+
+
ब्लग :

मिडिया बहस : को मूलधार ?

मूलधारका मिडियाले आफूलाई न्यू मिडियासँग प्रतिस्पर्धा गर्न खोज्दा आफ्नो मौलिकता गुमाइरहेका छन् । आफ्नो पहिचानलाई बचाउन नसक्दा उनीहरूले आफ्नै अस्तित्वलाई संकटमा पारिरहेका छन् ।

तुलसी अर्याल तुलसी अर्याल
२०८१ साउन १८ गते ८:३७

कुनै समय थियो समाचारका लागि रेडियो नेपाल नै कुर्नुपर्ने । रेडियोका पारखीहरू गाउँ–गाउँमा भेटिन्थे । साक्षर र निरक्षर दुवैका लागि रेडियो प्रिय थियो । काम गर्दै सुन्दै गर्न मिल्ने रेडियोका लागि अतिरिक्त समय छुट्याउनु नपर्ने । हाम्रो पुस्ता ‘बा’ हरूको रेडियो लतसँगै हुर्किएको हो । गाउँमा एकाध घरहरूमा टेलिभिजन भए पनि त्यो सहज पहुँचमा थिएन । ग्रामीण तथा पहाडी क्षेत्रलाई अहिले पनि दुर्गमकै कोटामा राखिएको छ ।

आजभन्दा दुई दशकअघिसम्म त रेडियोको जगजगी नै थियो । हातमा, काँध र खेतका आलीमा खुबै बज्थ्यो । जन्मस्थल गुल्मी छँदाका रेडियोका केही झलकहरू याद आउँछन् । गुल्मीमा सामान्य स्मरण हुँदै गर्दा मेरो सपरिवार चितवन सर्‍यो ।

टिभी सेट त मैले २०६० सालअघि देखेकै थिइनँ । हुनत टिभी नेपालमा २०४२ सालदेखि नै सुरु भएको थियो । गाउँमा बिजुली नपुगेको हुँदा गाउँमा टिभी हेर्न पाइएन । पछि २०६० सालमा चितवन बसाइँ सरेर आएपछि पहिलो पटक टिभी देख्ने मौका मिल्यो ।

उतिबेला परिवार, टोलछिमेकमा मानिसहरू झुम्मिएर टिभी हेर्ने चलन हुन्थ्यो । आफूलाई मनपर्ने कार्यक्रम हेर्न सुन्नको लागि साताभरिको समय कुरेर हेरिन्थ्यो । फलानो दिन फलानो कार्यक्रम आउँछ भन्ने तालिका नै याद हुन्थ्यो ।

टिभीमा देखिने मान्छेहरूप्रति ठूलो श्रद्धा, इर्ष्या, लोभ पनि हुन्थ्यो । कस्तो होला ? टिभी कसरी चल्छ होला आदि । जुन स्वाभाविक पनि छ । जिल्ला जिल्लामा पनि रेडियो (एफएम) खुल्ने क्रम सुरु भइसकेको थियो । समाचारको लागि पहिले जस्तो रेडियो नेपालको साँझ ७ बजेको समय कुर्नुपर्ने अवस्था हट्दै गयो । श्रोताहरू यसरी बानी परेका थिए कि गाउँ गाउँमा श्रोता क्लबहरू नै बनाएका हुन्थे । लोकप्रिय कार्यक्रम हेर्न सुन्नको लागि समय नै छुट्याउँथे ।

तुलसी अर्याल

अघिल्लो दिनको बासी पत्रिका पनि ओल्टाईपल्टाई गरेर पढ्ने समूह वा वर्ग थियो । रुचिपूर्वक विचार/दृष्टिकोण पेज तथा समाचार पाठकहरूले पढ्ने गरेको देखिन्थ्यो । पत्रिका पढ्नकै लागि स्टेशनरी, पुस्तकालय, नजिकको विद्यालय, क्याम्पस जाने अभिभावकहरूका भोगाइ अहिले पनि सुन्न सकिन्छ । हजारौं प्रति पत्रिकाहरू छापिने, कहिलेकाहीं खोजेको पत्रिका बिहानै सकिने पनि हुन्थ्यो ।

