+

पेरिस ओलम्पिक : इमान खलिफको दुई मुक्काले कसरी रिङ्ग बाहिर आयो लैङ्गिक लडाइँ ?

२०८१ साउन  १८ गते १५:५७ २०८१ साउन १८ गते १५:५७
पेरिस ओलम्पिक : इमान खलिफको दुई मुक्काले कसरी रिङ्ग बाहिर आयो लैङ्गिक लडाइँ ?

१८ साउन, काठमाडौं । अल्जेरियाकी इमान खलिफविरुद्ध रिङमा उभिएकी इटलियन महिला बक्सर एन्जेला करिनीले ४६ सेकेण्डमै खेल छाडिन् । र भनिन्, ‘मैले आफ्नो जीवन बचाउनु पर्‍यो ।’

पेरिस ओलम्पिकमा महिला बक्सिङमा भाग लिने अनुमति पाएका खेलाडीमध्ये खलिफ एक हुन् ।

तर एन्जेलाको बयानले पेरिस ओलम्पिकको महिला बक्सिङ विवादमा परेको छ । अनि, अल्जेरियन बक्सर खालिफको लिङ्गको मुद्दा फेरि एक पटक चर्चामा आएको छ ।

त्यो ४६ सेकेन्ड

३० सेकेन्डमा खलिफले अनुहारमा मुक्का हानेपछि प्रतिद्वन्द्वी करिनी आफ्नो हेडगियर मिलाउन कोच नजिक गइन् ।

खेल फेरि सुरु भएको केही सेकेन्डमा उनी छेउ लागिन् र खेल्न अस्वीकार गरिन् । यसपछि खलिफलाई विजेता घोषित गर्ने बित्तिकै करिनीले भनिन्, ‘यो ठीक भएन ।’

प्रतिक्रिया दिने क्रममा करिनीको आँखामा आँसु थियो । करिनीले बीबीसी स्पोर्टससँग भनेकी छन्, ‘मेरो नाकमा अत्यधिक पीडा भयो । यो मेरो जीवनभरको लागि यादगार खेल हुन सक्थ्यो तर त्यसबेला मैले आफ्नो ज्यान जोगाउनु थियो ।’

एन्जेला करिनी

आफ्नो पीडा देशले बुझ्ने आशा राखेकी करिनीले अगाडि भनिन्, ‘म डराएको छैन । रिङ्गमा मलाई कत्ति पनि डर थिएन । प्रहार गर्दा पनि मलाई डर लागेन । तर पनि मैले खेल समाप्त गरेँ किनभने म रिङ्गमा लैगिङ्ग लडाइँ लड्न असमर्थ थिएँ ।’

इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले उनलाई साथ दिइन् । उनने भनेकी छन्, ‘समानताको आधारमा प्रतिस्पर्धाको अर्थ हुन्छ । मेरो विचारमा यो खेल समानताको आधारमा थिएन ।’

को हुन् इमान खलिफ ?

अल्जेरियाको तियारेत निवासी २५ वर्षीय बक्सर इमान खलिफ आफैंमा बलियो खेलाडी हुन् । उनले आफ्नो करियरमा खेलेको ५० मध्ये ९ मा मात्र हारेकी छन् । २०२२ मा अफ्रिकी च्याम्पियनसिप, मेडिटेरेनियन गेम्स र २०२३ को अरब खेलमा स्वर्ण पदक जितेकी छन् ।

तर २०२३ मा भारतमा भएको महिला विश्व बक्सिङ च्याम्पियनसिपमा उनलाई प्रतियोगिताबाट हटाइयो । वेल्टरवेट विधामा खेल्ने खालिफको शरीरमा पुरुषमा पाइने हर्मोन टेस्टोस्टेरोनको मात्रा बढी भेटिएको बताइएको थियो ।

नयाँ दिल्लीमा भएको च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष ओमर क्रेमलेभले भनेका थिए, ‘धेरै बक्सरहरूले चलाखीपूर्वक आफूलाई महिलाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए । तर परीक्षणपछि उनीमा एक्सवाई क्रोमोजोम रहेको पाइएको थियो । यसकारण उनी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।’

अल्जेरियन ओलम्पिक कमिटीले भने खलिफलाई ‘स्वास्थ्यका कारण’ हटाएको बतायो ।

यो पटक खलिफ पेरिस ओलम्पिकमा खेल्न पाइन् । पहिलो राउण्डमा बाई पाएर रिङ्गमा प्रवेश गर्दा दर्शकमा रहेका अल्जेरियन फ्यानले ताली बजाएर स्वागत गरेका थिए ।

