+
+
मनोवाद :

जंगलमा बिताएको त्यो रात !

पैताला काटेर छियाछिया भएको थियो । ठूलो सालको फेदमा ओत लागेर थचक्क बसें । दुःख परेको बेलामा सम्झने बा–आमा त रहेछ ! म हे बाऽ, हे आमाऽ भन्दै चिच्याउन पुगें ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८१ साउन १९ गते १३:५९

आमाऽ हो ! बाऽ हो ! म रुँदै चिच्याएँ ।

साउनको महिना, अनकण्टार बाक्लो बरण्डाभार जंगल । पानी एकनाश दर्किएको थियो । पातमा पानी ठोक्किएर आएको झर्झर आवाज, कुहिरो लागे जस्तो दृश्य । टाढा केही देखिंदैनथ्यो । म जंगलमा हराएको थिएँ । ठूलो सालको बोटमा ओत लागें ।

चिच्याएको मेरो आवाज रूख रूखमा ठोक्किएर मैतिर फर्कियो । बा–आमासम्म पुगेन । भलभली आँखाबाट आँसु झरे । बर्सादीले पानी छेक्न सकेको थिएन । निथ्रुक्क भिजेको थिएँ । जाडो होला जस्तो भइरहेको थियो । थकाइले उठेर हिंड्ने शक्ति थिएन । थचक्क बसें । सालको रूखले माया गरेर काखमा लिए जस्तो भयो । बल्ल भोक लागेको थाहा पाएँ ।

झोला छामछुम गरें । बिहान भैंसी फोएर निस्कने बेलामा आमाले राखिदिनुभएको चामलको ढोसे रोटी र तिलको छोप निकालें । धन्न, आमाले प्लास्टिकले बेरिदिनुभएको रहेछ । भिजेको रहेनछ । रोटी चपाउँदै, अचार चाट्दै सोच्न थालें । गीतानगर शिवनगर कता ? भरतपुर नारायणगढ कता ? टाँडी सौराह कता ? पटिहानी माडी कता ? अलमल भयो । घर ठम्याउन नसकेपछि मन बेस्सरी अत्तालियो ।

खेतीपाती लगाउने र थन्क्याउने समयमा स्कुल बन्द हुन्थे । स्कुल बन्द भएपछि गाईभैंसी चराउने काम हाम्रो हुन्थ्यो । विष्णु, गीते, मंगले, ध्रुवे, ज्ञाने, माने, मुरली सात–आठ जना हामी साथीहरू थियौं । खेल्दा, जंगल जाँदा, पढ्दा हामी सँगसँगै हुन्थ्यौं ।

दिउँसो टन्टलापुर घाम लागेको थियो । ठूलो घोलको धमिलो पानीमा माछा फरफर हिंडेको देख्यौं । उत्निखेरै माछा खाने सल्लाह भयो । हिलोमा पसेर भोटी माछाहरू समात्यौं । सफा गर्‍यौं, काट्यौं । सुकेका दाउरा बटुल्यौं । आगो बाल्यौं । मिलेर माछा पोल्यौं । घरबाट ल्याएको नुन खुर्सानीमा डोबेर खायौं । मिठै भएछ ।

साथीहरूले घोलको छेउमा खोबिल्टो बनाएर पानी निकालेका थिए । सालको पातले पानी उवाउँदै पालै पालो एक एक घुट्की पानी खायौं । भैंसी घोलमा चरिरहेका थिए । आफ्नो आफ्नो भैंसीको समूह नाइके भैंसीको घाँटीमा बाँधेको घण्टीको आवाजले हामी चिन्दथ्यौं ।

माछा खाएपछि रूखको फेदमा बसेर लुँडो खेल्न थाल्यौं । आकाशमा बादल लाग्यो । एकैछिनमा ह्वार्र पानी पर्‍यो । बर्सादी ओढ्यौं । नगिचैको रूखमा एक हूल केटीहरू ओत लाग्न आइपुगे । केटीहरू देखेर किन किन हामी छट्पटाउन थाल्यौं ।

आकाशमा चिल घुम्यो फनन, नौली बहिनी घरकहाँ हो भनन ? केटीहरूले सुन्ने गरी मैले गाएँ । केटाहरूले छोपेर चर्को आवाज बनाए । हामी सबैका आँखा केटीहरूका आँखामा पुगे । केटीहरूको कुनै प्रतिक्रिया आएन ।

रातो घोडा क्या मिल्यो जोडा, रातो फ्रक लाउनीलाई नछोड । मैले अर्को पङ्क्ति निकालें । केटाहरूले झन् चर्को आवाजमा गाए । मात्तिएका केटाहरू, जिस्केको हाउभाउमा केटीहरूको प्रतिक्रिया आयो । हामी झन् उत्साहित भयौं ।

पानी पर्‍यो सालघारी पाखामा, जाडो भए आउ बहिनी काखमा, हामी अलिकति छिल्लियौं ।

मुर्दारहरू, केटी देख्नै नहुने– केटीहरू रिसाउँदै हिंडे ।

हाम्रा आँखा घोलतिर पुगे । ठूलो घोल त तर्न नसक्ने गरी अलल्ले भइसकेको रहेछ ।

ओई भैंसी खोइ ? हामी एकैचोटि अत्तालियौं ।

खोज्दै गयौं, यताउता । क्रमशः सबै साथीका गाईभैंसी भेटिए ।

हाम्रा कता गए ? म रन्थनिएँ ।

‘जा खोज्’ साथीहरू मलाई छोडेर गए ।

म घण्टी सुन्न थालें । जता कान ढल्कायो, उतै घण्टी बजे जस्तो सुनिने । बेइमान । साथीहरूलाई छोडेर अनुमानको भरमा यताउता खोज्दै हिंडें ।

खोरसोर हानिएँ । खोरसोरमा नभेटेपछि राप्ती किनार पुगें । खनायोघारीतिर दौडिएँ । खोला खोल्सामा हेलिंदै गएँ । तर भैंसी भेटिएनन् । पानी थामिएको थिएन । खोलामा हेलिने र दौडने गर्दा पूरै भिजेको थिएँ । चप्पल पानीले बगाएको पत्तै भएन ।

जंगलबाट घर फर्किने समय भट्किसकेको थियो । म थाकेर लखतरान भइसकेको थिएँ । पैताला काटेर छियाछिया भएको थियो । ठूलो सालको फेदमा ओत लागेर थचक्क बसें । दुःख परेको बेलामा सम्झने बा–आमा त रहेछ । म बा–आमा भन्दै चिच्याउन पुगें ।

रोटी खाइसकेपछि, दिउँसो टिपेर बट्टामा राखेको अर्चले, क्यामुन र जामुन नुन–खुर्सानीमा मलेर साँधें र खाएँ । साँझसँगै डर बढ्दै गयो । रात कसरी बिताउने ? मनमा तर्क–वितर्क आउन थाले ।

सुनसान जंगल । कताकतै चरा कराएको आवाज सुनिन्थ्यो । भुर्रभुर्र उडेको देखिन्थ्यो । दर्के पानी । दिन कति छ मलाई थाहा भएन । एकाएक साँझ परेको अनुभूति भयो । डर लाग्यो ।

भुईंमा सुत्ने ? हुन्न । जंगली जनावर बाघ, गैंडा, हात्ती, बँदेल, सर्प बिच्छी, अजिङ्गरको डर हुन्छ । म हड्बडाएँ ।

मुख सुक्यो । बर्सादीमा आकाशको पानी सँगालें र पातको खोता बनाएर पिएँ ।

हाम्री आमा अत्यन्त चलाख र सरल हुनुहुन्थ्यो । छोराछोरीलाई केही सिकाउनुु पर्‍यो भने सोझै नभनेर कथा मिसाएर भन्नुहुन्थ्यो । हामी चाख लिएर सुन्थ्यौं पछिसम्म सम्झिरहन्थ्यौं । स्याल र कनिकेको कथा सम्झिएँ ।

