+
+

केरलापछि हिमाचल र उत्तराखण्डमा पनि पहिरो कम्तिमा ५० जना बेपत्ता

केदारनाथ यात्रा नगर्न सरकारको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १३:४३

१७ साउन, काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ ।

हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् ।

यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

हिमाचल प्रदेश सरकारका एक मन्त्री जगत सिंहले सिमला जिल्लाको सरपारा गाउँमा मात्रै ३६ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

कुल्लु क्षेत्रको मलाणा हाइड्रोपावरको बाँध भत्किएको छ । सडक पनि भत्किएकाले सम्पर्क टुटेको छ । निरमण्डमा चारवटा पक्की पुल र २५ भन्दा बढी कच्ची पुल भत्किएका छन् ।

बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । सरकारको आपतकालीन बैठक पनि बोलाइएको छ ।

उत्तराखण्डमा पनि पहिरो, केदारनाथको यात्रा नगर्न आह्वान

यसैबीच भारतको उत्तराखण्डमा पर्ने प्रसिद्ध धार्मिक क्षेत्र केदारनाथ र रुद्रप्रयाग पनि बुधबार रातिको भारी वर्षाका कारण बाढी–पहिरोले प्रभावित भएको छ । सरकारले केदारनाथको यात्रा नगर्न सबैलाई आह्वान गरेको छ ।

सोनप्रयाग, भीमबली लगायतका स्थानमा पुग्ने बाटो बन्द भएको छ । ठूलाठूला ढुंगासहितको पहिरो खसेर बन्द भएका सडक खुलाउने प्रयास जारी छ ।

बाटो बन्द भएकाले करिब २०० तिर्थयात्री भीमबलीका होटलहरुमा रोकिन बाध्य छन् । प्रहरीले रुद्रप्रयाग पुगिसकेका यात्रीहरुलाई त्यहीँ सुरक्षित रुपमा बस्न अनुरोध गरेको छ ।

केरलाको वायनाडमा मृतकको संख्या १७८ पुग्यो

केरलाको वायनाड जिल्लामा गत सोमबार र मंगलबार अति भारी वर्षासँगै आएको बाढीपहिरोले विपत्ति निम्तिएको छ । बिहीबार अध्यावधिक तथ्यांकअनुसार वायनाडको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १७८ पुगेको छ ।

मृतकमध्ये ८१ पुरुष, ७१ महिला र २६ बालबालिका छन् । ८ हजार ६ सयभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई विभिन्न ८८ अस्थायी शिविरमा राखिएको छ ।

वायनाडको बाढी प्रभावित क्षेत्रमा कयौं व्यक्ति बेपत्ता छन् । त्यहाँ अहिले पनि खोजी कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?