+

काभा नेसन्स लिग : घरेलु मैदानमा उपाधि उचाल्ने जोस

२०८१ साउन  १५ गते १६:१८ २०८१ साउन १५ गते १६:१८
काभा नेसन्स लिग : घरेलु मैदानमा उपाधि उचाल्ने जोस

१५ साउन, काठमाडौं । नेपाली महिला भलिबल टिमले १७ साउनदेखि घरेलु मैदानमा काभा नेसन्स लिग खेल्दैछ । नेपालसहित श्रीलंका, इरान, भारत र माल्दिभ्स सहभागी हुने प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्ने नै हो ।

कप्तान अरुणा शाही भन्छिन्, ‘हाम्रो लक्ष्य त पक्कै पनि फाइनल खेल्ने हो । नेपालमा सार्वजनिक भएको ट्रफी आफैंले राखौं भन्ने हो ।’

नेपाली टोलीले काभाकै तयारीस्वरुप गत हप्ता रुसी टोलीसँग दुईवटा अभ्यास खेल खेलेको थियो । दुबै खेलमा नेपाल सोझो सेटमा पराजित भए पनि विश्कै बलियो मानिने रुससँगको खेलले धेरै कुरा सिकाएको खेलाडी र प्रशिक्षक बताउँछन् । डेढ महिनासम्म अभ्यास गरेको र रुससँग भएको मैत्रीपूर्ण खेलबाट आफूहरुको खेल सुधार भएको कप्तान शाही बताउँछिन् ।

काभा नेसन्स लिगकै लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । त्यसपछि १५ दिनअघि १४ सदस्यीय टोली घोषणा गरेर अभ्यास गरिएको छ ।नेपालले सन् २०१९ र २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कप (काभा नेसन्स लिग) को उपाधि जितेको थियो ।

सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद र २०२३ मा काभा वुमन्स च्यालेन्ज कपमा नेपाल भारतसँग पराजित भएको थियो । २०२३ मा काभा वुमन्स च्यालेन्ज कपमा काजाकस्तानसँगको हारका कारण नेपाल तेस्रो हुन पुगेको थियो ।

नेपालले प्रतियोगिता सुरु हुनुभन्दा १ हप्ता अघि रुसी टोलीसँग खेलेको मैत्रीपूर्ण खेल गल्ती सुधार्ने र आत्मविश्वास बढाउने अवसर बनेको प्रशिक्षक जगदिश भट्टले बताए ।’हामीले काभाको १ हप्ताअघि रसियन टिमसँग मैत्रीपूर्ण खेल खेल्न पाउँदा हामीलाई सच्चिने मौका भएको छ । खेलाडीहरुको आत्मविश्वास पनि बढेको छ’, उनले भने ।

प्रतियोगितामा सहभागी टिममध्ये माल्दिभ्स र श्रीलंकालाई नेपालले पराजित गर्दै आएको छ । भारतसँग भने लगातारजसो पराजित हुँदै आएको छ । नेपालले भारत र इरानलाई आफ्नै स्तरको टोली मानेको छ ।

प्रशिक्षक जगदिश भट्ट नेपाली खेलाडीको मनोबल उच्च भएको र रुससँगको मैत्रीपूर्ण खेलबाट गल्ती सच्याउने अवसर पाएकाले घरेलु मैदानमा उपाधि जित्ने सम्भावना रहेको बताउँछन् ।

‘भारत भन्नेबित्तिकै कमजोर मानसिकता बनाउने हाम्रो खेलाडीको मनोविज्ञानमा पनि सुधार आएको छ । त्यो निकै सकारात्मक पक्ष हो । घरेलु मैदानमा विगतका कमी कमजोरी सच्याई हामी उपाधि जित्छौं भन्ने विश्वास प्रशिक्षकका रुपमा मलाई छ’, उनले भने ।

