+
+
फलोअप :

फर्जी कागजात बनाएर मानव तस्करी गरेको अभियोगमा समीर लामा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १७:५४

१५ साउन, टोकियो । जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अवैध रुपमा जापानमा नेपाली भित्र्याउने समीर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका लामाले फर्जी कागजात बनाएर २३ जनाको भिसा आबेदन दिएको र लाखौँ रुपैयाँ असुल गरेको समाचार अनलाइनखबरले यसअघि नै प्रकाशित गरिसकेको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले लामालाई पक्राउ गरेर अनुसनधान सुरु गरेको हो । ब्युरोका एक प्रहरी अधिकृतले भने, ‘अहिले पीडितहरु हाम्रो सम्पर्कमा आउनु भएको छ । पीडितले जाहेरी दर्ता गराएपछि हामी अपराधको प्रकृति अनुसारको मुद्दा चलाउने छौँ।’

प्रारम्भिक अनुसन्धान अनुसार उनलाई मानब बेचबिखन, कागजात किर्ते, मानव तस्करी लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीको भनाइ छ । लामाले एनआरएनए जापानको लेटरप्याड र जापानको ओसाकास्थित अमर लामाले सञ्चालनमा ल्याएको एक कम्पनीको कागजात दुरुपयोग गरी नेपालीलाई जापान भित्र्याएका थिए ।

लामाले बनाएको फर्जी कागजातमा एनआरएनए जापान र जिल्ला सहकारी संघ लिमिटेड काठमाडौँको आयोजनामा जापनमा सेमिनार हुन लागेको उल्लेख गरिएको छ ।

भिसा आवेदन दिएकाहरु ट्राभल एजेन्सिका मान्छे हुन् :  समीर लामा

एनआरएनको कागजात दुरुपयोग गरेरे समीर लामा जापान भित्रिएको विषय बाहिरिएसँगै लामाको खोजी कार्यमा एनआरएनए जापान सक्रिय थियो । एनआरएनए जापानले गत बिहीबार लामालाई जापानको ओसाकाबाट टोकियो ल्याइ पत्रकार सम्मेलनसमेत गरेको थियो ।

पत्रकार सम्मेलनमा लामाले एनआरएनए जापान र ओसाकास्थित एक कम्पनीको कागजात दुरुपयोग गरी जापानमा नेपाली भित्र्याएको स्वीकारेका थिए । उक्त कार्यमा ‘जापानबाट तपाईलाई कसको सहयोग छ ?’ भन्ने पत्रकारको प्रश्नमा समीरले सबै काम आफू एक्लैले गरेको बताएका थिए ।

पत्रकार सम्मेलनमा समीरले नेपालीलाई जापान भित्र्याउनका लागि आवश्यक कागजात बनाउन काठमाडौँको धुम्बाराहीमा रहेको ड्रिम ट्राभल र ठमेलमा रहेको अर्किड ट्राभलले सहयोग गरेको बताएका थिए ।

उनले ट्राभल एजेन्सी सञ्चालनको नाम भने खुलाएका थिएनन् । ‘भिसा आवेद दिएकाहरु मेरा मान्छे होइनन्, ट्राभलले मान्छे कलेक्सन गर्छ’ समीर लामाले भने, ‘उनीहरुको टिकट खर्च, होटल खर्च म गर्छु । त्यो वापत ट्राभलबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँ पाउँछु । जापानमा मेरो धेरै जनासँग चिनजान छ भनेर ट्राभल एजेन्सिले म मार्फत् पठाउनु भएको हो ।’

लामाले जापान भित्र्याएका र भित्रिन लागेका २३ जना जापानमा अबैध रुपमा काम गर्न नभएर ‘भिजिट प्रोफाइल बनाउन’ लागि मात्र आउन लागेको जिकिर गरेका थिए । लामाले उनीहरुबाट प्रतिव्यक्ति १७ लाख रुपैयाँसम्म लिएको पीडितले जनाएका छन् ।

यति ठूलो रकम बुझाएर भिजिट प्रोफाइलका लागि मात्र कोही पनि जापान नआउने लामो समय जापान बस्दै आएका जानकारहरु बताउँछन् । यसरी अवैध रुपमा जापान आउनेहरु शरणार्थीको आबेदन दिने र केही समय जापान बस्ने उद्देश्यले आउने गरेका छन् ।

विमानस्थलबाटै भाग्न खोजेका थिए समीर 

एनआरएन जापानको रोहबरमा लामालााई नेपाल पठाउने पकृयामा लामा बिमानस्थलबाटै भाग्न खोजेका थिए । गत शुक्रबार (जुलाई २७ तारिख) बोर्डिङ पास पश्चात लामा विमानस्थलबाट भाग्न खोजेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले अनलाइनखबरलाई बताए ।

‘भाग्न खोजेको सूचना विमानस्थलका कर्मचारीले हामीलाई दिएसँगै लामाको उक्त दिनको उडान रद्द गरेका थियौँ’ अध्यक्ष निउरेले भने । यस पश्चात एनआरएनए जापानले लामालाई सोमबार (२९ तारिख) पुनः नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाएको थियो ।

संस्थाको नाम र संस्थामा आबद्ध पदाधिकारीको नामको दुरुपयोग गरी फर्जी कागजात बनाएको भन्दै एनआरएनए जापानले यसअघि नै सिआईबिमा उजुरीसमेत दिइसकेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले बताए ।

जापानमा अपराधिक गतिविधिमा नेपालीको संलग्नता रहेको विषय बाहिरिए पनि जापानस्थित नेपाली राजदूतावासले भने कुनै पनि सहयोग नगरेको एनआरएनए अभियानकर्मीले गुनासो गरे ।

एक एनआरएनए अभियानकर्मी भन्छन्, ‘हामीले लामालाई नेपाल फर्काउनका लागि पहल र सहकार्य गरिदिन राजदूत स्वयम्लाई अनुरोध गर्दा पनि कुनै सहयोग पाएनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?