+
+

५ वर्ष जेल बसेर छुटेपछि फेरि अपराध, घरमै बोलाएर युवकको हत्या

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन १६ गते १९:४९
हत्या आरोपमा पक्राउ परेका सुवास तामाङ ।

१७ साउन, विराटनगर । ज्यान मुद्दामा जेल परेका र कैद माफी मिनाहा पाएर छुटेका एक व्यक्तिबाट मोरङमा फेरि अर्को हत्या भएको छ ।

मंगलबार राति मोरङ उर्लाबारीका २४ वर्षीय कुशल दाहालको हत्या आरोपमा उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुवास तामाङ पक्राउ परेका छन् । उर्लाबारी ४ का दाहाललाई आफ्नै घरमा लगेर तामाङले छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार ८ असोज २०७१ मा साथीको हत्या गरेपछि पक्राउ परेका तामाङलाई १० वर्ष कैद सजाय तोकिएको थियो । तर उनी २०७६ सालको गणतन्त्र दिवशमा छुटेका थिए ।

त्यसको एक वर्ष नबित्दै उनी ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परे । ८ भदौ २०७७ मा उनलाई जिल्ला अदालत मोरङबाट दुई वर्ष ६ महिना कैद सजाय भयो । सोही वर्ष ब्राउन सुगर कारोबारको कसुरमा तीन महिना कैद सजाय भएको थियो । ब्राउन सुगरको फैसला हुँदा उनी ज्यान मार्ने उद्योगको मुद्दामा सजाय काटिरहेका थिए ।

सजय भुक्तानपछि छुटेका उनी २४ असोज २०८० मा जिल्ला अदालतको आदेशपछि धरौटी बुझाउन नसकेर कारागार चलान भए । भोलिपल्ट एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

मंगलबार आफ्नै घरमा आएका कुशलको हत्यापछि फरार भएका उनी बुधबार दिउँसो पक्राउ परेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

दाहालको मंगलबार साँझ हत्यापछि फरार तामाङलाई बस चढेर भाग्दै गर्दा सुन्दरहरैंचा नगरपालिका–४ दुलारीबाट प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

तामाङले अन्य युवाहरुको सहयोग लिएर दाहाल र उर्लाबारी–४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर आफ्नो घरमा लगेका थिए ।

उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिक रहेको घरमा उनी एक्लै बस्थे । घरमा पुगेपछि मोबाइल चोरेको आरोपमा आक्रमण गर्दै छुरा प्रहार गरेका थिए । प्रहरीले तामाङसँगै रहेका अन्य स्थानीय युवाहरुको पनि खोजी गरिरहेको छ ।

तामाङको आक्रमणबाट गम्भीर घाइते भएका दाहाललाई आचार्यले नै सीटी सफारीमा राखेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्‍याएका थिए । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापा बिर्तामोडको बीएन्डसी अस्पताल लगियो । बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पटके अपराधी

ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरेपछि छुटेका तामाङ पटक पटक अपराधिक घटनामा संलग्न भएका छन् । ८ असोज २०७१ मा उनले आफ्नै घर अगाडि उर्लाबारी–२ का नवीन राईको हत्या गरेका थिए । सो मुद्दामा जिल्ला अदालत मोरङले तामाङलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

तर तत्कालीन जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले २७ माघ २०७१ मा गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाइदियो ।

उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश कुमारप्रसाद पोखरेल र शिवराज अधिकारीको संयुक्त इजलासले २९ भदौ २०७३ मा तामाङलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । १० जेठ २०७५ मा सर्वाेच्चले उच्चको फैसला सदर गरेको थियो ।

जिल्लाको फैसला उल्टिएर तीन तहको अदालतबाट मुद्दा किनारा लागेपछि २०७६ सालमा गणतन्त्र दिवशमा उनले आधा सजाय (पाँच वर्ष) माफी मिनाहा पाएर छुटेका थिए । त्यसपछि पनि उनी पटक पटकको घटनामा पक्राउ परेका प्रहरीले बताएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?