+

क्रिकेटमा नेपालका २० विश्व कीर्तिमान

२०८१ साउन  १८ गते ९:२६ २०८१ साउन १८ गते ९:२६
क्रिकेटमा नेपालका २० विश्व कीर्तिमान

१८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी–२० विश्वकप खेलेको छ ।

खेलाडीको दिनरातको अथक मिहिनेतमा नेपालले अन्तर्राष्ट्रिय जगतमा दिनप्रतिदिन छाप छाडेको छ । नेपालको अबको लक्ष्य एसोसिएट शीर्षदेखि टेस्ट मान्यतासम्म छ । विश्व क्रिकेटमा कहिलेकाहिँ अद्भुत र उत्कृष्ट प्रदर्शनका साथ नेपालले ध्यान आफूतिर तान्ने गर्दछ ।

उत्कृष्ट प्रदर्शन गर्नेक्रममा नेपालले थुप्रै विश्व कीर्तिमानहरु पनि बनाएको छ । विश्व क्रिकेटमा नेपालले बनाएका प्रमुख २० कीर्तिमानहरु यसप्रकार छन् ।

१. ९ बलमा दीपेन्द्रको अर्धशतक

युवा अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । दीपेन्द्रले सन् २०२३ सेप्टेम्बरमा एसियन गेम्समा मंगोलियाविरुद्ध टी–२० आईमा ९ बलमै अर्धशतक(५० रन) पूरा गरेका थिए । क्रिकेटमा ८ बलमा ५० रन बन्न समीकरण नहुँदा अब यो कीर्तिमान कहिल्यै तोडिने पनि छैन ।

दीपेन्द्र अघि भारतका युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक हानेका थिए । टी–२० मान्यता प्राप्त खेलमा भारतको घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा गत वर्ष ११ बलमा अर्धशतक हानेका थिए ।

२. टी–२० मा पहिलो पटक ३ सय र उच्च योगफल

नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । टी–२० पुरुष क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि खेल र प्रतियोगितामा ३ सय रन बनेको थियो ।

नेपाल अघि अफगानिस्तानले आयरल्याडविरुद्ध तथा चेक रिपब्लिकनले टर्कीविरुद्ध टी–२० आईमा समान २७८ रन बनाएका थिए ।

नेपालपछि टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले २०२४ मा बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो । महिला क्रिकेटमा भने नेपालले बनाउनु अघि नै टी–२० मा ३ सय रन बनिसकेको थियो ।

३. टी–२० आईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । उक्त टी–२० आई र टी–२० दुबैको रन अन्तरको हिसाबमा सर्वाधिक फराकिलो जित हो ।

नेपाल अघि टी–२० आईमा चेक रिपब्लिकनले टर्कीविरुद्ध २५७ रनको जित हात पारेको थियो ।

४. दीपेन्द्रको ५ सय स्ट्राइकरेट

दीपेन्द्र टी–२० आईमा १० बलमाथि खेल्दा ५२० को स्ट्राइकरेटमा ब्याटिङ गर्ने पहिलो खेलाडी हुन् । उनले मंगोलियाविरुद्ध १० बलमा ५२ रन जोड्दै उक्त कीर्तिमान बनाएका थिए ।

उनीअघि टी–२० क्रिकेटमा २०१६ मा जिम्बावेको घरेलु प्रतियोगितामा माल्कम वालरले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइकरेट ४३० रन थियो ।

५. सन्दीप ओडीआईमा सर्वाधिक १ सय विकेट लिने बलर

स्पिनर सन्दीप लामिछाने ओडीआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट पूरा गर्ने खेलाडी हुन् । सन्दीपले २०२३ अप्रिलमा कीर्तिपुर मैदानमा ओमानविरुद्ध उक्त सफलता हात पारेका थिए ।

अफगानिस्तानका स्पिनर राशिद खानको ४४ खेलमा १ सय विकेटको कीर्तिमान उनले तोडेका थिए ।

