+
+

देशभर रातभर वर्षा, काठमाडौं उपत्यकामा बाढी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ६:३६

१६ साउन, काठमाडौं । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ । त्यसपछिको धेरै वर्षा सिन्धुपाल्चोकको मानेखर्कमा १२७ मिलिमिटर रेकर्ड भएको छ ।

काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरुमा मध्यमदेखि भारी वर्षा भएकाले खोला तथा नदीहरुमा बाढीको सतह खतराको तहसम्म पुगेको छ । त्यसैले विभागले एसएमएस पठाएर र सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेर खोला किनारको बाटोमा यात्रा नगर्न र आज बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

यो समाचार तयार पार्दासम्म मनोहरा, हनुमन्ते, गोदावरी, खोकनास्थित बागमती नदीमा बाढीको सतहले खतराको तहसम्म पुगेको छ ।

बागमती नदीकै गौरीघाट बाढी मापन केन्द्रमा भने बाढीको सतह घट्दै गएको देखिएको छ । सिन्धुलीको कमला नदीमा पनि बाढी घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहेकाले ती क्षेत्रमा हुनसक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?