खोलामा बाढी आएको बेला कनिके रूखमा चढ्यो र बाँच्यो । जन्ती सबै बगे । आमाले भन्नुभएको याद आयो ।

दिमाग खुल्यो । रूख चढ्ने बुद्धि आयो । सजिलो र सुरक्षित रूख खोजें । झ्याम्म क्यामुनको रूखले छोपेको अग्लो र हाँगैहाँगा भएको साजको रूखमा बस्ने निधो गरें । सिमसिम पानी परिरहेको थियो । चिप्लो रूखमा बल्लतल्ल चढें ।

जमिनबाट जनावरले नभेट्ने उचाइमा पुगेर एउटा हाँगाको कापमा हाँगालाई अँगालो हालेर बस्ने विचार गरें । गोडाहरू नझुन्डिउन् भनेर तलपट्टिको हाँगामा टेकें । निदाएको वेलामा खस्न सकिने भएकाले नाम्लोले हाँगा र कम्मरमा बाँधें ।

खुर्पेटोलाई एउटा हाँगामा राखें । बर्सादी ओढें र हावाले उडाउन नसकोस् भनेर छेउ छेउ बाँधें । झोलामा मुख अड्याएँ र सुस्ताएँ । शरीर तात्दै आयो । मन दौडन थाल्यो ।

आज, पन्ध्र साउन । आमा खीर पकाएर बस्नुभएको होला । भाइबहिनीहरू खीर खान घेरा बनाएर बसेका होलान् । म घर पुगें ।

सानु आएन यस बेलासम्म । आमाले चिन्ता प्रकट गर्नुभयो ।

आउँदै होला । पानी परेर ढिला भयो कि ? बाले लख काट्नुभयो ।

आमा, खीर । भाइबहिनीहरू कराउन थाले ।

ल लाओ । चरेसका थालमा पस्कँदै एकएक गरी आमाले खीर दिनुभयो ।

सबैले रमाउँदै खाए । बा खीर खाएर मलाई खोज्न निस्कनुभयो ।

आमा निन्याउरो मुख लगाएर मलाई पर्खिरहनुभयो ।

आमा हजुर खानुस्, म पछि खाउँला । मैले सुस्तरी भनें ।

हँ, आमाले मेरो आवाज सुने झैं यताउता हेर्नुभयो । एकपटक मह खाने भन्दा त्यसलाई… आमा पिरिनुभयो । मलाई नरमाइलो लाग्यो ।

केही दिन पहिले, जंगलमा एउटा अग्लो सालको रूखमा सिङ्गुस बसेको हामीले देख्यौं । घार ठूलो देखिएको थियो । रूख ढाल्ने र मह काढ्ने सल्लाह भयो । हामी सबैले वनपालेको आँखा छल्न बन्चरो झोलामा हालेर बिंडलाई लौरी बनायौं । साना साना तीन–चारवटा बाल्टी बोक्यौं ।

झुम्रो र सिसीमा अलिकति मट्टीतेल लियौं । सलाई बोक्यौं । सिङ्गुसले नटोकोस् भनेर प्लास्टिकलाई प्वाल पारेर मुख छोप्ने बनायौं । झोलामा अपुङ्गी बर्को पनि राख्यौं ।

सालको रूख दुई–दुई जनाले दुईतिरबाट काट्न थाल्यौं, पालैपालो । एकघण्टा जतिमा रूख हल्लिन थाल्यो । बञ्चरो हान्दै गयौं । चरर्र गर्दै रूख ढल्यो र ठूलो आवाज निकाल्दै पछारियो । सिङ्गुस भुनुनु भुनभुनाउन थाले । हामीले बर्काे ओढ्यौं । प्लास्टिकको माकल टोपी लगायौं ।

हातमा फनफनी गम्छा बेर्‍यौं । दुई तीन जना साथीले मट्टीतेल हालेर झुम्रो बाले र धुवाँ निकाले । दुई तीन जना साथी बाल्टी र आँसी लिएर मह काढ्न गयौं । चाका काट्दै बाल्टीमा हाल्यौं । बाल्टी लिएर हिंडेको त सिङ्गुसले लखेट्न थाले । टाउको माथि सिङ्गुसको गोलो उड्न थाल्यो ।

नछोपिएको शरीरमा टोक्न थाले । हामी अत्तालियौं । बाल्टी राखेर दौडियौं । अमारो खोलाको किनारै किनार । सिङ्गुसले पछ्याइरहेका थिए । थाकेर लड्यौं । बर्को न सर्को । खोलाको हिलोमा लटपटियौं । सिङ्गुसले टोक्न छोडेका थिएनन् ।

होश आउँदा म घरमा थिएँ । ज्यान सुन्निएर कोल जस्तो भएको थियो । पटपट फुट्ला जस्तो । आँखा च्यातेर हेर्दा बल्लतल्ल देख्न सकिने । मुख आँ गर्नै नहुने ।

मह जति कसले खायो ? बुद्धि न सुद्धिका होस्राकहरू । यस्तो पनि नौ कक्षा पढ्ने रे ! ल खा दूध । झर्कंदै आमाले गिलास राखिदिनुभयो ।
‘आमा ! हजुर पनि रिसाउनुभयो भने मलाई कसले माया गर्छ’, मैले आमाको सारी तान्दै विलौना गरें ।

उर्वौलो काम पनि सक्ने पो गर्नु । हेर त हालत । आमा पग्लन के बेर । आमाले मलाई उठाएर काखमा लिनुभयो । मैले आँखा उठाएर आमालाई हेरें । आमाका आँखाबाट झरेको तातो आँसु मेरो गालामा पर्‍यो । बुढीमाऊ ! म पनि रुन थालें ।

सुन्निएको बस्न हप्ता दिन लाग्यो । एकदिन, जंगलमा गीतेले सुगाको बच्चा पोलेर खाने जिद्दी गर्‍यो । उसले रूखको टोड्कोमा सुगाको गुँड देखेको रहेछ ।

सुरिलो अग्लो सालको रूख । ल गीते चढ्, मानेले हौस्यायो । म चढेर ल्याउँछु, गीते पनि फुर्कियो ।

कम्मरको खुर्पेटोबाट खुर्पा झिक्यो । खुर्पा कोप्दै, काँधमा झोला बोकेर सुरेली खेल्दै, खुर्पेटो हल्लाउँदै गीते रूख चढ्दै चढ्दै माथि गयो । हामी गीते चढेको हेरिरहेका थियौं ।

अझै माथि, अझै माथि जा । हामी उसलाई निशाना दिइरहेका थियौं । गीते टोड्काको छेउमा पुग्यो । ल झिक् । हामी तलबाट करायौं ।
गीतेले टोड्कामा हात छिरायो । हात मात्रै छिराएको थियो उः चिच्यायो— सर्प ।

सर्प मंगलेको टाउकोमा पर्‍यो । मंगले ढुंगामा बजारिन पुग्यो । गीते पछारियो । भाग्दा मेरो र मुरलीको खुट्टा मर्कियो । गीते सर्पमाथि परेछ । सर्प मर्‍यो । मंगले रगताम्मे भयो । गीतेको खुट्टा भाँचियो । गीतेलाई साथीहरूले बोके । म र मुरली लौरीको भरमा घर पुग्यौं ।

‘उट्पट्याङ्ग गरेर मात्रै हुन्छ ?’ बाले बेस्सरी गाली गर्नुभयो । म झोक्राएर चुपचाप बसिरहें ।

बा बुढाले भुनभुनाउँदै के के जडीबुटी हालेर औषधि पकाउनुभयो । सेलाएपछि मर्केको ठाउँमा राखेर नेपाली कागजको काम्रो बाँधिदिनुभयो । म सुतें ।