अल्जेरियाको ओलम्पिक कमिटीले खलिफमाथि लागेको आरोपलाई निराधार भएको बताएको छ ।

खलिफमाथि जस्तै लैङ्गिक प्रश्न उठेपछि गतवर्ष विश्व च्याम्पियनसिपमा ताइवानकी लिन यु–थिङको कास्य पदक खोसिएको थियो । उनले पनि पेरिस ओलम्पिकमा भाग लिइन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सबै बक्सरहरूले प्रतियोगितामा भाग लिन र प्रवेशका लागि योग्यता मापदण्ड पूरा गरेको बताएको छ । कमिटीका प्रवक्ता मार्क एडम्सले भने, ‘उनीहरुले यसअघि पनि धेरै प्रतियोगितामा खेलिसकेका छन् । उनीहरू अचानक यहाँ आएका होइनन् । तिनीहरूले टोकियोमा पनि खोलेका छन् ।’

के भन्छ बक्सिङ संघ ?

बुधबार नै अन्तर्राष्ट्रिय बक्सिङ संघले भने ताइवानकी लिन र अल्जेरियाकी खलिफको टेस्टोस्टेरोन परीक्षण नगरेको स्पष्टीकरण दिएको छ । गत वर्ष दुवैलाई विश्व च्याम्पियनसिपबाट हटाएको, तर पारदर्शिता तथा विश्वसनीयताको स्तर कायम राख्न टेस्टोस्टेरोन परीक्षण नगरेको उसले बताएको छ ।

अन्य केही परीक्षण गरिएको थियो, जसमा लिन र खलिफले प्रतियोगितामा सहभागी हुन तोकिएको मापदण्ड पूरा गर्न सकेनन् । उनीहरू अन्य महिला प्रतिद्वन्द्वीभन्दा बलिया थिए ।

लिन र खलिफको २०२२ मा इस्तानबुलमा भएको विश्व च्याम्पियनसिप र २०२३ मा परीक्षण गरिएको थियो । इन्टरनेशनल बक्सिङ एसोसिएसनका अनुसार लिनले यसविरुद्ध अपिल गरेकी थिइन् भने खलिफले अपिल फिर्ता लिएकी थिइन् ।

‘हाम्रो चिकित्सा समितिले उठाएको चिन्तालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो । हामीले हाम्रो बक्सिङ परिवारको लागि सही र उपयुक्त निर्णय लियौं’ एसोसिएसनका सीईओ क्रिस रोबर्ट्सले भने, ‘हामीले फेला पार्‍यौं कि तिनीहरू महिलाको रूपमा भाग लिन योग्य छैनन् ।’ तोकिएको योग्यता परीक्षणमा एक बक्सर अर्कोभन्दा भारी र बलियो भएमा महिला विधामा लड्न अयोग्य मानिन्छन् ।

निर्णयको आलोचना

अन्तर्राष्ट्रिय बक्सिङ संघको मनमानी निर्णयमा आईओसीले आलोचना गरेको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा खलिफ र लिन बक्सिङ संघको हतार र मनमानी निर्णयको शिकार भएको बताएको छ । २०२३ मा लिन र खालिफलाई कुनै विशेष प्रक्रियाबाटै प्रतियोगिताबाट बाहिर राखेको उसको बताएको छ । ‘दुई खेलाडीविरुद्ध जुन आक्रोस देखिएको छ, यो अन्तर्राष्ट्रिय बक्सिङ संघको मनमानी निर्णयको परिणाम हो’ उसले भनेको छ ।

बक्सिङ विश्लेषक स्टिभ बन्सले बक्सिङका लागि यो निकै नराम्रो भएको बताएका छन् ।

लेखक जेके रोलिङले एक्समा लेखेकी छन्, ‘के यसले हाम्रो आन्दोलनलाई राम्रोसँग प्रतिनिधित्व गर्न सक्छ ? एक पुरुषको कृत्रिम हाँसोमा खेलकुद प्रतिष्ठान संरक्षण बन्न मिल्छ । उसले महिलाको टाउकोमा मुक्का हानेर मजा लिन्छ । महिलाको पीडामा मज्जा लिनेलाई यो निर्णयले धुलोमा मिलाएको छ ।’

खलिफ विवादमा भारतीय क्रिकेटर हरभजन सिंहले लेखेका छन् ‘मेरो विचारमा यो अनुचित हो । ओलम्पिकमा यो घटना/खेलको समीक्षा हुनुपर्छ ।’

इमान खलिफ एन्जेला करिनी लैङ्गिक लडाइँ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय