+
+

ह्वीलचेयरबाट उठेर रामनारायणको विश्व कीर्तिमान यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:३१

१६ साउन, काठमाडौं । दाङ लमहीका १९ वर्षका रामनारायण चौधरीको गोडा कमजोर भए पनि आत्मविश्वास बलियो छ । त्यही आत्मविश्वासका कारण उनी हातले मात्र टेकेर गरिने पुसअप ‘प्लान्च पुस अप’ मा नयाँ विश्व कीर्तीमान कायम गर्ने तयारीमा छन् ।

जर्जियाका नागरिक तैमुर दडियानीको रेर्कड तोडेर एक मिनेटमा सबैभन्दा धेरै प्लान्च पुस अप गरेर कीर्तिमान राख्ने चौधरीले बताए ।

आत्मविश्वासले कीर्तिमानसम्म

रामनारायणको जन्मदैदेखि गोडा कमजोर थिए । हुर्कदै जाँदा उनका गोडाहरु बांगिदै गए । डाक्टरले गोडाको हड्डी धेरै नै कमजोर भएको बताएका थिए । विस्तारै गोडाका हड्डीहरु पनि भाँचिन थाले । ‘सामान्य लड्दा पनि हड्डीहरु भाँचिन्थे’ उनले भने, ‘हड्डी टुट्दा टुट्दा खुट्टाको सन्तुलन बिग्रिदै गयो र हिँडडुल गर्न पनि नसक्ने भए ।’ ११ वर्षको उमेरदेखि भने उनी ह्वीलचेयरको सहारामा पुगे ।

सानै उमेरमा शारीरिक अशक्तता व्यहोर्नुपर्दा रामनारायण एकदमै विक्षिप्त भए । आफन्त र साथीभाइले हेँलाहोचो गर्थे । उनले विगत सम्झिँदै भने, ‘त्यो बेला मलाई बाँच्नुको अर्थ छैन जस्तै लाग्थ्यो ।’ धेरै वर्षसम्म उनमा निराशाका बादलहरु मडारिरहे ।

यसरी कति दिन रोएर बिताउने, उनले केही उपाय खोजे । बिहान उठेर हातले गर्न सक्ने ब्यायाम गर्न थाले । ‘म उभिन पनि सक्दिनथेँ, मैले गर्न सक्ने धेरैथोक थिएन’, रामनारायणले भने, ‘हातचाहिँ चल्थ्यो । हातले सक्ने जति ब्यायामहरु दिनहुँ गर्न थालेँ ।’

एक वर्षसम्म नियमित व्यायामले शरीरमा केही शक्ति बढेको र मानसिक रुपमा पनि बलियो भएको उनलाई महसुस भयो । त्यसपछि ह्वीलचेयर छाडेर वैशाखी टेकेर हिँड्न थाले । दिमागमा नकारात्मक सोचाइ आउन छाड्यो । ‘सकारात्मक कुराहरु बढी सोच्न थाले’, उनले भने, ‘मैले गर्न नसक्ने भन्दा गर्न सक्ने कुरातिर घोत्लिदै गएँ ।’

ब्यायामले उनीभित्रको आत्मविश्वास पनि बढायो । ‘खुट्टा गुमे पनि अरु त गर्न सक्छु नि’ भन्ने सोचाइ आउन थाल्यो ।

उनले अपांगता भएका व्यक्तिले गरेका अद्भूत कामहरु इन्टरनेटमा खोजी गरे । एकदिन उनले जर्जियाका दुवै खुट्टा नभएका व्यक्तिले ‘प्लान्च पुस अप’ अर्थात हातले मात्र टेकेर गरिने पुसअपबाट गिनिज बुक अफ वल्ड रेर्कड बनाएको थाहा पाए । जुन पुसअपको अभ्यास उनी आफैं पनि गरिरहन्थे ।

जर्जियाली नागरिकले एक मिनेटमा ३६ पटक प्लान्च पुसअप गरेर गिनिज बुक अफ वल्ड रेर्कड कायम गरेका थिए । उनी त्यसलाई तोड्न चाहन्थे । उनले घरमा नियमित अभ्यास गर्न थाले ।

गत वैशाख १५ गते काठमाडौंको गुह्येश्वरीस्थित बागमती पार्कमा भएको एक खेलकुद कार्यक्रममा उनले विश्व कीर्तिमानका लागि प्लान्च पुसअप गरे । त्यहाँ दुई जना विदेशी प्रशिक्षक साक्षी राखेर नयाँ रेकर्ड बनाउन लागे । एक मिनेटमा उनले ३७ पटक प्लान्च पुस अप गरेर नयाँ रेर्कड बनाए । उनले जर्जियाली नागरिक ले भन्दा एक पटक बढी गरेका हुन् ।

प्राविधिक गल्ती नभएमा उनले नयाँ विश्व कीर्तिमान बनाउनेछन् । तर अहिलेसम्म गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई मान्यता दिन बाँकी छ । उनले नयाँ विश्व रेर्कड बनाएको दाबी गर्दै वैशाख २० गते नै गिनिज बुक अफ बोल्ड रेर्कडमा सबै विवरणहरु बुझाएका छन् ।

‘प्राविधिक गल्ती भएको रहेनछ भने पुरानो रेर्कड ब्रेक भएको छ’, उनले भने, ‘सबै कुरा राम्रो भा‘छ । नयाँ विश्व कीर्तिमान कायम हुन्छ भन्नेमा विश्वस्त छुँ ।’

यो काम अपाङ्गता भएका व्यक्तिको आत्मविश्वास बढाउनका लागि गरेको बताउँछन् । ‘अपाङ्गता हुँदैमा जिन्दगी सकिँदैन भन्ने उदाहरण दिन चाहन्छु’ उनले भने, ‘निराशामा बाँचेका मजस्तै साथीहरुलाई थोरै भए पनि केही हौसला दिन सकुँ भनेर लागेँ ।’

अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र होइन, खेलाडीहरुलाई पनि आफ्नो कीर्तिमानले प्रेरणा मिल्ने रामनारायण बताउँछन् । ‘अपाङ्गता भएका व्यक्तिले यति गर्न सक्छ भने खेलाडीहरुले किन गर्न नसक्ने ?’, उनले भने ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?