+
+

च्यासलको पुलमाथिबाट बाढी बग्यो, बागमती करिडोर डुबानमा

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ साउन १६ गते ८:०३

१६ साउन, काठमाडौं । रातभर परेको वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुर्‍याएको छ । बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो ।

ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो ।  अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ ।

इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।

कालिमाटी तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ ।

भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरुमा मध्यमदेखि भारी वर्षा भएकाले खोला तथा नदीहरुमा बाढीको सतह खतराको तहसम्म पुगेको थियो । त्यसैले जल तथा मौसम विज्ञान विभागले एसएमएस पठाएर र सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेर खोला किनारको बाटोमा यात्रा नगर्न र आज बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

बागमतीसहित मनोहरा, हनुमन्ते, गोदावरीमा बाढीको सतह खतराको तहसम्म पुगेको थियो । बागमती नदीकै गौरीघाट बाढी मापन केन्द्रमा भने बाढीको सतह घट्दै गएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?