बदलिएको दृश्य

अहिले रेडियो नेपालको ७ बजेको समाचार सुन्न कुर्ने बाहरू कति हुनुहोला ? स्टेशनरीमा गएर पत्रिका किन्नेहरू कति होलान् ? पहिले जस्तै मन पर्ने कार्यक्रम आउने बार, समय जान्ने र कुरेर हेर्नेहरू अहिले के भन्छन् होला ? बासी पत्रिका पनि ओल्टाईपल्टाई गर्नेहरूले अहिले कति पढ्छन् होला ? अब अवस्था त्यस्तो रहेन ।

विश्व अहिले डिजिटल युगमा छ । यसबाट नेपाल अछुतो हुने कुरो भएन । न्यू मिडिया भन्नुुस्, या डिजिटल युगले अहिले हरेक व्यक्ति सूचनाको स्रोत हुन सक्छ । ऊ लेख्न सक्छ, बोल्न सक्छ, आफैं कथा भन्न सक्छ । कथा देखाउन सक्छ । समाचार जुनै बेला पनि हुन सक्छ । ज्ञानको स्रोत जो कोही, जुन कुनै बेला, जहाँसुकै भेटिन सक्छ । सञ्चारको अभ्यास र यसको आयाम विश्वव्यापी रूपमा फेरिएको छ ।

सूचनाको शक्ति कुनै एउटा व्यक्ति, संस्था वा संगठित समूहसँग मात्रै छैन । हरेक व्यक्ति नागरिक सूचनादाता, सूचनाकर्ता र प्रस्तुतकर्ता हुन सक्छ । अब भन्नुस् को मूलधार, कसको कति प्रभाव ?

हिजो नयाँ मिडियालाई हेय गर्नेहरू आज आफैं प्रयोगकर्ता, अभ्यासकर्ता बनेका छन् । अनलाइन, यूट्यूब वा सामाजिक सञ्जालमा आउने सूचनालाई विश्वास गरिनहाल्ने, वा ती प्रयोगकर्तालाई अविश्वसनीय, अपरिपक्व भन्नेहरू आज आफैं नयाँ प्लेटफर्ममा आइपुगेका छन् ।

टिभी चलाउन चाहिने ठूलो जनशक्ति, त्यसको क्रु मेम्बरको साटो सानो स्पेस, एकदमै सानो जनशक्ति, सानो लगानीमा टेलिभिजनले भन्दा बढी प्रभावकारी कन्टेन्ट बन्न सक्ने अवस्था आएको छ । पत्रिका प्रकाशनका लागि छापागृहदेखि त्यसमा लाग्ने जनशक्ति त्यसको प्रोसेसिङ भन्दा तत्काल पाठकमा पुग्न सक्ने अनलाइन मिडियाहरू आएका छन् । पढ्न, हेर्न र सुन्न एकै ठाउँमा आएको छ ।

न्यू मिडिया तथा सामाजिक सञ्जालका कारण मूलधार जसले समयानुसार आफूलाई रूपान्तर गर्न सकेका छैनन् ती विस्थापित हुने अवस्थामा पुग्छन् कि भन्ने बहस सुरु भएको छ । विश्वका कैयन् प्रतिष्ठित अखबारहरूले आफ्ना संस्करणहरू घटाउनु, केही बन्द हुनु र डिजिटलाइज हुनुले यस तर्कलाई पुष्टि गर्दै लगेको छ ।

नेपालकै सन्दर्भमा पनि प्रतिष्ठित अखबारहरूको गुणस्तर, पाठक तथा छापिने संख्या ह्वात्तै घटेको छ । मासिक पत्रिकाहरू लगभग सबै सकिने अवस्थामा पुगेका छन् । हिजो आमरूपमा जसलाई मूलधारको मिडिया भनिन्थ्यो, ती अहिले न्यू मिडिया बन्ने होडमा छन् । टेलिभिजनको नाममा यूट्यूब च्यानल नभएका टेलिभिजनै छैनन् । पत्रपत्रिका अनलाइन संस्करणमा गइसकेका छन् । अडियो माध्यम रेडियो समेत भिजुअल फर्ममा गइरहेका छन् । उनीहरू समाचार, कार्यक्रमहरू अडिओ मात्रै भए पनि यूट्यूब कन्टेन्ट बनाएर अपलोड गरिरहेका छन् ।

नेपालमा १९औं शताब्दीको मध्यतिर परम्परागत मिडिया अस्तित्वमा आयो । प्रारम्भमा सरकारी विषयमा जानकारी दिने पत्रपत्रिका थिए । पत्रपत्रिकाहरू साक्षर जनतामाझ धेरै लोकप्रिय थिए । त्यसपछि २०औं शताब्दीको सुरुवातीतिर रेडियो सुरु भयो । यस्तै टेलिभिजन २०औं शताब्दीको मध्यतिर आयो ।

विस्तारै प्रविधिको विकाससँगै नयाँ मिडियाले कब्जा गर्न थालेको छ भने परम्परागत मिडिया आफैंले नयाँ मिडियासँग आफूलाई प्रतिस्पर्धा गर्न खोज्दा दिनप्रतिदिन संकुचित हुन थालेको छ । न्यू मिडियालाई पछ्याउन खोज्दा मूलधारका मिडियाले आफ्नो कर्तव्य बिर्सिएका छन् भने आफ्नो धर्मबाट च्यूत हुँदैछन् ।

समाचारलाई सन्तुलित बनाउने भन्दा पनि कसरी चर्चा र बढी भ्यूज आउँछ त्यसको सिकोमा मूलधारका मिडिया समेत एकप्रकारको अस्वस्थ प्रतिस्पर्धामा छन् । समाजलाई सुसूचित बनाउने समाचार भन्दा पनि आम नागरिकको ध्यान केन्द्रित गर्ने अतिरञ्जित सामग्रीलाई बढावा दिने खालका कन्टेन्टलाई मिडियाले स्थान दिएका छन् ।

नेपालका अधिकांश टेलिभिजन हाउसमा बज्ने समाचार हेर्‍यो भने समाचारको ढाँचा, त्यसमा प्रयोग हुने फुटेज लगभग सबैका एउटै हुन्छन् । टेलिभिजन हाउसहरू न्यूज एजेन्सीमा पूर्ण रूपमा भर परेका छन् । न्यूज एजेन्सीले जसरी समाचारको एङ्गलिङ गर्छन् उनीहरूले त्यही हुबहु बजाउने गरेका छन् । न त त्यसमा क्रस चेक गर्ने चलन छ न त त्यसलाई परिवर्तन गर्ने नै प्रवृत्ति छ ।

कुनै दिन समाचार प्रसारण भइसकेपछि एजेन्सीले कहिलेकाहीं भुलबस यसो हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ भनेर पठाएपछि टेलिभिजन हाउसले त्यो सच्याउने तर्फ लाग्दैनन् । सोसियल मिडिया साइटमा गएको छ भने त्यसलाई हतारहतार डिलिट गर्ने, तर एक पटक बजिसकेको छ भने गल्ती भयो भनेर जानकारी गराउने बानी त अझै विकास नै भएको छैन ।

बरु अर्को बुलेटिनमा त्यसलाई समावेश नै नगर्ने प्रवृत्ति छ । केही बाहेक धेरै मिडियाको गलत सूचना सम्प्रेषण भएको खण्डमा त्यसलाई पुनः सच्याएर जानकारी गराउने बानी नै छैन । उल्टै त्यसलाई ढाकछोप गर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

मूलधारको मिडियाले दिने कन्टेन्टमा कुनै शंका छैन । समाचार सत्य तथ्य, सन्तुलित हुनुपर्छ भन्नेमा उनीहरू सचेत छन् र गम्भीर पनि । तर आफंैमा स्थापित यी मिडियाले आफू न्यू मिडियासँग जोड्नु सुहाउँदो छैन । फेरि कतिलाई लाग्न सक्ला प्रविधिसँगै चल्न सक्नुपर्छ । तर समय अनुसार चल्नुपर्छ भन्दैमा तिमीलाई आज जसले तिमी भनेर चिनायो त्यसलाई अर्को धारबाट पनि त चिनाउन भएन नि !

