+
+

एमालेमा फेरि काटियो कृष्णगोपालको नाम

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १७ गते १९:५६

१७ साउन, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकबाट पदाधिकारी सहित केन्द्रीय नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले नेताहरुको नयाँ जिम्मेवारी सँगै केही मनोनयन समेत गरेको छ । पार्टी प्रवेश गरेकाहरुसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको एमालेले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा बढुवा गरेको छ ।

यही बैठकले गुरुप्रसाद बराललाई केन्द्रीय उपाध्यक्षमा बढुवा गरेको छ । गत वर्ष सुवास नेम्वाङको निधन भएपछि एउटा उपाध्यक्ष पद रिक्त थियो । त्यही उपाध्यक्ष पदमा बराललाई मनोनयन गरिएको हो ।

यसअघि बराल बागमती प्रदेशका इन्चार्ज थिए । स्थायी कमिटी सदस्यको हैसियतमै बागमती इन्चार्जको जिम्मेवारी पाएका बरालले अहिले एकैपटक उपाध्यक्ष पद पाए ।

एमालेले आमचुनाव हारेकाहरुलाई पार्टीमा मुख्य जिम्मेवारी दिने नीति अन्तर्गत बरालले यो तहको सफलता पाएका हुन् । तर गत २०७९ मंसिरको चुनावमा सिंगो बागमती प्रदेशमै एमालेबाट चार जनाले जित्दा राजधानी शहर काठमाडौंमा पार्टीलाई शून्य हुनबाट जोगाएका कृष्णगोपाल श्रेष्ठले फेरि पनि निराश हुनु परेको छ ।

‘बागमती प्रदेशको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठको चाहना थियो, प्रस्ताव र छलफल पनि भयो । तर निर्णय गर्दा राजन भट्टराई इन्चार्ज बन्नुभयो’, बैठक स्रोतले भन्यो । स्रोतका अनुसार श्रेष्ठलाई बागमती प्रदेशको इन्चार्ज बनाउनुपर्ने प्रस्ताव केही पदाधिकारीले उठाएका थिए ।

श्रेष्ठको चाहना पनि बागमती इन्चार्ज बन्ने नै थियो । एमालेमा अनुभवी नेताहरुमै पर्ने भएकाले उनको चाहना स्वभाविक पनि हो ।

दशौं राष्ट्रिय महाधिवेशन पछि श्रेष्ठले बागमतीको इन्चार्ज पद पाए संगठन बलियो बनाउन भूमिका खेल्ने बताएका थिए । तर त्यसबेला अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका टोपबहादुर रायमाझीलाई बागमतीको इन्चार्ज दिए ।

पार्टी सचिवहरुलाई प्रदेश इन्चार्ज दिने मापदण्ड बनेको थियो । त्यसैले रायमाझी इन्चार्ज बन्दा कसैको आपत्ति भएन । बरु भुटानी शरणार्थी प्रकरणमा रायमाझी आफैं जेल परे ।

त्यसपछि गत वर्ष असारमा नयाँ कार्यविभाजन हुँदा उपाध्यक्षहरुबाट नभए आफूले प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुपर्ने श्रेष्ठको माग थियो । उनको प्रस्तावमाथि छलफल पनि भएको एक पदाधिकारी बताउँछन् । तर ओलीले आफू निकट बराललाई बागमती इन्चार्जको जिम्मा दिँदा श्रेष्ठको नाम काटियो ।

बराललाई बागमती इन्चार्जको जिम्मा दिँदा फरक भूगोलका नेतालाई इन्चार्ज बनाउने मापदण्ड तय गरिएको थियो । अहिले तिनै बराल उपाध्यक्ष बने ।

तर बिहीबारको बसेरा बैठकमा पनि श्रेष्ठको नाम प्रदेश इन्चार्जमा छलफल भएर रोकियो । स्रोतका अनुसार, छलफलमा नेताहरुले उपाध्यक्ष सुरेन्द्र पाण्डे र कृष्णगोपाल श्रेष्ठमध्ये एक जनालाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका थिए ।

यी दुईमध्ये एक जना इन्चार्ज हुँदा पार्टी बनाउने काम प्रभावकारी हुने निष्कर्षमा केही पदाधिकारीहरुबीच कुरा मिलेको थियो । तर पार्टी सचिव रघुवीर महासेठले आफूले मधेश प्रदेशको इन्चार्ज नपाए विदेश विभाग प्रमुख पाउनुपर्ने माग राखे ।

उनको माग पूरा गर्दा राजन भट्टराईलाई व्यवस्थापन गर्नुपर्ने थियो । उपमहासचिव विष्णु रिमालले दुवैलाई व्यवस्थापन गर्ने विकल्प ल्याए, महासेठ विदेश विभाग प्रमुख र भट्टराई बागमती प्रदेश इन्चार्ज । निर्णय पनि त्यही भयो ।

अर्थात् कृष्णगोपाल फेरि स्वास्थ्य तथा जनसंख्या विभागमै रहे । पार्टी जिम्मेवारीमा जस्तै लाभको पदमा पनि उनको नाम काटिने गरेको छ । आम चुनावपछि तीन पटक एमाले सरकारमा गइसक्दा मन्त्री बन्ने उनको पालो आएको छैन ।

गत ३१ असारमा मन्त्री बन्ने सूचीबाट पनि उनी अन्तिम समयमा हटेका थिए । अध्यक्ष ओलीले आफू निकट देबेन्द्र दाहाललाई मन्त्री बनाउँदा पार्टी योगेश भट्टराई, छविलाल विश्वकर्मा, एलपी साँवाहरुसँगै कृष्णगोपाल श्रेष्ठको नाम काटेर नयाँ मन्त्रीको सेट तयार पारिएको थियो ।

श्रेष्ठप्रति आफू सकारात्मक नरहेको सन्देश त ओलीले सार्वजनिक मञ्चबाटै दिएका थिए । केही समय अगाडि राजधानीमा आयोजित एक पार्टी कार्यक्रममा ओलीले कृष्णगोपाल श्रेष्ठलाई चिठ्ठा परेर जितेका टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?