+

नाकबाट रगत बग्ने समस्यालाई हल्का लिनु हुँदैन

२०८१ साउन  १७ गते १७:४६ २०८१ साउन १७ गते १७:४६
नाकबाट रगत बग्ने समस्यालाई हल्का लिनु हुँदैन

नाकबाट रगत बग्ने समस्या लिएर अस्पताल आउनेको संख्या बाह्रै महिना उत्तिकै रहन्छ । ६० प्रतिशत मानिसले आफ्नो जीवनकालमा नाकबाट रगत बग्ने समस्या भोगेका हुन्छन् ।

नाकबाट रगत बगेको केही समयमा रोकिएन भने अवस्था गम्भीर हुनसक्छ । किनकि यो समस्या सामान्यदेखि लिएर गम्भीर समस्याको संकेत पनि हो ।

त्यसैले यो समस्या कतिको जटिल वा सामान्य हो भनेर अनुमान लगाउनुको सट्टा नाकबाट रगत बगेमा अस्पताल लैजानु नै उचित हुन्छ ।

रगत नाकको कुन भागबाट आउँछ ?

नाकको माथिल्लो भागमुनि सेप्टम नामक कुरकुरे हड्डी हुन्छ । त्यो हड्डीको अगाडिपट्टि पाँचवटा रगतको नसा गुजुल्टिएर बसेको हुन्छ । यस्ता नसा संवेदनशील हुनुका साथै पातलो झिल्लीले ढाकिएको हुन्छ । कुनै कारणवश यस्ता झिल्ली फाटेर नसामा क्षति भएमा फुटेर रगत आउँछ ।

नाकबाट रगत आउने कारण सामान्यदेखि गम्भीर हुनसक्छ ।

चोटपटक : नाकमा चोटपटक लाग्नुमा सानोदेखि ठूलो दुर्घटना पनि हुनसक्छ । जस्तो कि बच्चाहरूमा धेरै नाक कोट्याउने बानी हुन्छ । नाक कोट्याउँदा नसामा घोचेमा नसा फुटेर रगत बग्न सक्छ । त्यस्तै, कतै लड्दा वा सडक दुर्घटनामा पर्दा कुरकुर हड्डीमा प्वाल पर्दा पनि रगत आउँछ ।

जुनसुकै उमेर समूहले पनि सिंगान फाल्न बल लगाएर सिं सिं गर्दा पनि थेग्न नसक्ने दबाब परी नसा फुटेर रगत आउँछ ।

ंक्रमण : पिनास, एलर्जीका कारण रुघाखोकी बढी लाग्ने गर्छ । यस्तोमा नाक पनि टालिन्छ । जबरजस्ती सिंगान तान्न वा फाल्न खोज्दा रगतको नसामा असर गरी रगत बग्न सक्छ ।

साथै, संक्रमणबाट नाकमा पुगेको हानिकारक जीवाणुले पनि नाकको झिल्लीलाई असर गरिरहेको हुनसक्छ ।

मौसम परिवर्तन : जाडोबाट गर्मी र गर्मीबाट जाडो मौसम सुरु हुनै लाग्दा यस्तो समस्या बढी देखा पर्छ । यस्तो समयमा नाकको रक्तनली पातलो भइदिन्छ र रगत बाहिर निस्किन्छ ।

बाहिरी वस्तु छिर्नु : बच्चाहरू खेल्ने क्रममा गहुँ जस्ता अन्नको दाना, कागज, इरेजरको टुक्रा नाकमा छिरेर आफैं निकाल्न खोज्दा घाउ भएमा पनि यो समस्या हुने गर्छ । गाउँघरतिर धाराको पानी अञ्जुलीमा लिएर खाँदा नाकमा जुका छिरेमा पहिला थाहा नहुने तर परीक्षणमा हेर्दा जुकाले रगत खाने समस्या लिएर पनि अस्पताल आउने केसहरू भेटिन्छन् ।

जाडो मौसम : सामान्यतया, चिसो मौसममा नाकको माध्यमद्वारा भित्र जाने हावाले नाकभित्र रहेको झिल्लीलाई सुक्खा बनाएमा नाक पोल्न तथा नाकको भित्री भागमा बेस्सरी चिलाउन थाल्छ । जसले गर्दा नाकबाट रगत बग्न थाल्छ ।

गर्मी मौसम : गर्मीयाममा तातो हावा बहन्छ । यसले पनि नाकका रक्तनलीलाई सुक्खा पार्छ । नाक सुक्खा भइरहँदा त्यहाँका कोषिकहरु फुट्न सक्छ ।

यी बाहेक नाकको कुरकुरे हड्डी बाँगिएर, क्यान्सरका कारण नाकभित्र मासु पलाउनु, अत्यधिक उचाइमा जाँदा पनि वातावरणमा परिवर्तन भई नाकले सहन नसकेर रगत आउँछ ।

नेजल थेर्‍यांक्समा समस्या हुँदा पनि रगत देखा पर्छ । नाक र घाँटीसँग जोडिएको भागलाई नेजल थेर्‍यांक्समा भनिन्छ । बच्चाहरूमा सो भागमा मासु पलाएमा वा क्यान्सर भएमा रगत आउन सक्छ ।

