+
+

नागरिक उड्यन प्राधिकरण टुक्र्याउन कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ७:००

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कांग्रेस नेताहरुले आईकाओ र ईयू दुबैले विद्यमान नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन भनेको दशकौं भइसक्दा पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

कांंग्रेस सांसदहरुले नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा संवेदनशील नभएको र कार्यकारी प्रमुख (प्रदीप अधिकारी)को भूमिका पनि सन्तोषजनक र जिम्मेवार नभएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले दुई हवाई क्षेत्रका दुई निकाय छुट्याउन सकिने बताएका थिए । त्यसका लागि विधेयक ल्याउन सकिने र विभागीय मन्त्रीसँग छलफल गर्ने वचनसमेत दिएको कांग्रेसका एक सांसदले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सांसदहरू उदय शमशेर राणा, राजन केसी, सञ्जय गौतम र राजेन्द्र बजगाई सहभागी थिए ।

एमालेबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, विष्णु रिमाल, प्रमुख सचेतक महेश बर्तौला लगायत थिए । ‘सायद उहाँहरुको (एमाले नेताहरुको) अरु कुनै विषयमा छलफल गर्ने समय मिलाइएको थियो होला । कांग्रेस सांसदहरु प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन गएको बेला उहाँहरू पनि सहभागी हुनुभयो,’ कांग्रेसका एक सांसदले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?