
काठमाडौं । हास्य कलाकार किरण केसी वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्ने संस्था इको केयर प्रालिको व्यावसायिक दूतमा नियुक्त भएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षका लागि ‘राता मकै’ दूतमा नियुक्त भएका हुन् ।
उक्त कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी इँट्टा उत्पादन गर्दै आएको छ । जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्री रुपमा इँट्टा उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ ।
पत्रकार सम्मेलनमा अभिनेता केसीले डेढ महिना अध्ययन गरेर मात्रै आफू व्यावसायिक दूत बन्न तयार रहेको बताए । ‘यस्तो प्रकारको इँट्टाले वातावरण संरक्षणमा पनि भूमिका खेल्ने देखियो । अध्ययनपछि मात्र म एम्बेसडर बन्न तयार भएको हुँ,’ उनले भने ।
विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने ।
प्रतिक्रिया 4