+
+

गोरखाको भीमसेन थापा गाउँपालिकामा चक्रपथले गति लिँदै

विकास मरहट्टा विकास मरहट्टा
२०८१ साउन २० गते १६:१८

२० साउन, गोरखा । पालिकाका आठै वडालाई पक्की सडकले जोड्ने लक्ष्य सहित भीमसेन थापा गाउँपालिकाले सुरु गरेको चक्रपथ निर्माणले गति लिन थालेको छ । कुल २४ किलोमिटर दुरीको उक्त सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ ।

झिंगटेबाट चण्डिगैरासम्म पहिलो खण्ड, चण्डीगैरादेखि बोर्लाङ ठाँटी हुँदै तान्द्राङ खोलासम्म दोस्रो खण्ड र तान्द्राङ खोलादेखि सिमलाफेदसम्म तेस्रो खण्ड भनी विभाजन गरिएको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । तीनवटै खण्डमा छुट्टाछुट्टै ठेक्का लागेर काम भइरहेको उनले जानकारी दिए ।

पहिलो खण्डमा हालसम्म करिव दश करोड रुपैयाँको काम भएको छ । ‘पालिकाको मात्रै करिव पाँच करोड लगानी भइसक्यो’, इन्जिनियर कपिल पनेरुले भने, ‘बाँकी पाँच करोड लगानी गण्डकी प्रदेश सरकारबाट भएको हो ।’

उनका अनुसार करिव आठ किलोमिटरको उक्त खण्डमा ६.५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । एक किलोमिटर ढलान र करिव ६ किलोमिटर नाला निर्माण भएको इन्जिनियर पनेरुले जानकारी दिए ।

दोस्रो खण्डमा भने वनसम्बन्धी एक मुद्दाका कारण काम प्रभावित भएको छ । यो खण्डमा जम्मा ३० लाखको मात्र काम भएको छ । करिव एक सय मिटर सडक ढलान र केही ठाउँमा ह्युमपाइप राख्नेबाहेक अरु काम नभएको पालिकाले जनाएको छ ।

उक्त खण्डको ऐरिभञ्ज्याङदेखि कटलेचौरसम्म सडक ट्रयाक खोल्ने क्रममा वन फडानीको मुद्दा लागेको थियो । मुद्दा फैसला नभएका कारण काम प्रभावित भएको वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।

तेस्रो खण्डमा हालसम्म दुई करोड रकम खर्च भइसक्यो । संघीय समपूरक अनुदानको ८० लाख र बाँकी पालिकाको बजेट खर्च भएको हो । उक्त बजेटले क्रस ड्रेनेज, रिटेनिङ वाल, नाला र केही ठाउँमा सडक ढलान गर्ने काम भएको इन्जिनियर पनेरुले बताए ।

‘दुई ठाउँमा कज वे, पाँच ठाउँमा क्रस ड्रेनेज र ठाउँठाउँमा ह्युमपाइप राखेर कलभर्ट पनि बनाएका छौं’, उनले भने । यस खण्डमा यो वर्ष संघबाट करिव डेढ करोड रुपैयाँ विनियोजन भएको छ । पालिकाको तर्फबाट थप डेढ करोड विनियोजन गरेर कुल तीन करोडको ठेक्का खोल्ने उनले जानकारी दिए ।

‘यो खण्डको ९ ठाउँमा क्रस ड्रेनेज हाल्नुपर्ने छ, रिटेनिङ स्टक्चरसहित ढलानको काम पनि यही बजेटबाट गर्छौं’, उनले भने ।

आर्थिक बर्ष २०७५/७६ बाट ठेक्का लागेर भीमसेन थापा चक्रपथ निर्माणको काम सुरु भएको थियो । हालसम्म आठ किलोमिटर सडक ग्राभेल र एक किलोमिटर सडक ढलान भइसकेको छ । झिंगटेदेखि अश्राङ–बोर्लाङ हुँदै ऐरीभञ्ज्याङसम्म बाह्रै महिना यातायात चल्ने गरी सडक स्तरोन्नती भइसकेको पालिका अध्यक्ष बञ्जराले बताए ।

‘चक्रपथको सडकलाई कालोपत्रे गर्ने र बाह्रै महिना सवारी आउजाउ सहज बनाउने लक्ष्य हो, क्रमश कामले गति लिँदैछ’, उनले भने ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?