शरीरको अन्य भागमा समस्या भएमा पनि रगत आउन सक्छ । जस्तै, मुटुको भल्बमा खराबी, रगत पातलो बनाउने औषधि, दुखाइ कम गर्ने औषधि लामो समयदेखि लिंदा, उच्च रक्तचाप र गर्भावस्थामा नाकबाट रगत आउन सक्छ ।

ब्लड क्यान्सर, लहरेखोकी, दादुरा, महिनावारी, कलेजोसम्बन्धी समस्या र मिर्गौलाको समस्या भएमा रगत आउन सक्छ । कहिलेकाहीं कुनै कारणविनै रगत आउन सक्छ ।

घरमै गर्न सकिने प्राथमिक उपचार

सुरुमा रगतको मात्रा पहिल्याउन सकिन्छ । रगत थोरै आएको छ भने त्यसलाई रोक्न प्रयास गर्न सकिन्छ । त्यसका लागि बूढी औंला र चोर औंलाले नाक च्याप्प पारेर नाक बन्द गरी मुख खोलेर अगाडिपट्टि ढल्किएर बस्नुपर्छ । लामो सास तानेर पाँच मिनेटसम्म बस्नुपर्छ । यति गर्दा सामान्य चोटपटक लागेको छ भने आफैं निको हुन्छ । पाँच मिनेट भन्दा बढी समय लाग्दा पनि रगत कम भएन भने तत्काल अस्पताल लैजानुपर्छ ।

रगत आएपछि शिर ठाडो पार्नु हुँदैन

नाकबाट रगत आएपछि शिर ठाडो पारेर रोकिन्छ भन्ने गलत भ्रम छ । यस्तो गरेमा नाकबाट बगेको रगत श्वासनली हुँदै फोक्सोमा पुग्न सक्छ । जसकारण सास फेर्न समेत कठिन हुन जान्छ ।

उपचार

रगत नरोकिएको बिरामी अस्पताल पुग्दा उसको पहिला कुर्सीमा आरामसँग बस्न लगाइन्छ । त्यसका लागि रगत आएको क्षेत्र र कारण पत्ता लगाउनुपर्छ ।

कारण जे होस्, पहिला नाकको कुन भागबाट रगत बगिरहेको छ भनेर हेरेर नाक र घाँटीको परीक्षण र रक्तचाप परीक्षण गर्दैगर्दा यसको नियन्त्रणतर्फ चाँडो भन्दा चाँडो लागिन्छ । बच्चामा रगत बगिरहेको छ भने नाकको अगाडि रगत आएको हुन्छ । चोटपटक लागेको अवस्थामा भने नाकको अगाडि भागबाटै रगत बग्छ ।

त्यस्तै, पाको व्यक्तिमा प्राय: पछाडिबाट रगत बग्छ । यस्तामा अगाडिबाट रगत आएमा नियन्त्रण गर्न सहज हुन्छ भने पछाडिबाट रगत आएमा नियन्त्रण गर्न कठिन पर्छ । यसको उपचारमा गर्नुपर्ने मुख्य भनेको रगत रोकाउनु हो । किनकि उच्च रक्तचापमा अत्यधिक रगत बग्यो र नियन्त्रण गर्न सकिएन भने ज्यान नै जान सक्छ ।

नसाबाट रगत बगेको पहिचान भएमा कटरी भन्ने केमिकल हुन्छ । त्यो नसामा राखिन्छ । त्यसले भएन भने एक मिटर जति रिवनगज हालिन्छ । त्यसपछि ४८ घण्टासम्म राखेर हेरिन्छ । त्यसपछि पनि रगत भएन भने अर्को ४८ घण्टासम्म राखेर हेरिन्छ । यो विधिबाट ९० प्रतिशत रगत बगेको नियन्त्रण हुन्छ ।

यति गर्दा पनि रगत बगिरहेको अवस्थामा भने नसाको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । जसमा इन्डोस्कोपी विधिबाट हेरेर नसालाई नष्ट गर्ने वा बाँध्नुपर्ने हुनसक्छ ।

नाकबाट रगत आउन नदिन के गर्ने ?

– बालबालिकालाई नाकमा औंला राख्न दिनु हुँदैन भनेर सिकाउने, शिशुलाई पन्जा लगाइदिने गर्नुपर्छ । यसो गर्दा आँखा तथा नाकसम्म औंला पुग्न पाउँदैन ।

– संक्रमणबाट बच्न बाहिर मास्क लगाएर मात्र हिंड्डुल गर्नुपर्छ ।

– बच्चाको सिंगानको रङ र गन्धमा ध्यान दिनुपर्छ । असामान्य खालको परिवर्तन आए चिकित्सकलाई देखाउनुपर्छ ।

– जथाभावी दुखाइको औषधि खान हुँदैन ।

– बल गरेर सिंगान फाल्ने प्रयास गर्नुहुँदैन ।

डा. ओमकार खड्का नाक कान घाँटीरोग नाकबाट रगत
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?