+
+

मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ६:२८

१६ साउन, विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।

मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् ।

उनीमाथि उर्लाबारी– ५  स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।

घटनापछि तामाङ फरार छन् । दाहालको हत्यामा उनकै संलग्नता रहेको प्रहरीको दाबी छ ।

तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए ।

मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तामाङले नै छुरा प्रहार गरेको देखिएको छ ।

अपराधिक पृष्टभूमिका तामाङले २०७१ सालमा साथीको ढुंगाले हानेर हत्या गरेका थिए । प्रहरीका अनुसार २०७१ असोज ८ गते राति उर्लाबारी २ का नविन राईको तामाङले हत्या गरेका थिए ।

मंगलबार बेलुका साढे ६ बजे आफ्नै घरमा आएका  दाहालमाथि छुरा प्रहार गरेका तामाङले ८ असोज २०७१ राति  घर नजिकै बाटोमा राईलाई ढुंगाले हानेर हत्या गरेका थिए ।

तामाङले राईको हत्या गर्दा मोरङका प्रहरी उपरीक्षक कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए । तत्कालीन प्रहरी निरीक्षक कार्कीले नै गरेको अनुसन्धानका आधारमा तामाङमाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायपछि उनी केही महिनाअघि मात्रै छुटेका थिए ।

‘त्यसबेला मैले नै अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दा चलाएको थिए, कैद भुक्तान गरी ३–४ महिनाअघि मात्रै छुटेको रहेछ,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘यो घटनापछि उनी फरार छन्, खोजी जारी छ ।’

अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएका थिए । मंगलबार दाहालसँगै अन्य युवकपनि उनको घरमा पुगेका थिए । के कारणले छुरा प्रहार गरे भन्ने खुलिसकेको छैन ।

घटनाअघि सामान्य विवाद भएको देखिएको प्रहरीले बताएको छ । प्रहरीले दाहालसँगै तामाङको घरमा गएका युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?