त्यो रात बाको मायामा भुसुक्क निदाएको थिएँ । घर पुग्न पाएको भए त बाले काटेको ठाउँमा औषधि लगाइदिनुहुन्थ्यो । बाआमाको माया खोज्दा खोज्दै निद्रा परेको थिएन । भोलि हुन्छ । घाम उदाउँछन् । म घर पुग्छु । भैंसी भेटिन्छन् । रमाइलो हुन्छ भन्ने आशा, धैर्य र विश्वासमा म भुलिरहें ।

एकैछिनमा, बादल फाट्यो । पानी रोकियो । टहटह जून लागे । जंगलभरि उज्यालो पोखियो । जून कतै जान दौडिरहे जस्तो लाग्थ्यो । भैंसी हराएर खोज्न पो हिंडेका हुन् कि ? म एक्लै मुस्कुराएँ । उज्यालोले मात्रै पनि जीवनमा रमाइलो ल्याउँदो रहेछ । मैले एकछिन जंगलमा एक्लै छु भन्ने पनि बिर्सें ।

साउन महिना न हो । उत्निखेरै बादल लाग्यो । सिरसिर हावा चल्न थाल्यो । बादल र जून बीच लुकामारी चल्यो । संसारमा म एक्लो थिएँ हुँला उनीहरूको खेल हेर्ने दर्शक । अँध्यारो चढ्यो । डर बढ्यो । पानी पर्न थाल्यो । पिसाब लाग्यो । जाँगेको देब्रे फेर माथि सारेर पिसाब गरेँ ।

सर्‍याक सर्‍याक आवाज आयो । म तर्सिएँ । कुनै जनावर लम्के जस्तो लाग्यो । भैंसी मलाई पछ्याउँदै आए कि क्या हो ? म टाठो भएँ । छायाँ म बसेको रूखतिरै आइरहे जस्तो लाग्यो । भूत पो हो कि ? हे भगवान् ! आँखा चिम्लिएर भगवान्को शरणमा परें । आँखा चिम्लिराख्न पनि सकिनँ । हेरें । भीमकाय आकार देखियो, छायाँ जस्तो ।

अबुई हात्ती ! हात्ती रहेछ भने त रूखै उखेलिदिन्छ । मैले मनमनै गायत्री मन्त्र जपें ।

हात्ती होइन, चितवनको एक सिङ्गे गैंडा रहेछ । गैंडाले रूख उखेल्दैन । म ढुक्क भएँ ।

गैंडाले आकाशतर्फ हेर्‍यो । मलाई खोजे झैं । आँखा टलल्ल टल्किए । मेरो सातोपुत्लो उड्यो । सास रोकिए झैं भयो ।

झ्याम्म परेको क्यामुनको रूख । पानी परिरहेको भएर हो कि के हो, गैंडा म बसेको रूखको फेदमा उभियो, गार्ड झैं । गैंडाले खुट्टा फट्यायो । झ्वारर्र मुत्यो र गोब्य्रायो ह्वातत्त एक थुन्से जति ।

आई ! गोब्य्राइसकेपछि गैंडा करायो । केहीबेरमा अर्को गैंडा पनि आइपुग्यो । दुवै गैंडा चल्न थाले । एउटा अर्को माथि चढ्यो । रूख हल्लन थाल्यो ।

भाँच्छन् क्या हो रूख, मोरामोरीहरूले ! मैले रूखलाई चपक्क समातें । क्यामुनाको बोटमा बसेका राता कमिलाको गोलो फुटेछ । मेरो आङभरि कमिला खसे । सलबलाउन थाले । टोक्न थाले । बाँधिएर बसेको म हातले यता र उता मिच्न थालें । कमिलाले झन् झन् टोक्न थाले ।

आमा हो । म रुन थालें ।

शरीर भतभत पोल्न थाल्यो । क्यामुनाको पात टिपेर चपाएँ । झोलाबाट पेडार झिकेर चपाएँ । मुख टर्रो भयो । आमालाई सम्झिएँ । आमा खीर नखाई अँगेनाको छेउमा झुलिरहनुभएको रहेछ ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?