+
+

सत्ताको खेलले सुस्तायो कांग्रेसको पार्टी कार्यक्रम

आम चुनावयता लगातार सरकार बनाउने र भत्काउने खेलमा अल्मलिंदा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि भने प्रभावित बन्दै आएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ साउन १७ गते २०:३५

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका दुई युवा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले मातहतका पार्टी संरचनालाई विधान बमोजिम काम गर्न दुईपटक परिपत्र गरिसके ।

परिपत्रमा मूल दुई विषय समेटिएका छन्, सदस्य नवीकरण/वितरण र कार्य समितिहरुको सम्मेलन । उनीहरूका अनुसार ६ हजार ७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ७७ जिल्ला र ७ प्रदेशलाई सम्मेलनको विधि र प्रारुपसहित पत्राचार गरिएको छ ।

यो परिपत्र विधानकै व्यवस्था बमोजिम गरिएको हो । विधानमा पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिले वर्षमा एकपटक सम्मेलन गर्नुपर्दछ ।

तर कतिपय जिल्लामा अहिलेसम्म एकपटक पनि सम्मेलन भएको छैन । सम्मेलन भएकै जिल्लाहरुको विवरण पनि संकलन भइसकेको छैन । ‘कहाँ कहाँ भयो ? कहाँ कहाँ भएको छैन । बुझ्दैछौं’, केन्द्रीय कार्यालयका सचिव कृष्ण दुलालले भने ।

प्रदेशमध्ये कोशी, कर्णाली र र सुदूरपश्चिमले हालसम्म सम्मेलन गरेका छैनन् । गण्डकी, मधेश र बागमतीमा सम्मेलन भएको छ । कर्णालीका प्रदेश सभापति ललितजंग शाहीले सम्मेलन गर्ने विषयमा छलफल नै भएको बताए । ‘अहिले वर्षाको समय छ । प्रदेश सम्मेलन कहिले गर्ने टुंगो लगाउने अवस्था छैन’, उनले भने ।

सदस्यता नवीकरण र वितरणको अवस्था उस्तै छ । विधानमा महाधिवेशनको वर्ष सदस्यता वितरण र नवीकरण गर्न नमिल्ने व्यवस्था छ ।

तर कांग्रेसले सधैं महाधिवेशनकै वर्ष क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने नियति खेप्दै आएको छ । यसपटक पनि त्यही प्रचलन दोहोरिने संभावना बढेर गएको छ ।

क्यालेण्डर आशिंक कार्यान्वयन

अघिल्लो वर्ष २–१० साउनमा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले महामन्त्री गगन थापाले पेश गरेको एकवर्षे कार्यतालिकालाई अनुमोदन गरेको थियो ।

वर्षभर पार्टीलाई गतिशील बनाउने गरी उनले पार्टीमा वार्षिक क्यालेण्डर ल्याएका थिए । पार्टीका सबै तह क्रियाशील हुने गरी कार्यतालिका ल्याइएको थियो । तर पार्टी केन्द्रीय समितिले पारित गरेका दर्जनौं कार्यक्रम कार्यान्वयन हुन सकने ।

कार्यतालिका अनुसार पोलिसी ह्याकाथन, संगठन सुदृढीकरण अभियान, बीपी साहित्य महोत्सव (भदौ २४, २५, २६ र असोज ३), प्रदीप गिरी स्मृति दिवस पर्छन् ।

पार्टी सुदृढीकरण, सबलीकरण र शुद्धीकरणका लागि गत साउन २० देखि भदौ १ मा अभियान चलाइएको थियो । ७७ जिल्लामा केन्द्रीय तहका नेताहरू खटाएर तल्लो संरचनाको पार्टीको अवस्था बुझ्न पठाइएको थियो ।

गत माघ १६ देखि २६ सम्म तोकिएको समुदायमा कांग्रेस अभियान २३ माघमा स्थगित भएर पुन सञ्चालन हुन सकेन । समुदायमा कांग्रेस अभियानमा शीर्ष तहका सात नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाइएको थियो । भदौ १० देखि २४ गतेसम्मका लागि तय गरेको उक्त अभियान मिति सर्दै माघमा आइपुगेको थियो ।

संस्थापक नेता सुवर्ण शमशेरको स्मृति दिवस पारेर २४ कात्तिकका लागि तोकिएको अर्थनीति सम्बन्धी दुईदिने कन्क्लेभ हुन सकेन । वर्षको मध्यान्तरसम्म कार्यतालिका अनुसार केही मात्रामा चलेको थियो ।

कात्तिक लागेसँगै क्यालेण्डर लागू हुने क्रम स्वात्तै घट्यो । विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समितिको बैठक बस्ने गरी महामन्त्री थापाले गते समेत उल्लेख गरेको कार्यतालिका पनि कार्यान्वयनमा आउन सकेन ।

वार्षिक कार्यतालिका प्रस्तुतकर्ता महामन्त्री थापाले क्यालेण्डर लागू हुन नसकेको स्वीकार्छन् । जाजरकोट भूकम्प र त्यसपछि पार्टी महासमितितर्फ केन्द्रित हुन परेकाले वार्षिक क्यालेण्डर पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन कठिन भएको उनले सुनाए ।

‘जाजरकोट भूकम्पपछि गर्न लागिएको सुवर्ण शमशेर कन्क्लेभ रोक्नुपर्‍यो । त्यसपछि हामी प्रभावितहरुको राहत र आवास व्यवस्थापन तिर लाग्यौं । अनि महासमिति तिर लाग्यौं,’ महामन्त्री थापाले भने, ‘महासमिति बैठकको तयारी र त्यसको प्राथमिकताले गर्दा बनाएको क्यालेण्डर अनुसार काम गर्न पाएनौं ।’ गत कात्तिकको १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाइ भूकम्प गएको थियो ।

तर फागुनमा भएको महासमिति बैठक लगत्तै (२१ फागुनमा) सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसको सबै ध्यान सत्तामै फर्कनेमा केन्द्रित रह्यो । विशेषगरी सहकारी छानविन समितिको माग र तत्कालीन गृहमन्त्रीबाट रवि लामिछानेको राजीनामा माग्दैमा १५ जेठसम्म बित्योे ।

छानविनको माग राखेर कांग्रेसले निरन्तर संसदमा अवरोध गरेको थियोे । संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर सहित १३ जेठमा कांग्रेसले काठमाडौंमा सडक प्रदर्शनमा उत्रियो ।

त्यसविरुद्ध कांग्रेसले १३ जेठमा काठमाडौंमा सडक प्रदर्शन राखेको थियो । त्यसअघि कांग्रेसले भ्रातृ संस्थाहरु संसदीय छानविन समितिको मागका लागि सडकमा उतारेको थियो ।

एक शीर्ष नेता भने सरकारमा जान प्रयत्न गर्ने र सरकारमा गएपछि पार्टी गतिविधि बिसर्ने कांग्रेसमा पुरानै रोग भएको बताउँछन् । ‘एमाले माओवादीको सरकार बनेको थियो । प्रतिपक्षमा बसेर सरकारलाई जवाफदेही बनाउनुपर्ने हो,’ ती नेता भन्छन्, ‘सरकारमा हुँदा संगठनको काम नगरी पार्टी सुत्छ । विपक्षमा रहेर संगठनमा काम गर्ने मौका फेरि चुकायौं ।’

२०७९ को चुनावपछि कांग्रेस दुई पटक सत्तामा जाँदा र फेरि दुईपटक प्रमुख प्रतिपक्ष बनिरहँदा पार्टी गतिविधिले गति लिन नसकेको उनी बताउँछन् ।

बनेन निर्देशक समिति

पार्टीकै जस्तै अवस्था भ्रातृ संस्थाहरुमा छ । भातृ संस्थाहरुलाई महाधिवेशन उन्मुख गराउने उद्देश्यले फरक फरक निर्देशक समिति बनाउने निर्णय गत १७ असारमा भएको थियो ।

त्यस्तो समितिलाई महाधिवेशनको कार्यतालिका निर्माण, विधानमा समयानुकूल परिमार्जन, आन्तरिक समस्याको निकास दिने अधिकार रहने भनिएको छ ।

तर निर्देशक समिति बन्न सकेको छैन । प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, आगामी केन्द्रीय समिति बैठकले निर्देशक समितिका विषयमा निर्णय लिने बताउँछन् ।

‘भ्रातृ संस्थाको अधिवेशनका लागि समन्वय र सहजीकरण गर्नका लागि पार्टीबाट निर्देशक तोकिन्छ,’ विश्वकर्माले भने, ‘निर्देशक समिति कस्तो बनाउने केन्द्रीय समितिले निर्णय लिन्छ ।’ केन्द्रीय समितिको बैठक २३ साउनदेखि बस्ने गरी बोलाइएको छ ।

यस वर्षको अन्त्यसम्ममा सबै भ्रातृ संस्थाले महाधिवशेन गर्ने र त्यसका लागि सहजीकरण र समन्वय निर्देशक समितिले गर्ने पार्टी निर्णयमा उल्लेख छ ।

अपूर्ण पदाधिकारी

वर्तमान कांग्रेस कार्य समितिको कार्यकाल डेढ वर्ष बाँकी रहदासम्म सभापति देउवाले समितिलाई पूर्णता दिन नै सकेका छैनन् ।

निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनित गर्नुपर्ने व्यवस्था छ । कोषाध्यक्ष रिक्त हुँदा पदाधिकारी १४ सदस्यीय छन् ।

४६ सदस्यीय कार्यसम्पादन समिति ३७ सदस्यीय बनेर पूर्णता नपाई अड्किएको छ । १६८ सदस्यीय केन्द्रीय समितिमा दुई जना हालसम्म रिक्त छ । देउवाले लेखा, अनुशासन र निर्वाचन समिति भने गठन गरेका छन् ।

महाधिवेशनको छ महिनाभित्र गठन गर्नुपर्ने विभागमा हालसम्म १७ वटा मात्रै बनेका छन् । ४८ बाट विभाग बढाएर ७० पुर्‍याउने पार्टी निर्णय छ । विभाग गठनको निर्णय लिने अधिकार सभापति देउवालाई छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?