमा दुखाइ हुने गर्छ ।’

मासुको  विशेषता तन्किने भएकाले तन्किएको हिसाबले त्यो खुम्चिन्छ । योगा गर्ने मान्छेहरूमा मांसपेशीको दुखाइ कम हुने उनी बताउँछन् ।

सिभिल अस्पतालमा मात्र एक जना पेट तथा कलेजो रोग विशेषज्ञको रिफरमा हप्तामा चारदेखि पाँच जना मांसपेशी दुखाइका बिरामी आउँछन् भने देशभरमा यो समस्या धेरै हुनसक्छ ।

पेट दुखेर ग्यास्ट्रिकको उपचार गर्दा, इन्डोस्कोपी गर्दा त्यसको रिपोर्ट नर्मल आयो भने त्यसपछि दुखाइ विशेषज्ञलाई भेट्न सकिन्छ । त्यसपछि मांसपेशीको दुखाइ हो कि होइन भनेर जाँच गरिन्छ । मासुको दुखाइ रहेछ भने उपचारपछि निको हुने डा. रायमाझी बताउँछन् ।

‘यसमा क्रोनोस्कोपी, सिटी स्क्यान, एमआरआई गर्नुपर्दैन । यसले बिरामीको आर्थिक भार पनि कम हुन्छ,’ उनी भन्छन् ।

पेटको दुखाइ ग्यास्ट्रिक मात्र नभएर कहिलेकाहीं मांसपेशीको दुखाइ पनि हुनसक्छ । त्यसैले बिरामीले त्यसलाई छुट्याएर उपचार गरेमा सहज हुने डा. रायमाझी बताउँछन् ।

ग्यास्ट्रिक पेट दुखाइ स्वास्थ्य समस्या
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?