+
+

वैदेशिक रोजगार बचतपत्र : धेरै बेखबर, थाहा हुनेलाई बेवास्ता

वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै डेढ दशकयता निरन्तर निष्कासन हुँदै आएको वैदेशिक रोजगार बचतपत्रमा भने न्यून आकर्षण रहँदै आएको छ ।

विजय पराजुली विजय पराजुली
२०८१ साउन १५ गते २०:४९

१५ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जाने ८७.५० प्रतिशत नेपालीलाई ‘वैदेशिक रोजगार बचतपत्र’ बारे जानकारी नै नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूको सेयर बजारमा उच्च आकर्षण छ । धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा वैदेशिक रोजागरीमा रहेकालाई आरक्षण दिने गरिएको छ ।

यस्तो आईपीओमा वैदेशिक रोजगारीमा रहेकाको उच्च आकर्षण देखिन्छ । तर, वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै डेढ दशकयता निरन्तर निष्कासन हुँदै आएको  वैदेशिक रोजगार बचतपत्रमा भने न्यून आकर्षण रहँदै आएको छ ।

यसको प्रमुख कारण उनीहरूलाई वैदेशिक रोजगार बचतपत्रबारे जानकारी नै नहुने गरेको उक्त अध्ययनले देखाएको हो । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागको वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपाय सम्बन्धी अध्ययन प्रतिवेदन सर्वेक्षणले उक्त तथ्य देखाएको हो ।

अध्ययनका लागि राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३ सय ८५ नेपालीसँग  स्थलगत सर्वेक्षण गरेको थियो । यस्तै  वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनी वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न इजाजत लिएका  १४ बिक्री एजेन्टसँग पनि कुराकानी गरेको थियो ।

उक्त सर्वेक्षणले वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ८७.५ प्रतिशतलाई वैदेशिक रोजगार बचतपत्रबारे जानकारी  नै  नरहेको  र १२.५ प्रतिशतलाई मात्रै  जानकारी रहेको पाइएको हो ।

वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रेमिट्यान्स बैंकिङ प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र विदेशमा रहेको पूँजी आकर्षित गरी अर्थतन्त्रमा समग्र साधन परिचालन स्तर बढाउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न थालिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

निक्षेपभन्दा उच्च ब्याजदर दिएर आकर्षण

सरकारले वैदेशिक रोजगार बचतपत्रलाई आकर्षक बनाइ बढीभन्दा बढी ऋण परिचालन गर्ने उद्देश्यले यस्तो बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्ष बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरको तुलनामा उच्च ब्याजदर प्रदान गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दती निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म बढी रहेको  देखिएको छ ।

तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित परेको देखिँदैन । नागरिक बचतपत्रभन्दा १ प्रतिशत बिन्दुले वैदेशिक रोजगार बचपत्रमा थप ब्याज प्रदान हुँदै आएको छ । तर, पनि वैदेशिक रोजगार बचतपत्रमा आकर्षण देखिँदैन ।

‘वैदेशिक रोजगार बचतपत्रको ब्याजदर तुलनात्मक रूपमा आकर्षक हुने गरेको छ । सरकार र राष्ट्र बैंकले यस्तो बचतपत्रको प्रचार–प्रसार बढाउन रोजगारीमा पठाउने निकाय र कूटनीतिक नियोगहरूलाई समेत परिचालन गर्दै आएको छ,’ अध्ययन प्रतिवेदनमा छ, ‘तर, सरकारले हरेक वर्ष बचतपत्र निष्कासका  लागि आह्वान गर्ने र आह्वान गरिएको रकमको न्यून अंशमात्र बिक्री हुने प्रवृत्ति देखिएको छ ।’

नेपालबाट करिब ५५ लाख नेपाली भारत बाहेक देशमा रोजगारीमा छन् । तिनको तुलनामा सीमित व्यक्तिको मात्र वैदेशिक रोजगार बचतपत्रमा लगानी रहेको देखिएको प्रतिवेदनमा छ ।

वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन ब्याजदर तुलनात्मक रूपमा उच्च हुनुका साथै यस्तो बचतपत्र आवश्यकता अनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिने व्यवस्था छ ।

तर, यसको बिक्री अनुपात धेरै नै निराशाजनक देखिन्छ । आव २०६६/६७ देखि २०७९/८० सम्म २५ पटकमा १५ अर्ब ५६ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा जम्मा ७६ करोड २३ लाख अर्थात् ४.९ प्रतिशतमात्र बिक्री भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारको उद्देश्य नागरिकलाई बचत गर्न प्रोत्साहन गर्ने र बैंकिङ माध्यमबाट रेमिट्यान्स ल्याउन प्रोत्साहन गर्नु मात्रै नभई सरकारले आन्तरिक ऋण परिचालनको वैकल्पिक औजार पनि खोजेको  थियो ।

राष्ट्र बैंकको उक्त अध्ययन प्रतिवेदनले पनि यो कुरा स्वीकार गरेको देखिन्छ । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण परिचालन गर्दा सहज र लागत प्रभावी भए पनि सरकारले बैंक तथा वित्तीय संस्थाको साधन अत्यधिक उपयोग गर्न थालेमा निजी क्षेत्र जाने कर्जा संकुचन (क्राउडिङ आउट) हुने सम्भावना रहन्छ,’ प्रतिवेदनमा छ, ‘राज्यले नागरिकबाट ऋण उठाउँदा लागत बढ्न सक्छ तर नागरिकको बचत प्रोत्साहित हुने देखिन्छ ।’

वैदेशिक रोजगार बचतपत्र मात्रै नभएर सरकारले २०४० सालदेखि आन्तरिक ऋण परिचालनमा प्रयोग गर्दै आएको ‘राष्ट्रिय बचतपत्र’ समेत प्रभावकारी हुन सकेको छैन ।

आव २०७५/७६ देखि राष्ट्रिय बचतपत्र बन्द गरेर ‘नागरिक बचतपत्र’ नामको अर्को औजार प्रयोग हुँदै आए पनि त्यसमा समेत अपेक्षाकृत आकर्षण छैन ।

‘विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ,’ अध्ययन प्रतिवेदनमा छ ।

राष्ट्र बैंकले अध्ययन मार्फत वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने/नचाहने कारण र प्रवर्द्धनका उपाय विश्लेषण गरेको जनाएको छ ।

त्यसका लागि तीन प्रकारका सर्वेक्षण सम्पन्न भएको छ । केन्द्रीय बैंकले वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३ सय ८५ नेपालीसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेन्टसँग इमेल सर्वेक्षण गरेको हो ।

काठमाडौंका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफन्टा नाकामा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ती नेपालीसँग स्थलगत सर्वेक्षण गरेकने थियो ।

जसमध्ये करिब ३० प्रतिशत पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेको र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रकारे जानकारी रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

 पछिल्लो पाँच वर्षको मुद्दती निक्षेपको ब्याजदर र वैदेशिक रोजगार बचतपत्रको ब्याजदर

आर्थिक वर्ष वैदेशिक रोजगार बचतपत्रको ब्याजदर मुद्दती निक्षेपको ब्याजदर
२०७६/७७ १० ९.९९
२०७७/७८ १० ९.७९
२०७८/७९ १२.५ १०.१५
२०७९/८० (पहिलो) १२.५ १०.३१
२०७९/८० (दोस्रो) ११ १०.३१

जानकारी भए पनि खरिद गर्दैनन् बचतपत्र

वैदेशिक रोजगारीमा जानेमध्ये जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको देखिएन । सर्वेक्षणमा सहभागी कसैले पनि वैदेशिक रोजगार बचतपत्र खरिद गरेको पाइएन ।

वैदेशिक रोजगार बचतपत्रबारे जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकम अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेका छन् ।

८ प्रतिशत रेमिट्यान्स औपचारिक माध्यम बाहिर

राष्ट्र बैंकले अध्ययन क्रममा गरेको सर्वोक्षणले करिब ८ प्रतिशत रेमिट्यान्स अझै पनि अनौपचारिक माध्यमबाट आउने गरेको देखाएको छ ।

सरकार र राष्ट्र बैंकले विगतदेखि विप्रेषण आय बैंकिङ प्रणालीबाट भित्र्याउन गरिरहेको प्रयासको परिणाम ९२.२ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा समावेश वैदेशिक रोजगारीमा रहेका २ सय ७० व्यक्तिमध्ये ९२.२ प्रतिशतले विप्रेषण आय बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनी मार्फत नेपाल पठाएको बताएका छन् । यसमध्ये ७.८ प्रतिशतले मात्र साथी मार्फत विदेशी मुद्रा पठाएको उल्लेख गरेका छन् ।

अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

वैदेशिक रोजगार बचतपत्रको सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार बढाउनुका साथै बचतपत्रलाई डिम्याट गर्ने र ब्याजदर बढाउनुपर्ने सर्वेक्षणले देखाएको छ ।

‘वैदेशिक रोजगार बचतपत्रबारे जानकारी भएका जम्मा ४८ व्यक्तिमध्ये २९.२ प्रतिशतले ब्याज छिटो पाउने भए र ५६.२ प्रतिशतले ब्याज रकम बैंक खाता मार्फत सिधै पाउने व्यवस्था भए यस्तो बचतपत्र खरिद गर्ने उल्लेख गरेका छन्,’ सर्वोक्षणका आधारमा तयार पारिएको प्रतिवेदनमा छ, ‘यसमध्ये १४.६ प्रतिशतले भने खरिद प्रक्रिया सजिलो भए बचतपत्र खरिद गर्ने उल्लेख गरेका छन् । त्यस्ता कुल ४८ व्यक्तिले वैदेशिक रोजगार बचतपत्रको सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार बढाउनुका साथै बचतपत्रलाई डिम्याट गर्ने र ब्याजदर बढाउने कार्यले बचतपत्र आकर्षक हुने उल्लेख गरेका छन् ।’

वैदेशिक रोजगार बचतपत्र प्रवद्र्घनका लागि बिक्री एजेन्टका प्रतिनिधिबाट बचतपत्रको ब्याज भुक्तानी बैंक खाता मार्फत गर्नुपर्ने, ब्याजदर बढाउनुपर्ने, डिम्याट गर्नुपर्ने र प्रचार–प्रसारमा जोड दिनुपर्ने सझाव आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बजार निर्माता, बिक्री एजेन्ट, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, म्यानपावर कम्पनी र रेमिट कम्पनी लगायतसँग अन्तर्क्रिया गरेको हो । अन्तक्र्रिया कार्यक्रममा सहभागीले वैदेशिक रोजगार बचतपत्रबारे प्रचार–प्रसार नपुगेको, खरिद–बिक्री विधि र पद्दति झन्झटिलो भएको, म्यानपावर कम्पनीलाई प्रचार–प्रसारमा संलग्न गराउन नसकिएको लगायत कारण यस्तो बचतपत्र रोजगारीमा जाने व्यक्तिको आकर्षण बन्न नसकेको बताएका हुन् ।

फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत छोटो भिडियो क्लिप मार्फत प्रचार–प्रसारमा तीव्रता दिने, बचतपत्र खरिद–बिक्री पूर्णरूपमा विद्युतीय माध्यमबाट हुने बनाउने र बचतपत्र खरिदको आवेदन दिँदा कागजात सजिलोसँग अपलोड हुने व्यवस्था मिलाउने अध्ययनको सुझाव छ ।

त्यस्तै रोजगार बचतपत्र बिक्री गर्ने व्यवस्था सीडीएससी प्रणालीको मेरो सेयरमा आईपीओ खरिद प्रक्रिया अनुरूप बनाउने, म्यानपावर कम्पनीको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगार बचतपत्रको जानकारी दिने व्यवस्था मिलाउने, वैदेशिक रोजगार व्यवस्थापनमा संलग्न निकाय म्यानपावर कम्पनी, राहदानी कार्यालय र वैदेशिक रोजगार विभागको बडापत्रमा वैदेशिक रोजगार बचतपत्रबारे जानकारी गराउने, बिक्री एजेन्टलाई नियमित तालिम प्रदान गर्ने, वर्षभरि वा आह्वान गरिएको बचतपत्र बिक्री नभएसम्म बिक्री खुला राख्ने जस्ता व्यवस्था गर्न उपयुक्त हुने सुझाव छन् ।

अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रभावकारी बनाउन नीतिगत, प्रक्रियागत सुधारका साथै प्रचार–प्रसारमा जोड दिने तथा अभिमुखीकरण तालिम र अन्तर्क्रिया आवश्यक रहेको औंल्याइएको छ ।

नीतिगत सुधार

– वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुका साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउन आवश्यक छ ।

– वैदेशिक रोजगार बचतपत्रको खरिद–बिक्री प्रक्रिया पूर्णरूपमा अनलाइन माध्यमबाट गर्न सक्ने व्यवस्था मिलाउनुका साथै विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न सक्ने व्यवस्था मिलाउने र रोजगारीको गन्तव्य मुलुकमा वैदेशिक रोजगार बचतपत्र खरिदमा बन्देज लगाइए श्रम सम्झौता मार्फत सम्बोधन गर्ने ।

– नेपाल सरकारले सबै नेपाली नागरिकका लागि नागरिक बचतपत्र र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएकोमा सबै नेपालीका लागि एकै प्रकारको र समान ब्याजदरको बचतपत्र निष्कासन गर्ने तर गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बचतपत्र खरिदमा थप प्रोत्साहित गर्न विनिमयदर मार्फत सहुलियत दिने व्यवस्था मिलाउने ।

– सरकारले बजेट घाटा परिपूर्तिका लागि बचतपत्र निष्कासन गर्ने व्यवस्था रहेकोमा आगामी वर्षहरूमा मुलुकको सर्वाधिक महत्त्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने व्यवस्था मिलाउने ।

प्रक्रियागत सुधार

– बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने ।

– बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाउने ।

– हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागि मात्र आह्वान हुने गरेको छ । यस्तो बचतपत्र आर्थिक वर्षको सुरुमा निष्कासन गर्ने र आह्वान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने ।

– भारतीय श्रम बजारबाट फर्किने कामदारलाई लक्षित गरी नेपाल–भारतका मुख्य नाका नजिक रहेका मनिचेन्जरलाई समेत बचतपत्रको सूचना तथा बिक्री केन्द्रका रूपमा विकास गर्ने ।

प्रचार–प्रसारमा जोड दिने

– सामाजिक सञ्जालमा वैदेशिक रोजगार बचतपत्रको व्यापक प्रचार–प्रसार गर्ने ।

– वैदेशिक रोजगार विभाग वा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिको इमेल र मोबाइल प्राप्त गरी बचतपत्र निष्कासन विवरण व्यक्तिलाई उपलब्ध गराउने ।

– नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कूटनीतिक नियोग मार्फत वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने ।

– नेपालमा विप्रेषण रकम मूलरूपमा रेमिट्यान्स कम्पनीका माध्यमबाट भित्रिने गरेकाले ती कम्पनीहरूको माध्यमबाट समेत वैदेशिक रोजगार बचतपत्रको लगानीबारे जानकारी प्रवाह गर्ने ।

– रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्क मार्फत वैदेशिक रोजगार बचतपत्रको फाइदा सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराइ प्रचार–प्रसार गर्ने ।

अभिमुखीकरण तालिम र अन्तरक्रिया

– रोजगारीमा जाने व्यक्तिका लागि आयोजना गरिने अभिमुखीकरण तालिममा वैदेशिक रोजगार बचतपत्रको जानकारी अनिवार्य बनाउने ।

– वैदेशिक रोजगार विभाग, म्यानपावर कम्पनी, विदेशस्थित कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ–संगठनमा वैदेशिक रोजगार बचतपत्रको अद्यावधिक जानकारी नियमित पठाउने ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?