६. सन्दीपको संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू

सन्दीप देश नभएर संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू गर्ने पहिलो खेलाडी पनि हुन् । उनले सन् २०१८ मे ३१ मा आईसीसी विश्व ११ बाट वेष्टइण्डिजविरुद्ध टी–२० आईमा डेब्यू गरेका थिए । वेष्टइण्डिजमा आँधीको कारण क्रिकेट रंगशालामा क्षति पुगेपछि पुनः निर्माण गर्न आईसीसीले विभिन्न देशबाट विश्व ११ को टिम निर्माण गरेको थियो । त्यो समय नेपालको टी–२० आई मान्यता गुमेको हुँदा विश्व ११ बाट सन्दीपले डेब्यू गरेका थिए ।

७. सीमित ओभरमा महबुब आलमको १०विकेट

पूर्व तीव्र गतिका बलर महबुब आलम सीमित ओभरको क्रिकेटमा एकै खेलमा सबै १० विकेट लिने पहिलो खेलाडी हुन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभ सन् २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १०विकेट लिँदै गिनिज बुकमा नाम लेखाएका थिए ।

८. नेपाल २ बलमै विजयी

पत्याउन मुश्किल पर्ला, तर नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २ बलमै जित हात पारेको कीर्तिमान बनाएको छ । नेपालले सन् २००६ को एसीसी ट्रफी अन्तर्गत म्यानमारविरुद्ध मात्रै २ बलमा जित निकालेको थियो । महबुब आलमले ७ र विनोद दासले ३ विकेट लिएपछि पहिला ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भएको थियो ।

११ रनको लक्ष्य नेपालले २ बलमै पूरा गरेको थियो । उक्त खेलमा ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले १–१ बलमा समान ३–३ रन रन बनाउँदा पाँच रन वाइड मार्फत पाएको थियो ।

महिला क्रिकेटमा रवान्डाले २०१९ मा टी–२० आईमा मालीले दिएको ७ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो ।

९. ओडीआईमा विपक्षीलाई ३५ रनमा अल आउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले २०२० मा काठमाडौंको त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गरेको थियो । उक्त खेलमा सन्दीपले ६ र सुशान भारीले ४ विकेट लिएका थिए ।

ओडीआईमा ३५ रनमा अल आउट संयुक्तरुपमा कम योगफल हो । श्रीलंकाले २००४ मा जिम्बावेलाई पनि ३५ रनमै अल आउट गरेको थियो ।

१०. कम बलमा अल आउट

नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गर्दा मात्रै ७२ बल गरेको थियो । ओडीआईमा विपक्षी टोलीलाई कम बलमा अल आउट गर्ने कीर्तिमान बनाएको हो ।

नेपालअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो ।

११. कुशल ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

कुशल मल्ल ओडीआईमा कम उमेरमा अर्शतक प्रहार गर्ने खेलाडी हुन् । उनले २०२० फेब्रुअरी ८ मा अमेरिकाविरुद्ध त्रिवि मैदानमा १५ वर्ष ३४० दिनमा अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

उनले सन् २०१९ मा रोहित पौडेलले यूएईविरुद्ध १६ वर्ष १४६ दिनमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका थिए ।

१२. रुविनाको ५ बलमा ५ विकेट

पूर्व कप्तान रुविना क्षेत्री महिला क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी हुन् । सन् २००९ मा मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिप ८० रनको लक्ष्य पछ्याएको सिंगापुरविरुद्ध रुविनाले अन्तिम ओभरको दोस्रो, तेस्रो, चौथो, पाँचौं र अन्तिम बलमा लगातार विकेट लिँदै उक्त कीर्तिमान बनाएकी थिइन् ।

१३. कुशल भुर्तेलको डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक

ओपनर कुशल भुर्तेल टी–२० आईमा डेब्यूको सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

उनले २०२१ मा घरेलु मैदान टीयुमा नेदरल्यान्ड्ससँग ६२, मलेसियासँग ६१ र नेदरल्यान्ड्ससँग ६२ रन बनाउँदै उक्त कीर्तिमान बनाएका थिए ।

