+

श्रीलंकाविरुद्ध खेल्ने सपना पूरा भएको दिन

२०८१ साउन  १८ गते २०:१८ २०८१ साउन १८ गते २०:१८

‘१० वर्ष अगाडि बाबाले जुन ठाउँमा एउटा खेलाडीलाई देखेर मलाई यहाँसम्म ल्याउनु भएको थियो । त्यहीँ ठाउँमा त्यही टिमसँग खेलेर जित्दा मलाई सपना पूरा भएको अनुभव भइरहेको छ ।’

श्रीलंकाविरुद्ध खेल्ने सपना पूरा भएको दिन

१८ साउन, काठमाडौं । १५ वर्षकै उमेरमा राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेकी युवा स्पाइकर उषा भण्डारीले थुप्रै अन्तर्राष्ट्रिय म्याच खेलिन् । १३औं साग गेममा डेब्यू गरेकी उनले काभा च्यालेन्ज कपको पछिल्लो चार सिजन (०२१–०२४) खेलिन् । तर हालसम्म उनले श्रीलंकासँग सेटमा खेल्न पाएकी थिइनन् ।

काभा वुमन्स नेसन लिग–२०२४ मा नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध परेपछि उनी धेरै उत्साहित भइन्, आफ्नो प्रदर्शन कस्तो होला भनेर थोरै नर्भस पनि ।

बिहीबार दिउँसो सवा तीन बजे रंगशालामा भलिबल कोर्टमा पुग्दा समेत उनी भावुक थिइन् ।

श्रीलंकालाई ३–० को सोझो सेटमा हराउने क्रममा उषाले महत्वपूर्ण प्रदर्शन गरिन् । ‘१० वर्ष अगाडि बाबाले जुन ठाउँमा एउटा खेलाडीलाई देखेर मलाई यहाँसम्म ल्याउनु भएको थियो । त्यहीँ ठाउँमा त्यही टिमसँग खेलेर जित्दा मलाई सपना पूरा भएको अनुभव भइरहेको छ’, उषाले खुसी साटिन् ।

श्रीलंकासँग साइनो

सन् २०१४ मा साउथ एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाल र श्रीलंकाको खेल दशरथ रंगशालामा भएको थियो । उषाका बुबा गजेन्द्र त्यो खेल हेर्न पुगेका थिए ।

खेल हेर्ने क्रममा उनलाई ७ नम्बरको जर्सी लगाएकी श्रीलंकन खेलाडीको खेल निकै मन पर्‍यो । अग्ली, अनि गोरी श्रीलंकन खेलाडीको प्रदर्शनबाट गजेन्द्र यति प्रभावित भए कि कान्छी छोरी उषाले पनि त्यसरी नै भलिबल खेलेको कल्पना गर्न थाले ।

९/१० वर्षकी उषा बालाजुस्थित होली गार्डेन स्कुल पढ्थिन्, स्कुलको फुटबल टोलीको कप्तान थिइन् ।

श्रीलंका त्यो खेल सकेर घर पुगेपछि गजेन्द्रले छोरी उषालाई सोधे, नानी भलिबल खेल्छौं ?

भर्खर खेलकुदमा रमाउँदै गरेकी उषाले नाई भनिनन् । तर आमा लक्ष्मी भने छोरीलाई भलिबल खेलाडी बनाउन सहमत थिइनन् । किनकि उषा सानोमा छिटोछिटो बिरामी भइरहन्थिन् । भलिबल पावर गेम भएकाले छोरीले खेल्न नसक्ने वा गाह्रो हुने लक्ष्मीलाई डर थियो । त्यसैले सुरुवातमा हुँदैन भनिन् ।

तर बुबा गजेन्द्रले सम्झाएर भलिबल खेलाउन थाले । भलिबल खेलाडी बनाउन भनेरै नेपाल प्रहरी स्कुलमा भर्ना गर्दिए । अनि १२ वर्षको उमेरदेखि नै उषाले भलिबल सिक्न थालिन् । छोटो समयमै उनले भलिबलमा राम्रो प्रभाव छाडिन् ।

 घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट राम्रो प्रदर्शन गरेपछि सन् २०१९ मा पहिलो पटक नेपाली टोलीमा परिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) बंगलादेशविरुद्ध २७ नोभेम्बरमा डेब्यू गर्दा उनको उमेर मात्र १५ वर्ष थियो ।

त्यसयता नेपाली टोलीमा नियमित जस्तै भएकी उनले भारत सहितका देशविरुद्ध खेल्ने अवसर पाइन् । तर अहिलेसम्म श्रीलंकाविरुद्ध खेल्न अवसर पाएकी थिइनन् ।

यो पटक श्रीलंका विरुद्ध खेलिनन् मात्र, उत्कृष्ट प्रदर्शन गरेपछि बाबु गजेन्द्र पनि एकदमै खुसी छन् ।

‘उषा सानै हुँदा श्रीलंकन टिममा जर्सी नम्बर ७ की खेलाडीमा मैले उषाको अनुहार देखें । उसको फूर्ति र खेल देखेर मैले भलिबलमा लगाए’, गजेन्द्र भन्छन्, ‘त्यो नदेखेको भए सायद मैले उषालाई भलिबलमा लाग्न प्रेरित गर्ने थिइनँ ।’

उषा पनि त्यतिकै खुसी छिन् । ‘जुन टिमलाई हेरेर बाबाले मलाई भलिबलमा ल्याउनु भयो । त्यो टिमसँग पूरा सेट खेल्ने सपना थियो । पूरा खेल खेलेर ३–० को सोझो सेटले जित्दा खुसी छु, उषाले अनलाइनखबरसँग भनिन् ।

अब उनको अर्को सपना बाँकी छ । त्यो हो आफूलाई भलिबल खेलाडी बनाउन प्रमुख प्रेरणा बनेकी जर्सी नम्बर ७ की श्रीलंकन खेलाडीको नाम पत्ता र भेट्नु ।

‘१३औं सागमा पनि मैले भेट्न खोजेको थिएँ, तर पाइनँ’ उषाले भनिन्, ‘अहिले पनि टिममा सोध्छु, तर नाम थाहा नहुँदा उहाँको बारे केही थाहा पाउन सकेको छैन ।’

उषा भण्डारी
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय