+
+
ओलीले रुचाएका गुरु बराल :

राष्ट्रपति बनाउन चाहेका थिए, उपाध्यक्ष मनोनित गरे

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन १७ गते २१:३६

१७ साउन,विराटनगर । नेकपा एमालेले मोरङका गुरु बराललाई उपाध्यक्ष पदमा मनोनित गरेको छ । सुवास नेम्वाङको निधनपछि रिक्त रहेको पदमा बिहीबार सचिवालयले बराललाई मनोनित गर्ने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीसँग निकट बरालले पार्टीमा पाएको यो पहिलो जिम्मेवारी भने होइन । एमालेमा आफ्नो गुटको सुरुवात गर्न सहयोग गरेका बराललाई ओलीले पटक पटक अवसर दिइरहेका छन् ।

२०७९ को प्रदेशसभा निर्वाचनमा बराललाई मुख्यमन्त्रीको रुपमा अघि सारेर चुनाव लडाउने ओलीको तयारी थियो । मोरङ क्षेत्र नम्बर ६(१) मा जित्ने सम्भावना नभएपछि बराल आफैं पछि हटेको एमालेका जिल्ला नेताहरु बताउँछन् । यो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाईं जीवन आचार्य निर्वाचित भए ।

आमचुनाव लगत्तै एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य भएपछि बराललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारिएको थियो । त्यसबेला एमाले र माओवादीबीच भएको भागवण्डामा राष्ट्रपति र सभामुख एमालेले पाएको थियो । झापाका देवराज घिमिरेलाई सभामुख बनाएका ओलीले बराललाई राष्ट्रपति बनाउन चाहेका थिए ।

तर तत्कालिन प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहयात्रा तोडेर कांग्रेससँग सहकार्य गरेपछि एमालेबाट राष्ट्रपति निर्वाचित हुने सम्भावना समाप्त भयो । यद्यपि एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनायो ।

‘हार्ने निश्चित भएपछि बराललाई ब्याक गरेर सेन्टिमेन्टकै लागि भएपनि सुवास नेम्वाङलाई उम्मेदवार बनाइएको थियो’, एमाले स्रोत भन्छ, ‘उहाँको निधनपछि रिक्त रहेको स्थानमा बरालले अवसर पाउनुभयो ।’

२९ असार २०८० मा एमालेले बराललाई पार्टीको बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । २०३० सालदेखि राजनीतिमा रहेका बराल २०४६ सालको जनआन्दोलनका बेला एमालेको मोरङ जिल्ला सचिव थिए ।

एमालेको वैचारिक नेता मानिने बराल विद्यार्थी राजनीति हुँदै पार्टीको जिल्ला सचिव बनेका थिए । २०५१ सालपछि २०७८ सालसम्म बरालले पाँच वटा चुनाव लडेका छन् । ०५१ बाहेक अन्य चुनाव जितेका छैनन् । २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा बराबरी मत भएपछि गोला तान्दा झापाका गोपाल बस्नेत निर्वाचित भए भने बराल पराजित हुन पुगे ।

२०५१ सालमा मोरङ क्षेत्र नम्बर ६ बाट विजयी भएका बराल २०५६ सालमा सोही क्षेत्रबाट पराजित भए । २०६४ सालको पहिलो संविधासभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ८ बाट उनी माओवादी उम्मेदवार गोपी अछामीसँग पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार दिलिप गच्छदारसँग पराजित भए ।

२०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा टिकटको दाबी गरेपनि ओलीले भानुभक्त ढकाललाई अघि सारे । त्यसबेला ओलीसँग बरालको सम्बन्ध बिग्रिएको थियो । तर बरालले सम्बन्ध सुधार गरेपछि २०७८ सालमा राष्ट्रियसभा निर्वाचनमा कोशीबाट उम्मेदवार बन्ने अवसर पाए ।

२०७९ को स्थानीय र प्रदेशसभा निर्वाचनमा मोरङमा टिकट बाँड्ने जिम्मेवारीमा रहे । २०५४ सालमा उनी कोशी प्रदेशमा टिकट बाँड्ने जिम्मेवारीमा थिए ।

नेताहरुका अनुसार २०४६ देखि २०६४ सम्म पार्टी राजनीतिमा प्रभावशाली रहेका बराल त्यसपछि भने विस्तारै ओझेलमा परेका थिए ।

मोरङको राजनीतिमा ओलीले बराललाई छाडेर विनोद ढकाललाई अघि बढाए । तर गत वर्ष कोशी प्रदेश कमिटीको अधिवेशनमा ढकालले ओलीको निर्देशन नमानेर घनश्याम खतिवडासँग चुनाव लडेपछि ओलीले पुनः बराललाई नै विश्वास गर्न थाले । ‘गुरु बराल कम विनोद ढकालको प्रभाव बढ्दो थियो, तर ढकालले क्रस गरेपछि ओलीले पुन बराललाई नै चेप्नु भयो’, मोरङका एक एमाले नेता भन्छन्, ‘बरालले अवसर पाइरहनुभयो, ढकाल प्रदेश अधिवेशनदेखि किनारा लाग्नुभयो ।’

बराल मदन भण्डारी स्मृति प्रतिष्ठानका संस्थापक हुन् । प्रतिष्ठानबाट ओलीले गुटको राजनीति गर्दा बराल र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दरिलो साथ दिएका थिए ।

२०३१ सालको स्ववियू निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सदस्य निर्वाचित बराल २०४४ सालमा मोरङको सचिव निर्वाचित भए । नेकपा एमाले निकट व्यवसायी गिरेन्द्र कार्कीका अनुसार पाँचौं महाधिवेशनदेखि बराल निरन्तर केन्द्रीय कमिटीमा छन् । १० औं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?