+

ओलम्पिक प्रतिस्पर्धापछि एलेक्स भन्छन् : राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु

२०८१ साउन  १५ गते १९:०२ २०८१ साउन १५ गते १९:०२
ओलम्पिक प्रतिस्पर्धापछि एलेक्स भन्छन् : राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु

१५ साउन, काठमाडौं । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउदा खुशी लागेको बताएका छन् ।

पेरिस ला डिफेन्स एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्सले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले यसअघि कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा आफैंले राखेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् ।

‘कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु । यो मेरो लागि पनि राम्रो हो’, एलेक्सले भने, ‘म अझ चाँडै जान चाहन्थे तर यो पनि राम्रो हो र म खुशी छु ।’

एलेक्सले यस वर्ष आफूलाई नयाँ प्रशिक्षकले प्रशिक्षण गरिरहेको र धेरै राम्रो सहयोग गरिरहेको बताए ।

एलेक्सले १०० मिटर फ्रिस्टाइलमा तेस्रो हिटमा प्रतिस्पर्धा गरेका थिए । जहाँ ८ खेलाडीमा तेस्रो स्थानमा रहेपनि एलेक्स अघिल्लो चरणमा भने पुग्न सकेनन् ।

यस इभेन्टमा कूल ७९ खेलाडी सहभागी भएकामा एलेक्स समग्रमा ५९औं स्थानमा छ । हिटमा उत्कृष्ट टाइमिङ निकालेका १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए ।

नेपाली चर्चित पौडी खेलाडी सोफियाका भाइ एलेक्स ५० मिटर फ्रिस्टाइलमा पनि २३.७९ सेकेण्डको राष्ट्रिय कीर्तिमानधारी हुन् ।

एलेक्सको यो दोस्रो ओलम्पिक हो । सन् २०२१ मा जापानमा भएको टोकिया २०२० मा उनले ओलम्पिकमा डेब्यु गरेका थिए । जहाँ उनले पौडीकै गौरिका सिंहसँगै उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपालबाट पौडीमा लगातार दुई ओलम्पिक खेल्ने एलेक्स तेस्रो खेलाडी हुन् । यसअघि प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिका सिंहले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।

नेपालबाट म्याराथन धावक वैकुण्ठ मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा सहभागिता जनाएका छन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।

एलेक्सले दक्षिण कोरियाको ग्वाङ्जुमा सन् २०१९ मा भएको विश्व पौडी च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरेका थिए । जहाँ उनले ५० र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।

अमेरिकाको न्यूयोर्क बस्दै आएका एलेक्सले अमेरिकामै पेरिस ओलम्पिकको लागि तयारी गरेर पेरिस पुगेका थिए । अब उनी न्यूयोर्क जाने एलेक्सले जानकारी दिए ।

न्यूयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्स फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझाओमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्ससंग ३ विश्व च्याम्पियनसिप खेलेको अनुभव छ ।

एलेक्सले अब १४ औं साग, एसियन इन्डोर गेम्सहरु आइरहेकोले त्यसमा केन्द्रित हुने बताएका छन् । ‘अब भविष्यमा हेरम के हुन्छ । १४ औं साग एसियन इन्डोर गेम्स आउँदैछ । कलेजमा अझ एक वर्ष बाँकी छ । मैले सुधार गरिरहेको छु । त्यसमा खुशी छु’, उनले भने ।

एलेक्सले कीर्तिमान सुधार गरेपछि आफूलाई सहयोग गर्ने परिवार, प्रशिक्षक, पौडी परिवार र सरोकारवाला सम्पूर्णलाई धन्यवाद दिँदै दिए ।

पेरिस ओलम्पिकमा एलेक्ससहित ५ खेलाडीको चुनौती समाप्त भइसकेको छ । अब ब्याडमिन्टनका प्रिन्सको समूहको अन्तिम चरणको खेल र एथ्लेटिक्समा सन्तोषी श्रेष्ठको म्याराथन स्पर्धा मात्र बाँकी छ । सन्तोषी मंगलबार पेरिस गएकी छन् ।

एलेक्स शाह ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय