+
+

‘द च्यालेन्जर्स’को प्रिमियरमा प्रधानमन्त्री : ‘रियालिटी शोले नेपाल चिनाउन मद्दत पुर्‍याउँछ’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १६:३७

काठमाडौं । अमेरिकाको न्युयोर्कपछि एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’लाई नेपाल प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित प्रिमियरमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, अमेरिकी दूतावासका उपप्रमुख जेसन पी मिक्स अतिथिको रुपमा सहभागी थिए ।

शो हेरिसकेपछि प्रधानमन्त्री ओलीले नेपाली युवाले बनाएको यो शोले नेपालको पर्यटन प्रवर्द्धन हुने आशा व्यक्त गरे । नेपाली युवाले बनाएको यो शोको प्रशंसा गर्दै आगामी सात एपिसोड अझै रोचक हुने बताए ।

एकपटक नेपाल आएका पर्यटकलाई अर्कोपटक नेपाल आफैं आऊँ आऊँ लाग्ने ओलीले बताए । रियालिटी शोको माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगतलाई चिनाउन मद्दत पुग्ने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको सुन्दर प्रकृति अवलोकन नगरिए जीवन सार्थक नहुने बताए ।

मन्त्री पाण्डेले नेपाल चिनाउने यस्ता डकुमेन्ट्रीमा सरकारले युवासँग सहकार्य गर्ने बताए । अमेरिकी कूटनीतिज्ञ मिक्सले लुक्लादेखि सगरमाथा आधार शिविरसम्म दुई साता लगाएर खिचिएको यो डकुमेन्ट्री बनाउन चुनौतीपूर्ण हुने बताए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै हिमाली क्षेत्रमा जलवायु संकटले ल्याएको असरबारे चेतना जगाउने उद्देश्यले फिल्ममेकर श्री गुरुङले यो शोको निर्माण तथा निर्देशन गरेका हुन् । नेपालसहित ६ मुलुकका ११ भ्लगरले १२ दिन बिताउँदै सम्पन्न गरेको पदयात्रा र साहसिक गतिविधि यसमा समेटिएको छ ।

गत महिना न्युयोर्कको टाइम्स स्क्वायरस्थित ऐतिहासिक एएमसी थिएटरमा यसको अमेरिका प्रिमियर गरिएको थियो । यो शोलाई काठमाडौंपछि मनिला र मुम्बईमा पनि प्रिमियर गर्ने तयारी छ । यो शोको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको निर्देशक गुरुङले बताए ।

नेपाल बाहेकका मुलुकका अमेजन प्राइमका सब्सक्राइबरले शो हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?