उनी अघि इंग्ल्यान्डका डेविड मलानको सुरुवाती दुई खेलमा दुई अर्धशतक हानेका थिए ।

१४. कुशल मल्लको १३७ रन

मंगोलियाविरुद्ध कुशल मल्लले तेस्रो नम्बरमा ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । तेस्रो नम्बरमा टी–२० आईमा उच्च इनिङ हो ।

उनले २०१२ मा न्युजिल्यान्डका ब्याटर ब्रेन्डन म्याकुलमले बंगलादेशविरुद्ध तेस्रो नम्बरमा बनाएको १२३ रनको कीर्तिमान तोडेका हुन् ।

त्यस्तै पाकिस्तानका बाबर आजमले २०१६ मा ओमानविरुद्ध तेस्रो नम्बरमा नै १२२ रन बनाएका थिए ।

१५. कुशल मल्ल र रोहितको १९३ रनको साझेदारी

मंगोलियाविरुद्ध कुशल मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरेका थिए । टी–२० आईमा तेस्रो नम्बरमा बनेको उच्च साझेदारी हो ।

त्यसअघि न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेष्टइण्डिजविरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए ।

१६. टी–२० आईमा एकै इनिङमा सर्वाधिक छक्का

नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउने क्रममा कुल २६ छक्का हानेको थियो । टी–२० आईमा एकै इनिङमा हानेको सर्वाधिक छक्का हो ।

नेपालपछि जापानले २०२४ फेब्रुअरीमा चीनविरुद्ध २३, अफगानिस्तानले आयरल्यान्डविरुद्ध तथा वेष्टइण्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का हानेका थिए ।

नेपालबाट उक्त खेलमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ हानेका थिए ।

१७. पारस टी–२० आईमा लक्ष्य पछ्याउँदा शतक हान्ने पहिलो कप्तान

टी–२० आई इतिहासमा लक्ष्य पछ्उदा शतक हान्ने पारस खड्का पहिलो कप्तान हुन् । उनले २०१९ को त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ५२ बलमा ७ चौका र ९ छक्कासहित १०६ रनको शतकीय इनिङ खेलेका थिए ।

उनी अघि लक्ष्य पछ्याउँदा टी–२० आईमा कप्तानको रुपमा नेदरल्यान्ड्सका पिटर सिलारले २०१९ मा स्कटल्यान्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए ।

१८. शक्तिको ८ मेडन

पूर्व स्पिनर शक्ति गौचनले सन् २०१२ मा डिभिजन फोरमा मलेसियाविरुद्ध १० ओभरमा ८ मेडनसहित २ रन खर्चेर ३ विकेट लिएका थिए । ५० ओभरको खेलमा ८ मेडन संयुक्त रुपमा सर्वाधिक हो ।

शक्तिपछि वेष्टइण्डिजका फिल सिमन्सले १९९२ मा पाकिस्तानविरुद्ध ओडीआई खेलमा १० ओभरमा ८ मेडनसहित ३ रन खर्चेर ४ विकेट लिएका थिए ।

१९. रोहित टी–२० विश्वकपका कान्छा कप्तान

आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलले पहिलो खेलमा नेतृत्व गर्दा २१ वर्ष २७६ दिनका थिए । रोहित टी–२० विश्वकपमा सबैभन्दा कम उमेरमा नेतृत्व गर्ने कप्तान हुन् ।

उनीअघि जिम्बावेका प्रोस्पेर उत्सेयाले सन् २००७सालको विश्वकपमा २२ वर्ष १७० दिनमा कप्तानी गरेका थिए ।

२०. लगातार ३३ खेलमा सन्दीपको विकेट यात्रा

स्पिनर सन्दीप लामिछाने ओडीआईमा लगातार ३३ खेलमा विकेट लिने खेलाडी हुन् । सन् २०२० फेब्रुअरीदेखि २०२३ मेसम्म विकेट लिँदै लगातार सर्वाधिक ३३ खेलमा विकेट लिने बलर बनेका थिए ।

उनीअघि अष्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट लीले २६, वेष्टइण्डिजका इयान विशोप २५ र अफगानिस्तानका हामिद हसनले २४ खेलसम्म लगातार विकेट लिन सफल भएका थिए ।

क्रिकेट नेपाल विश्व कीर्तिमान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय