+
+

मर्दी हिमाल बेसक्याम्पमा भेटिएको मानव अवशेष स्विडिस नागरिकको हुनसक्ने आशंका 

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते ७:४७

२० साउन, पोखरा । मर्दी हिमाल बेसक्याम्पमा मानव अवशेष (मानिसको हाड)  फेला परेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ मर्दी हिमाल बेसक्याम्पको लामडाँडा भन्ने ठाउँमा मानिसको हाड, टाउजर र आइफोन फेला परेको हो ।

भेंडा र चौंरी चराउँदै गएका स्थानीय गोठाला तथा मालिकले शुक्रबार मानिसको २ वटा हाड फेला पारेपछि वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) लाई फोटो, भिडियोसहित शनिबार जानकारी गराएका थिए ।

बर्खा लागेपछि माछापुच्छ्रे गाउँपालिकाको हिमाली क्षेत्रका मानिसहरू भेंडाबाख्रा र चौंरी चलाउँदै लेकतिर जाने गर्छन् ।

उनीहरू जेठदेखि मध्य भदौसम्म हिमालको बेसक्याम्पसम्मै भेंडा चराउँदै जाने गर्दछन् ।त्यही क्रममा स्थानीय भेडा मालिक गोविन्द गौतमले घटनाको जानकारी गराएको वडाध्यक्ष क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए ।

‘त्यो ठाउँ हिउँदमा हिँउले भरिएको हुन्छ र गर्मी तथा बर्खा लागेपछि पग्लिंदै जान्छ । भेंडी गोठालाहरू जेठदेखि भदौसम्मै माछापुच्छ्रे हिमालको बेसक्याम्पसम्मै पुग्ने गर्छन्,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘त्यही क्रममा स्थानीय भेंडा मालिक गोविन्द गौतमले भेटेपछि फोटो र भिडियोसहित मलाई पठाउनु भएको हो ।’

क्षेत्रीले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएका छन् । फेला परेको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान गरिएको छ ।

वडाध्यक्ष क्षेत्रीकाअनुसार टाउजर हेर्दा स्विडिस नागरिक मिचलकोजस्तो देखिएको छ । वडाध्यक्ष क्षेत्रीलाई घटनाबारे जानकारी गराएर हाड, टाउजर र आइफोन सोही ठाउँमै छोडेर उनीहरू फर्केका थिए ।

तत्काल हिँडेर घटनास्थलसम्म जान पनि कठिनाइ हुन सक्ने देखिएकाले हेलिकप्टरमार्फत जाने कि भन्ने छलफल भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

हिँडेर एकै दिनमा घटनास्थलमा पुग्न पनि नसकिने र लेक लाग्ने सम्भावना पनि अधिक रहेकाले विकल्पबारे छलफल भइरहेको थापाले बताए ।

हाड भेटिएको ठाउँ मर्दी हिमाल बेस क्याम्पसको ४ हजार ५ सय मिटर हाराहारीमै रहेको वडाध्यक्ष क्षेत्रीले बताए ।

सोलो पदयात्राका क्रममा हराएका मिचल लिउ ब्लोम्बर्ग ।

‘त्यो ठाउँमा भेडी गोठाला र बन्दुकेबाहेक अरु सजिलै जान सक्ने देखिंदैन,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘हाड, टाउजर हेर्दा मर्दी हिमालमा बेपत्ता भएका स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान गरिएको छ । फोनबाट तथ्य बाहिर आउला ।’

मर्दी हिमालको बेसक्याम्पसम्म सोलो (एकल) पदयात्रामा गएका स्विडिस नागरिक मिचल गत साल पुस १४ गते बेपात्ता भएका थिए । त्यो बेला प्रहरी, स्थानीय र स्विडिस् दूतावासकोसमेत सहयोगमा खोजी गर्दा पनि उनको पत्ता लागेको थिएन ।

पदमार्गको लो क्याम्प माछापुच्छ्रे गाउँपालिकाले राखेको सूचना केन्द्रमा नाम दर्ता गराएर शनिबार ४ हजार ५ सय उचाइको बेसक्याम्प गएका मिचल नफर्केपछि होटलले हराएको जानकारी गराएको थियो ।

मर्दीको हाइ बेसक्याम्पको होटल म्याजिक माउन्टेनमा उनी बसेका थिए । उनको पासपोर्ट होटलमै भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?