+
+
ब्लग :

व्यक्तिले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

आत्महत्या गर्ने व्यक्तिले यसबारे कुनै न कुनै माध्यमबाट आफ्नो नजिकका साथीभाइ वा परिवारलाई भनेका हुन्छन् ।

रामकुमार थापा रामकुमार थापा
२०८१ साउन २१ गते १३:५८

समाजका वा देशका प्रतिष्ठित व्यक्तिले आत्महत्या गरेको समाचार पढेका, सुनेका र कतिपयले त देखेका पनि छौं । के गाउँ-शहर, के धनी–गरिब, के शिक्षित–अशिक्षित सबैले आत्महत्या गरेका घटना बग्रेल्ती छन् । आखिर मानिसले आफूले आफूलाई किन समाप्त पार्छ ? प्रश्नले सबैलाई सोच्न बाध्य बनाउँछ ।

९ वर्षको बालबालिकादेखि ९० वर्षको वृद्धवृद्धाहरूले समेत आत्महत्या गरेका घटनाहरू छन् । कलाकार, पत्रकार, नेता, समाजसेवी, निजामती कर्मचारी, शिक्षक, विद्यार्थी लगायत विभिन्न पेशा–व्यवसायमा रहेकाहरूले आत्महत्या गरेर आफैंलाई समाप्त गरेका छन् ।

नेपालमा दैनिक १९ जना भन्दा बढीले विभिन्न तरिकाबाट आत्महत्या गर्ने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्या हुने गरेको डब्ल्यूएचओको प्रतिवेदनमा छ ।

१५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रूपमा लिइन्छ । यसै उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो कारण बनेको छ । सामान्यतः कुनै पनि व्यक्तिले आत्महत्या गर्नुभन्दा एकदेखि दुई हप्ता अगाडि अब आफ्नो जीवन अन्त्य गर्दैछु भनेर योजना बनाउने विभिन्न अध्ययनहरूले देखाएका छन् । अर्थात् आत्महत्या गर्ने व्यक्तिले यस बारे कुनै न कुनै माध्यमबाट आफ्नो नजिकका साथीभाइ वा परिवारलाई भनेका हुन्छन् ।

जोखिम पत्ता लगाएर उपचारमा ल्याउन सके आत्महत्याको दर घटाउन सकिन्छ । मर्न पाए पनि आनन्द आउँथ्यो, मर्न पाए पनि हुन्थ्यो, म मरें भने तिमीहरूले सुख पाउँछौ भनेर कुनै दिन आफ्ना परिवार वा साथीहरूलाई भनेका हुन्छन् । तर हामीले त्यस्ता कुरालाई बेवास्ता गर्ने गर्छौं । कसैले पनि मर्ने कुरा ग¥यो भने ऊ समस्यामा छ वा तनावमा छ भनेर बुझ्नुपर्छ । उसलाई माया, हौसला, प्रेरणा सँगै तिमीसँग म छु भन्ने विश्वास दिलाउनुपर्छ । मर्ने व्यक्तिले आफू मर्दा अरूलाई फाइदा हुन्छ भनेर सोचेका हुन्छन् ।

अध्ययनले के देखाउँछ भने आत्महत्या गर्ने ९० प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै मनोसामाजिक समस्या रहेको हुन्छ, उनीहरूले योजना नै बनाएर आत्महत्या गर्छन् । बाँकी १० प्रतिशतले मात्र आवेग (रिस) मा आएर छिनभरमै यस्तो निर्णय गर्छन् ।

मरेपछि मेरा बालबच्चाको के हुन्छ, मेरो सन्ततिहरूको के हुन्छ भन्ने सोचेर चाँजोपाँजो मिलाउने, सम्पत्तिको भागबन्डा लगाइदिने वा अब जीवन यस्तै रहेछ, मेरो छोराछोरीको ख्याल राख्नु भन्ने खालको कुराहरू आफ्नो नजिकको नातेदारहरूसँग, साथीभाइसँग बाँड्ने गर्दछन् । उनीहरूले एकान्त खोजिरहेका हुन्छन् । यस्ता संकेत देख्यौं भने त्यस व्यक्तिमा पक्कै पनि आत्महत्याको सोचहरू छन् भनेर पहिचान गर्न सकिन्छ । यस्तो अवस्थामा उनीहरूलाई विशेष ख्याल गर्नुपर्छ ।

आत्महत्या के हो ?

आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो । यो जुनसुकै उमेर, समुदाय र आर्थिक अवस्थाका व्यक्तिहरूले गर्न सक्दछन् । आफ्नो जीवन आफैं समाप्त पार्ने योजना बनाउनु वा विभिन्न माध्यमबाट आफ्नो जीवनलाई आफैंले समाप्त गर्न खोज्छ भने त्यो नै आत्महत्या हो । जीवन बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखेपछि मानिसले आत्महत्या गर्ने गर्दछन् । आफ्नो समस्या निराकरण वा समाधान गर्न नसकेपछि व्यक्तिले यस्तो काम गर्ने गर्दछ ।

आत्महत्याको कारण

व्यक्तिले कुनै पनि समस्याको विकल्प नपाएपछि वा समस्याबाट उम्कने बाटो नदेखेपछि आत्महत्या गर्छन् । जब व्यक्ति कुनै ठूलो मानसिक रोगले ग्रसित भएर गम्भीर अवस्थामा पुग्छ अथवा कुनै तनाव झेल्न नसक्ने अवस्थामा पुग्छ, उसले आफ्नो जीवन अन्धकार देख्छ र यस्तो अप्रिय निर्णय लिन्छ ।

यो अवस्थामा पुग्नुभन्दा अगाडिका केही चरणहरू हुन्छन् त्यसलाई हामीले बुझ्न सक्यौं भने त्यसको निराकरण गर्न पनि सकिन्छ । आत्महत्यासँग जोडिएका धेरैजसो घटनाहरू मनोसामाजिक समस्या त्यसमा पनि डिप्रेसनबाट हुने गर्छ । जीवनको कुनै कालखण्डमा झण्डै १५ देखि २० प्रतिशत मानिसहरू डिप्रेसनको शिकार हुने गरेका छन् ।

त्यस्तै बाह्य तत्वहरू तथा सामाजिक कुराहरूले पनि प्रभाव पार्छ । बढ्दो महत्वाकांक्षा, वैदेशिक रोजगारी, शैक्षिक तनाव, घरेलु हिंसा, लाञ्छना, बसाइँसराइ, लागूपदार्थ दुव्र्यसनी, विवाहपछिको सम्बन्ध, गरिबी आदि तनावको कारण आत्महत्या गर्र्ने गर्दछन् ।

आत्महत्याको कारण यही हो भनेर किटान गरेर भन्न सक्ने अवस्था छैन । आत्महत्या विभिन्न कारणको अन्तरक्रियाले हुन सक्दछ । यसमा मनोसामाजिक, जैविक, मानसिक स्वास्थ्य समस्या र दीर्घकालीन रोगहरू प्रमुख कारणको रूपमा रहेको पाइन्छ । सामान्यतया उदासीन भएको व्यक्तिले आत्महत्या धेरै गर्छन् भनिन्छ ।

जीवनमा नसोचेको घटना हुनु, प्रियजन गुम्नु, सम्बन्धविच्छेद हुनु, दीर्घ रोग लाग्नु, जागिरबाट एक्कासी निकालिनु, आर्थिक नोक्सानी हुनु, ऋण लाग्नु, घरझगडा हुनु, लाञ्छनामा पर्नु वा विभेदमा पर्नु, प्रेम सम्बन्ध असफल हुनु लगायत विभिन्न कारण रहेका छन् ।

कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

१. निराश, असहाय, बेकार महसुस गर्ने

२. एक्कासी धेरै खुसी हुने वा धेरै दुःखी हुने

३. आफैंलाई हानि पुर्‍याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने

४. मृत्यु बारे कुरा गर्ने

५. आत्महत्या गर्ने माध्यमहरू जस्तैः विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरू खोजी गर्ने वा सङ्कलन गरेर राख्ने

६. परिवार, इष्टमित्रहरूलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने

७. आत्महत्या गर्नुअघि आफ्ना कुरा र व्यवहारहरू सिलसिलाबद्ध रूपमा मिलाउने

८. लागूपदार्थको अत्यधिक प्रयोग गर्ने

९. यो मेरो अन्तिम पटकको भेट हो भन्ने जस्ता शब्दहरू प्रयोग गर्ने

१०. आफूसँग भएको बहुमूल्य सामानहरू अरूलाई बाँड्ने

११. सामाजिक सञ्जालहरूमा मृत्युबारे लेख्ने वा मृत्युबारेकै घटनाहरू शेयर गर्ने

१२. सरसफाइमा ध्यान नदिने, एक्लै बसिरहने ।

आत्महत्या सोच आएकाहरूलाई यसरी सहयोग गरौं

आत्महत्याको विचार व्यक्त गर्ने र यस सम्बन्धी कुराहरू बारम्बार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नुपर्छ । समस्या समाधानका लागि सहयोगको आवश्यक छ भन्ने सम्झनुपर्छ । त्यसका लागि व्यक्ति आफैं, परिवारका सदस्य र समुदायको महत्वपूर्ण भूमिका रहन्छ । नेपाली समाजमा आत्महत्या गर्ने व्यक्तिले भनेर मर्दैन भनेर बेवास्ता गर्दा आत्महत्याको दर बढिरहेको छ । समाजको गलत भाष्यलाई सुधार गरेर त्यस्ता व्यक्तिहरूलाई उपचारमा लैजानुपर्छ ।

१. आत्महत्या तथा आत्महानिको व्यावहारिक सङ्केतहरूलाई चिन्ने

२. आत्महत्या सम्बन्धी सावधानी अपनाउने जस्तैः (मर्नका लागि प्रयोग हुने साधनहरू टाढा राख्ने, ती व्यक्तिहरूसँग साथै रहने र एक्लै नछाड्ने, भावनाको कदर गर्ने, उनीहरूको कुरा सुनिदिने)

३. मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोविद् र तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहन गर्ने

४. हेल्पलाइनको सहयोग लिने, लिन प्रोत्साहन गर्ने हेल्पलाइन नम्बर ११६६

५. निरन्तर सम्पर्कमा रहिरहने र अवस्थाबारे जानकारी लिने

६. कुनै पनि आत्महत्यालाई गम्भीरता साथ लिने र आत्महत्याबारे खुलेर कुराकानी गर्ने ।

व्यक्ति आफैंले के गर्ने ?

१. एक्लै नबस्ने

२. जीवनमा आइपर्ने घटनाहरूलाई सामान्य रूपमा लिने

३. नकारात्मक सोचाइ नराख्ने

४. आशावादी हुने र भोलिको उज्यालो दिनको कल्पना गर्ने

५. आफ्नो मन र शरीरलाई माया गर्ने । आफूलाई नोक्सान नपु¥याउने

६. अरूको सहयोग माग्ने र लिने

७. आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मूल्याङ्कन गर्ने ।

परिवारले के गर्ने ?

१. समस्यामा रहेका व्यक्तिको गुनासा र समस्याहरू ध्यान दिएर सुन्ने

२. भावनाहरू पोख्ने वातावरणको सृजना गर्ने

३. परिवारको कुन सदस्यसँग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउने

४. समस्याहरू भन्ने वातावरण बनाइदिने, जीवनका सकारात्मक पक्षलाई जोड दिने

५. मर्ने बाहेक अन्य विकल्पको खोजी गर्ने

६. व्यक्तिलाई एक्लै नछोड्ने

७. राति सुतेको बेलामा ध्यान दिएर सुत्ने

८. मार्नका लागि सामग्री नै लुकाएर राखेको छ भने हटाउने, सुरक्षित रहन वाचा गर्ने ।

९. जोखिम छ भन्ने लागेमा आफन्त, छिमेकीलाई खबर गर्ने

१०. तुरुन्त स्वास्थ्य संस्थामा लैजाने ।

यस्ता उपायहरू लागू गर्दा पनि समस्या बढ्न थाल्यो भने तुरुन्त मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकको सहयोग लिनुपर्छ । आत्महत्या रोकथामका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं ।

लेखकको बारेमा
रामकुमार थापा

लेखक मनोसामाजिक परामर्शकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?