+
+

महिला भलिबलमा भारतको तगारो तोडिएको दिन

२०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ साउन १९ गते २१:०६

१९ साउन, काठमाडौं । महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार यथार्थमा परिणत भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।

नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो । २०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएको हो ।

प्रतिस्पर्धात्मक खेलको पाचौं सेटमा नेपाल १४–१३ को अवस्थामा थियो । म्याच प्वाइन्ट उषा भण्डारीले जोडिन् र इतिहास लेखाइन् । लिबरो सलिना श्रेष्ठले दिएको बललाई उषाले भारतीय तीन ब्लकरबाट पन्छाउँदै सेन्टर फ्रन्टमा खसालेपछि नेपाली खेलाडी र समर्थकले सेलिब्रेसन गर्न थाले ।

खचाखच भरिएको कभर्ड हलमा समर्थकको उत्साह बेग्लै थियो । प्रशिक्षक, अफिसियल र पदाधिकारीमा पनि खुसीको सिमाना थिएन । नेपाली खेलकुदमा भारतसँग जुनसुकै खेल सधैं महत्वपूर्ण हुन्छ । त्यसमा पनि लगातार बाधक बन्दै आएको टोलीलाई पहिलो पटक हराउँदा खेलाडीहरु उत्साहित सँगै भावुक बनेका थिए ।

‘जितपछि मेरो मनमा केही थिएन । केही सोच्न सकिएन । भारतसँग खेल्दैछौं है भन्ने डरबाट सुरुवात गरेको खेल आज जित्दा छुट्टै खालको इमोसन (भावुकपन) हुन्छ’, जितपछि कप्तान अरुणा शाहीले भनिन् ।

अन्य ठूला टोलीलाई हराउन भन्दा भारतसँग जित महत्वपूर्ण हुने अरुणा बताउँछिन् । ‘भारतलाई हराउँदा सन्देश अर्कै हुन्छ । अरु राम्रो टोलीलाई हराउँदा त्यति फरक पर्दैन होला, भारतलाई हराउँदा नेपालीहरुमा पर्छ । हामीले रसियालाई जितेको भएपनि आजको जति भ्यालु हुने थिएन’, अरुणाले भनिन् ।

नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार घरेलु प्रतियोगितामा ब्यस्त महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा लगातार प्रभावशाली प्रदर्शन गरेपनि भारतसँग स्तब्ध हुँदै आएको थियो ।

दक्षिण एसियाली महिला भलिबलमा नेपालले भारतबाहेक अन्य देशलाई लगातार हराउँदै आएको छ । तर भारत नेपालको हरेक प्रतियोगितामा बाधक बनिरहेको थियो ।

भारतको तगारो पन्छाउन नसके पनि पछिल्लो समय नेपालको प्रतिस्पर्धी क्षमता बढिरहेको थियो ।

यही कोर्टमा सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाललाई ऐतिहासिक स्वर्ण जित्न भारत तगारो बनेको थियो । भारतले नेपाली खेलाडी र समर्थक घरेलु मैदानमै रुवाएको थियो ।

१३ औं सागको फाइनलमा भारतसँग नेपाल १७–२५, २५–२३, २५–११, २०–२५ र ६–१५ ले पराजित भएको थियो । ९ महिनाअघि एसियन गेम्समा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो ।

नेपालले महिला भलिबलमा एभीसी एसियन सेन्ट्रल जोन २०१९ र २०२१ को उपाधि जित्दा भारत सहभागी थिएन ।

गतवर्ष घरेलु कोर्टमा नै काभा वुमन्स च्यालेन्ज कपमा नेपाल भारतसँग समूह चरणमा ३–१ को सेट (१२–२५, २४–२६, २५–२१ र २१–२५) मा हारेको थियो । त्यसपछि सेमिफाइनलमा काजाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २०१९ अघिसम्म महिला भलिबलमा नेपाल भारतसँग सहजै पराजित हुन्थ्यो । तर पछिल्लो समय धेरै विकास हुँदै भारतविरुद्ध प्रतिस्पर्धी क्षमता बढेको थियो । भारतसँगको जितले नेपालको भलिबललाई अर्को उचाइमा पुग्ने मुख्य प्रशिक्षक जगदिश भट्ट बताउँछन् ।

‘भारतको भलिबल हामी भन्दा धेरै माथि छ । तर हाम्रो टिम भावना बलियो थियो, अर्कोतर्फ पहिला हामी भारत भन्दा अलिकति डराउँदै खेल्थ्यौं तर पछिल्लो समय जित्छौं भन्ने मानसिकताका साथ अघि बढेका थियौं’, उनले भने, ‘दुई महिनामा खेलाडीले जसरी हौसला बढाए र भारतलाई जिते इतिहास बन्छ भनेर खेलेका थियौं । त्यो आज सफल भयो ।’

भारतलाई हराउँदा नेपाली भलिबलको स्तर नै बढेको महसुस भएको प्रशिक्षक भट्टले बताए । ‘यसले सरकार र समर्थकलाई दबाब पर्ने नै छ । अब भलिबलले केही गर्न सक्छ र प्राथमिकतामा राख्नुपर्छ भन्ने खालको सकारात्मक सन्देश दिएको छ’, उनले भने ।

शनिबारको खेलमा ओपन स्पाइकर निरुता ठगुन्नाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । खेलपछि उनले भारतलाई जित्न सकिन्छ भन्ने प्रमाणित गर्ने सोचले खेलेको प्रतिक्रिया दिइन् ।

‘हामीले भारतसँग सधैं हार्छौं भन्ने कुरालाई गलत सावित गर्नु थियो’, उनले भनिन्, ‘हामीले भारतलाई हराउनैपर्छ भनेर खेलेका थिएनौं । तर आफ्नो उत्कृष्ट दिएर खेल्ने सोच थियो ।’

सन् २०१९ को सागमा स्वर्ण जित्न नसकेपछि खेलाडी सरस्वती चौधरी निकै भावुक बनेकी थिइन् । चोटका कारण प्रतिभा माली टोलीमा नहुँदा सरस्वती नै सिनियर खेलाडी हुन् । सिनियिर खेलाडीका रुपमा शनिबार सरस्वतीले त्यो जिम्मेवारी राम्रो निर्वाह गरिन् । २०१४ मा आफूले डेब्यू गर्दा देखिनै भारतलाई हराउने सपना अहिले पूरा भएको सरस्वती बताउँछिन् ।

‘मैले डेब्यू गर्दादेखिनै भारतलाई हराउने इच्छा थियो । प्रतिस्पर्धात्मक खेल खेलेर भारतसँग हार्ने गरेका थियौं । अहिले जित्न पाउँदा एकदमै खुसी छु’, सरस्वतीले भनिन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?