खेलाडीमा जितको भोक

नेपाली महिला भलिबल टिमकी सिनियर आउट साइट हिटर सरस्वती चौधरी यस पटक टिममा धेरै सुधार आएका कारण सकारात्मक नतिजा आउनेमा आशावादी छिन् । ‘तयारी राम्रो भइरहेको छ । पहिलेको कमी कमजोरी सुधारेका छौं । आशा छ राम्रो नतिजा आउँछ’, उनले भनिन् ।

त्यस्तै, युवा स्पाइकर उषा भण्डारी पनि फाइनलमा भारतसँग लगातार ब्यहोर्दै आएको पराजय यस वर्ष तोडिने दाबी गर्छिन् । ‘हामी भारतसँग २ पटक चुकिसक्यौं तेस्रो पटक चाहिँ हामीले जसरी पनि जित्नुपर्छ भनेर तयारी गरिरहेका छौं’, उनले भने ।

रुसी टोलीसँग खेल्दा नेपाली टोलीमा डिफेन्स, रिसिभ र ब्लकमा समस्या देखिएको थियो । मैत्रीपूर्ण खेलपछि तिनै समस्यामा केन्द्रित भएर सुधार गरेको सरस्वती बताउँछिन् ।

नेपालले इरानसँग यसअघि सन् २०१७ मा माल्दिभ्समा वुमन्स वल्र्ड भलिबल च्याम्पियनसिपको छनोट खेल खेलेको थियो । त्यो बेला नेपालले इरानसँग २५-१२, २५-१२ र २५-११ मा को इरानसँग ३-० ले पराजित भएको थियो। लामो समयपछि खेल्न लागेकाले पछिल्लो इरानी टिमबारे नेपाललाई जानकारी छैन ।

‘इरान र भारतबीच एभीसी च्यालेन्ज कपमा दुई महिनाअघि खेल भएको थियो । त्यसमा भारतले दुवै खेल सोझो सेटमा जितेको थियो । त्यो भएर त्यही टिम आयो भने त्यति फरक भने पर्दैन’, कप्तान शाहीले भनिन् ।

नेपाली खेलाडीहरु त्यही खेलको भिडियो हेरेर इरानी टिमबारे जानकारी लिइरहेको छ । ‘हामीले इरानसँग खेल्न नपाए पनि भारतसँग खेलेको २ महिनाअघिको खेल हेरेका छौं’, प्रशिक्षक भट्टले भने ।

घरेलु समर्थक नेपालका लागि बलियो पक्ष

नेपालको राष्ट्रिय खेल भलिबलका समर्थक धेरै छन् । भलिबल प्रतियोगिता हुँदा घरेलु समर्थकले दशरथ रंगशालाको कभर्ड खचाखच भरिने गर्छ । नेपाली टिमलाई पनि घरेलु समर्थकको अगाडि खेल्दा निकै जोस आउने अरुणा बताउँछिन् ।

‘हाम्रो भारतको र इरानको स्तर एउटै एउटै खालको हो । अब हामी जति पनि खेलिरहेका छौं । हामीले राम्रो प्रतिस्पर्धा भारतलाई दिँदै आएका थियौं। त्यसकारण हामी त्यसकै लागि मेहनत गरिरहेका छौं । होम ग्राउन्डमा समर्थक छन् । घरेलु मैदानको फाइदा उठाउने तरिकाले हामी तयारी गरिरहेका छौं’, कप्तान शाहीले भनिन् ।

प्रशिक्षक जगदिश भट्ट पनि घरेलु समर्थकलाई निराश नबनाउने तयारीमा छन् । यसो त भारतीय राष्ट्रिय टिमका खेलाडीहरु नेपालको मोफसलको प्रतियोगिता खेल्न आउने गरेकाले उनीहरुको बलियो र कमजोर पक्षबारे नेपाली खेलाडी जानकार छन् ।

‘भारतका राम्रा खेलाडीहरु हाम्रो मोफसलका प्रतियोगिता खेल्न आइरहेका छन्, हाम्रो विभागीय टिमले हराइरहेको पनि छ । यसले हाम्रो पनि भलिबलको स्तर बढेको छ’, उनले भने ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

घरेलु मैदान नेपाली टोली महिला भलिबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय