+
+

बागमती बाढीको चपेटामा सधैं पर्ने बल्खु तरकारी बजार

बागमतीका सहायक नदीहरूमा पानीको बहाब बढ्ने बित्तिकै बागमतीको निशानामा बल्खु तरकारी बजार पर्ने गरेको छ । मंगलबार रातिको अविरल वर्षाले बल्खु खोलाको बहाब बढ्दा बल्खु तरकारी बजार डुब्यो, जसबाट तरकारी व्यवसायीले करोडौंको क्षति बेहोरे ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ साउन १६ गते १८:५५

१६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा हुँदा प्रायः यहाँका नदीमा पानीको बहाब उच्च हुन्छ । जसको असर नदी किनाराका बस्तीसँगै बल्खु तरकारी बजारमा पर्न जान्छ ।

उपत्यकाभित्र बग्ने हनुमन्ते, मनोहरा, गोदावरी, मनमती, विष्णुमती, धोबीखोला, टुकुचा लगायत सहायक नदी बागमतीमा मिसिएर बल्खु पुग्दा ठूलो रूप लिन्छ ।

मंगलबार राति भारी वर्षा हुँदा यी नदीमा पानीको बहाब उच्च हुन गयो । यसको प्रत्यक्ष असर नदी किनाराका बस्ती र बल्खु तरकारी बजारमा पर्न गयो । बाढी बागमती करिडोर क्षेत्रका सडकमा समेत पस्दा आवागमन समेत प्रभावित हुन गयो ।

विज्ञहरूका अनुसार भारी वर्षापछि सहरमा बग्ने पानी सोस्ने खाली जमिन कम हुँदा वर्षाको पानी सिधै नदीहरूमा पुग्दा बहाब उच्च हुने गर्दछ ।

बागमतीका सहायक नदीहरूमा पानीको बहाब बढ्ने बित्तिकै बागमतीको निशानामा बल्खु तरकारी बजार पर्ने गरेको छ ।

मंगलबार रातिको अविरल वर्षाले बल्खु खोलाको बहाब बढ्दा बल्खु तरकारी बजार डुब्यो, जसबाट तरकारी व्यवसायीले करोडौंको क्षति बेहोरे ।

बल्खु तरकारी बजार डुब्दा व्यवसायीका तरकारी, जिन्सी लगायत सामग्रीमा क्षति पुगेको तरकारी बजार समितिले जनाएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारीसाधन समेत पल्टाएको थियो ।

वर्षेनि डुब्छ बल्खु

‘भारी वर्षा हुने बित्तिकै बल्खु तरकारी बजारदेखि सुन्दरीघाटसम्म डुबान परिहाल्छ । यो सधैं बर्खामा हुने समस्या हो । पानीको बहाब बढ्दा अन्त डुबान मात्रै भए पनि यहाँ भने बाढीले क्षति नै पुर्‍याउँछ,’ काठमाडौं महानगर प्रहरी बल विपद् तथा उद्धार शाखाका प्रहरी निरीक्षक प्रकाश पण्डित भन्छन् ।

बल्खु तरकारी बजार र यस आसपास ७ फिटसम्म डुबान हुँदा नदी टहराहरू बगाउने गरेको उनी बताउँछन् ।

बल्खु तरकारी बजारभित्र हिलो सहित बाढी छिर्दा धेरै क्षति हुने गरेको पण्डितले बताए ।

‘बल्खु तरकारी बजार बागमती नदीभन्दा ४–५ फिट मात्रै उचाइमा छ । बागमती नदीमा बहाब ४ फिट बढ्ने बित्तिकै बाढी तरकारी बजारमा पस्छ, त्योभन्दा बढी भए पूरै डुबान भएर क्षति हुन्छ,’ पण्डितले भने ।

बल्खु तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक रामकृष्ण कुँवरका अनुसार बल्खु तरकारी बजार डुब्न थालेको चार वर्ष भइसकेको छ ।

‘सन् २०२१ भन्दा पहिले बल्खु तरकारी बजार डुबेको थाहा थिएन, पछिल्लो चार वर्षदेखि लगातार तरकारी बजार डुबिरहेको छ । २०२४ मा दुई पटक तरकारी बजार डुबिसकेको छ । जसबाट व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको छ,’ कुँवरले अनलाइनखबरसँग भने, ‘तरकारी बजारमा बाढी पसेर क्षति हुने गरेपछि केही व्यवसायी पलायन हुने अवस्थामा छन् ’

१ असोज २०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बल्खु तरकारी बजार उद्घाटन गरेका थिए । जहाँ ५ सय ५० स्टल सञ्चालनमा छन् ।

मंगलबार रातिको बाढीले तरकारी बजारभित्रका सबै स्टल डुब्दा झन्डै ३ करोड रुपैयाँ बराबरको क्षति भएको कुँवर बताउँछन् ।

‘तरकारी बजार मात्रै होइन, यहाँ खाद्यान्न, बिउबिजन, फलफूल स्टल पनि छ । अहिले औसतमा प्रतिस्टल ५० हजार रुपैयाँको क्षति भएको हाम्रो अनुमान छ,’ उनले भने ।

कुँवर राज्यकै कारण तरकारी बजार डुब्ने गरेको आरोप लगाउँछन् ।

‘पहिले बागमती नदीबाट बालुवा झिक्न दिने गरिन्थ्यो, अहिले रोकिएको छ । जसका कारण बालुवाको तह माथि आउँदा नदीको बहाब बढ्ने बित्तिकै बजारमा पस्ने नै भयो,’ कुँवरले भने ।

बागमती नदी अतिक्रमणको चपेटामा पर्दा साँघुरिन पुगेको र यसैले समस्या बढेको कुँवर बताउँछन् ।

बागमतीको फैलावट ८० मिटरभन्दा धेरै हुनुपर्ने हो । तर, बागमती करिडोरमा भौतिक संरचना बन्दा त्यो खुम्चिएर ४० मिटर मात्रै बाँकी हुँदा समस्या भएको हो । यसको प्रत्यक्ष असर तरकारी बजारमा पर्न गएको छ,’ कुँवरले भने ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको निष्कर्ष पनि कुँवरकै जस्तो छ । बागमती नदीको ‘वाटर वे’ आवश्यकताभन्दा कम रहेको समितिको ठम्याइ छ । जसको असर नदी किनाराका बस्ती, करिडोरका संरचना एवम् बल्खु तरकारी बजारमा पर्न गएको हो ।

बागमती सभ्यताले गरेको हाइड्रोलोजिकल इन्जिनियरिङ अध्ययन अनुसार विष्णुमती दोभान तथा त्यसभन्दा तल्लो तटीय क्षेत्रमा वाटर वे न्यूनतम ८० मिटर हुनुपर्ने मापदण्ड सरकारले तोकेको छ ।

तर, सरकारले तोकेभन्दा वाटर वे आधा कम अर्थात् ४० मिटर मात्रै छ । बल्खुको हकमा पनि वाटर वे आवश्यकता भन्दा कम हुँदा तरकारी बजार डुबानमा पर्ने गरेको समितिका प्रवक्ता उद्धव नेपालले बताए ।

‘नदीको फैलावट खुम्चिँदा पानीको बहाब ओभरफ्लो भएर होचो भागमा पस्ने नै भयो । बल्खु तरकारी बजारमा पनि नदीको बहाब बढेर डुबानमा परेको हो,’ उनले भने ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?