रेडियोले आफ्नो अस्तित्वलाई छाडेर न्यू मिडियालाई कपी गर्दै भिजिओल फर्ममा फेसबुक पेज मार्फत गरिने कार्यक्रम प्रसारण गर्नु सुहाउँदो छैन । आफैंमा अडियो मिडियम भएकै कारण यसको छुट्टै चिनारी छ, परिचय छ । मानिसमा अझै त्यो कौतूहल पनि छ । मानिस नदेखिने तर आवाज मात्र सुनिरहँदा सानो भाँडोभित्र बोल्ने को होला ? कसरी बोलिरहेको होला ? त्यहाँ बोल्ने मान्छे कस्तो होला ? त्यो सबै कल्पना गर्न दिएकै कारण रेडियो भएको हो नि ! तर हिजोआज यसको परिचयलाई आफैं मिडिया हाउसले हराउँदै लगेका छन् ।

न्यू मिडियासँग प्रतिस्पर्धा गर्नु ठिकै हो, तर आफ्नो पहिचानलाई कायम राख्दै अगाडि बढ्नु अझ महत्वपूर्ण छ ।

अब टेलिभजनको कुरा गर्दा पनि यस्तै छ । टेलिभिजन भनेको एउटा घरभित्र, मानिसको कोठाको भित्तामा सानो बक्साभित्र मानिस अटेर सूचना दिने माध्यमका रूपमा लिइन्थ्यो । टेलिभिजन भन्ने वित्तिकै मानिसको मानसपटमा यही लाग्थ्यो तर आजभोलि टेलिभिजनको त्यो अर्थ उही अर्थ रहन सकेन । न्यू मिडियालाई नक्कल गर्न खोज्दा आज हरेक टिभी च्यानलको फेसबुक पेज छ । तिनको आफ्नै यूट्यूब च्यानल पनि छ । यस्तो अवस्थामा टिभी र न्यू मिडियाबीच के फरक छ ?

यदि सबै कार्यक्रमहरू फेसबुक र यूट्यूबमा नै आउँछन् भने टिभीको आफ्नै विशेषता के रहन्छ ? मानिसहरूले टिभी किन हेर्ने ? फलानो मान्छेको अन्तर्वार्ता फलानो टिभीमा आउँछ भन्ने कुरा सुनेर मान्छे टिभी सेटको अगाडि किन बस्न चाहन्छन् ? यदि त्यो कार्यक्रम आधा घण्टामा नै सोसियल मिडियामा अपलोड हुन्छ भने ?

आफ्नो अस्तित्व, महत्व बिर्सिएर आफैं न्यू मिडियासँग प्रतिस्पर्धा गर्न खोज्ने ? अनि अहिले आएर न्यू मिडियाले गर्दा मूलधारका मिडिया विलयको अवस्थामा पुगे भन्नु के उचित हुन्छ ?

वास्तवमा, मूलधारका मिडियाले आफूलाई न्यू मिडियासँग प्रतिस्पर्धा गर्न खोज्दा आफ्नो मौलिकता गुमाइरहेका छन् । आफ्नो पहिचानलाई बचाउन नसक्दा उनीहरूले आफ्नै अस्तित्वलाई संकटमा पारिरहेका छन् । यदि उनीहरूले आफ्नो मूल पहिचानलाई जोगाएर राख्ने हो भने, न्यू मिडियासँगको प्रतिस्पर्धा त ठिकै छ, तर आफ्नो मौलिकता हराउनु भनेको आफैंलाई कमजोर बनाउनु हो ।

टिभी र रेडियोका आफ्नै विशेषता छन्, र ती विशेषताहरूलाई कायम राख्दै आधुनिक प्रविधिको सदुपयोग गर्न सकिन्छ । तर, मूलधारका मिडियाले आफ्नो परिचयलाई नै न्यू मिडियासँग समाहित गर्ने प्रवृत्ति देखाउँदा उनीहरूको अस्तित्व नै संकटमा परेको देखिन्छ । अब यो अवस्थाबाट बच्नका लागि मूलधारका मिडियाले आफ्नो मौलिकता जोगाएर राख्नु जरूरी छ ।

न्यू मिडियासँग प्रतिस्पर्धा गर्नु ठिकै हो, तर आफ्नो पहिचानलाई कायम राख्दै अगाडि बढ्नु अझ महत्वपूर्ण छ । परम्परागत मिडियाले आफ्नो महत्व र पहिचानलाई सुदृढ बनाउन, प्रविधिको साथमा चल्नुपर्छ तर आफ्नो मौलिकता र विशेषतालाई कहिल्यै गुमाउनुहुँदैन । यसरी मात्र मूलधारका मिडियाले आफ्नो अस्तित्वलाई भविष्यमा पनि कायम राख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?